PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश २ मा मधेसी गठबन्धनको सरकारका लागि समानुपातिकबाट १६ सिट आवश्यक



राधेश्याम पटेल

प्रदेश २ मा मधेसी गठबन्धनको सरकारका लागि समानुपातिकबाट १६ सिट आवश्यक

वीरगंज : ६ वटै प्रदेशमा समानुपातिक सिटको बाँडफाँट नहुँदै वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा प्रदेश नम्बर २ मा भने मधेसी गठबन्धनको सरकार बनाउन समानुपातिकबाट १६ सिट मात्र जरुरी रहेको देखिन्छ।

आठ जिल्लाको प्रदेश नम्बर २ मा प्रदेश सभातर्फ ६४ प्रत्यक्ष, ४३ समानुपातिक गरी कूल १०७ सदस्यीय प्रदेश सभा रहने छ । प्रदेश सभामा सरकार बनाउन बहुमतको लागि ५४ सिट आवश्यक हो, जसमध्ये राजपा–फोरम नेपालसँग ३८ सिट छ।

हालसम्मको ताजा परिणाम अनुसार फोरमसँग २० सिटमा जित र एकमा अग्रता अर्थात् २१ सिट देखिन्छ भने राजपासँग १७ सिट जोडेर ३८ सिट छ।

धनुषा ४(क) मा फोरमले धेरै मतले अग्रता बनाएकोले फोरमको जित हुने आकलन गरिएको छ। फोरमले पर्साबाट ५, बाराबाट ३,रौतहटबाट ४,सर्लाहीबाट २,महोत्तरीबाट २,धनुषाबाट २ ,सिरहाबाट १ र सप्तरीबाट २ गरी २१ सिट जितेको छ। राजपाले पर्साबाट १, बाराबाट २,रौतहटबाट २,सर्लाहीबाट २,महोत्तरीबाट ४,धनुषाबाट २,सिरहाबाट १,सप्तरीबाट ३ गरी १७ सिट जितेको छ।

तसर्थ,समानुपातिकको कुल ४३ मध्ये १६ सिट मधेसी गठबन्धनले पायो भने मधेसी गठबन्धनको सरकार बन्ने प्रबल सम्भावना छ जसको संकेत हालै शुरु भएको समानुपातिक तर्फको मतगणनाको नतिजाले दिइरहेको छ। प्रदेश दुईको मतगणनाको प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढी मत पाउने दल राजपा हुने देखिन्छ। कूल गणना भएको मतमा लगभग ५० प्रतिशतको हाराहारीमा राजपाले मत पाइरहेको छ। यसरी ४३ मध्ये २१/२२ समानुपातिक सिट राजपा–फोरम नेपालले पाउने अनुमान गरिँदैछ।

त्यसैगरी प्रदेश सभा सदस्य प्रत्यक्षको नतिजा अनुसार  एमालेसँग १२ सिट,कांग्रेससँग ८, माओवादीसँग ६ सिट रहेको छ। यी सबै मिलेर पनि बहुमतको सरकार बनाउन २८ सिट आवश्यक हुन्छ जसको सम्भावना न्यून छ।

कसले बनाउला सरकार?

यदि समानुपातिकबाट कम्तिमा १६ सिट राजपा–फोरम गठबन्धनले पायो भने सरकार बनाउन पनि राजपा र फोरम नेपाल बीच रस्साकसी चल्ने देखिन्छ। प्रत्यक्षमा २१ सिट जितेको फोरम नेपालले आफ्नो नेतृत्वमा सरकार बनाउने दावी गर्न सक्छ। उता, प्रत्यक्षमा १७ तर समानुपातिकमा अग्रस्थानमा मत पाएर बढी सिट राजपाले पायो भने उसको सदस्य बढ्ने अनुमान छ। त्यसो हुँदा राजपाले सरकारको नेतृत्व गर्न सकिने विश्लेषण छ।

यदि राजपा र फोरमबीच सरकार गठनको विषयमा नमिलेमा अरु दलसित मिलेर जसले ५४ जनाको समर्थन प्राप्त गर्न सक्छ, उही मुख्यमन्त्री बन्नेछ र उसको नेतृत्वमा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ। संविधान अनुसार प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र बहुमत प्राप्त गर्न नसके सबभन्दा बढी सिट भएको दलले सरकार बनाउनेछ। त्यस्तो दलले ३० दिनभित्र प्रदेश सभाको बहुमत सदस्यको विश्वासको मत लिनु पर्नेछ। कसैले बहुमत सिद्ध गर्न नसके मुख्यमन्त्रीको सिफारिशमा ६ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन हुने मिति तोकेर प्रदेश सभा भङ्ग गर्न सकिने प्रावधान छ।  

को-को मुख्यमन्त्रीको दावेदार ?

राजपाको नेतृत्वमा सरकार बन्यो भने राजपाका दोस्रो दर्जाका नेता महासचिव मनिष सुमन,जितेन्द्र सोनल मुख्य दावेदारको रुपमा देखिन्छन् भने फोरम नेपालबाट सरकार बन्यो भने फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले मुख्यमन्त्रीमा दावी गर्न सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell