PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

६ प्रदेशमा वाम गठबन्धनको सरकार पक्का, यी हुन् मुख्यमन्त्रीका दावेदार



पहिलोपोस्ट

६ प्रदेशमा वाम गठबन्धनको सरकार पक्का, यी हुन् मुख्यमन्त्रीका दावेदार

काठमाडौँः वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ नै सहज बहुमत पाउँदा ७ प्रदेशमध्ये ६ वटामा प्रदेश सरकार बनाउने करिव निश्चित देखिएको छ। जारी मतगणनामा प्रदेश २ बाहेक अन्य ६ वटै प्रदेशको प्रत्यक्ष सिटबाटै सरकार गठनको बहुमत संख्या गठबन्धनले पाएको छ। समानुपातिकतर्फको मतपरिणाम आएको छैन। समानुपातिक गरी ६ प्रदेशमा वाम गठबन्धन दुई तिहाइतर्फ उन्मुख छ।

प्रदेश २ को हकमा भने प्रत्यक्षमा राजपा र संघीय समाजवादी फोरम हावी भएका छन्।

सातमध्ये ६ प्रदेशमा सरकार गठनको सहज बहुमत वाम गठबन्धनले पाएका छन्।

 

यसरी वामलाई सहज

प्रदेश १

प्रदेश १ मा प्रत्यक्षमा ५६ निर्वाचन क्षेत्र छन्। जहाँबाट समानुपातिकमा ३७ सांसद् छनोट हुनेछ। प्रदेश २ को संसद् ९३ सदस्यीय हुनेछ। जसअनुसार सरकार गठनको सामान्य बहुमत पुग्न ४७ सिट चाहिन्छ।

जारी मतगणनाको प्रदेशतर्फको नतिजा अन्तिम चरणमा पुग्दा प्रदेश १ मा वाम गठबन्धनले ४४ सिट जितिसकेको छ। ३ क्षेत्रमा अग्रता छ। कांग्रेसले ६ क्षेत्रमा जित हासिल गरेको छ। एक स्थानमा अग्रता लिएको छ। अन्य दलले २ स्थानमा जित हासिल गरेका छन्।


प्रदेश २

प्रदेश २ को संसद् १०७ सदस्यीय हुनेछ। जहाँ प्रत्यक्षबाट ६४ सांसद् चयन हुनेछन्। समानुपातिकबाट ४३ सदस्य चयन हुनेछन्। प्रदेश २ को सरकार गठनका लागि ५४ सांसद् आवश्यक पर्नेछ।

आइतबार विहान ११ बजेसम्मको परिणाम अनुसार राजपा र संघीय समाजवादी फोरमले ३० क्षेत्रमा जित हासिल गरिसकेको छ। गठबन्धन ४ स्थानमा अघि छ। वाम गठबन्धनले १५ सिटमा जित हासिल गरेको छ। थप ३ क्षेत्रमा अग्रता कायमै राखेको छ। कांग्रेसले प्रदेशका ८ क्षेत्रमा जित हासिल गरेको छ। २ क्षेत्रको मतपरिणाम आएको


प्रदेश ३

प्रादेशिक सांसद्मध्ये सबैभन्दा ठूलो संसद् हो प्रदेश ३। प्रदेश ३ को संसद् ११० सदस्यीय हुने्छ। जहाँ प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद् चयन हुनेछन्। सरकार गठनका लागि ५६ सांसद् आवश्यक पर्छ।

जारी मतगणना अनुसार वाम गठबन्धनले ४९ क्षेत्रमा जित हासिल गरिसकेको छ। थप ८ क्षेत्रमा अग्रता कायमै छ। कांग्रेसले ५ स्थानमा जित हासिल गर्दा २ क्षेत्रमा अग्रता कायम राखेको छ। अन्य दलले एक स्थानमा जित र एकमा अग्रता कायम राखेका छन्।


प्रदेश ४

प्रदेश ४ को प्रदेशसभा ६० सदस्यीय हुनेछ। जसमा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सांसद् चयन हुनेछन्। सरकार गठनको बहुमतका लागि ३१ सांसद् आवश्यक पर्नेछ।

जहाँ अहिलेसम्म वाम गठबन्धनले २३ क्षेत्रमा जित हासिल गरेको छ। १ क्षेत्रमा अग्रता कायम राखेको छ। कांग्रेसले ५ स्थानमा जित हासिल गरेको छ भने, १ स्थानमा अग्रता कायम राखेको छ। अन्य दलले चार स्थानमा जित हासिल गरेका छन्। प्रदेश ४ का चारवटा क्षेत्रको गणना सुरु भएको छैन।


प्रदेश ५

प्रदेश ५ को प्रादेशिक सांसद् ८७ सदस्यीय हुनेछ। जहाँ प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ सदस्य छनोट हुनेछन्। सरकार गठनको बहुमतका लागि ४४ सिट आवश्यक पर्नेछ। जहाँ वाम गठबन्धनले ४० स्थानमा जितेको छ।

कांग्रेसले ७ स्थानमा जित्दा संघीय समाजवादी फोरमले ३ स्थानमा जित हासिल गरेको छ। प्रदेशका दुई क्षेत्रमा मतगणना बाँकी छ।


प्रदेश ६

सवैभन्दा सानो प्रदेशसभा प्रदेश ६ मा गठन हुनेछ। ४० सदस्यीय प्रदेशसभामा प्रत्यक्षमा २४ र समानुपातिकमा १६ सांसद् चयन हुनेछन्। सरकार गठनका लागि २१ सांसद् आवश्यक पर्नेछ। जहाँ वाम गठबन्धनले २१ स्थानमा जित हासिल गरिसकेको छ। यो संख्या नै सरकार गठनका लागि पर्याप्त छ। प्रदेश ५ करिव कांग्रेसमुक्त क्षेत्र बनेको छ।

कांगेसले प्रदेशमा एक सिटमात्र जित हासिल गरेको छ। बाँकी २ सिटमा पनि वाम गठबन्धनकै अग्रता छ।


प्रदेश ७

प्रदेश ७ को प्रदेशसभा ५३ सदस्यीय हुनेछ। जहाँ प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सांसद् चयन हुनेछन्। सरकार गठनका लागि २७ सिट आवश्यक पर्नेछ। प्रदेश ७ को जारी मतगणनामा वाम गठबन्धनले २३ सिट जितेको छ। ३ स्थानमा अग्रता कायमै राखेको छ। कांग्रेसले ४ क्षेत्रमा जितसहित १ स्थानमा अग्रता बनाएको छ।

राजपाले एक स्थान जितेर एकमा अग्रता कायमै राखेको छ।

 

को हुन् भावी मुख्यमन्त्री?

चुनावअघि हेभिवेट उम्मेदवार नै मुख्यमन्त्रीका आकांक्षी भए पनि केहीबाहेक प्रदेशमा चुनाव लड्न पुगेनन्। तर, कतिपय हेभिवेटले भने मुख्यमन्त्रीकै लागि प्रदेशसभा रोजे।

प्रदेश १ बाट गठबन्धनका तर्फबाट एमालेले मुख्यमन्त्री पाउने करिव सहमति जस्तै छ। जहाँ पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई र पूर्व पर्यटनमन्त्री समेत रहेका एमाले सचिव भीम आचार्य प्रतिस्पर्धामा छन्। आचार्यभन्दा राई प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढी छ।

प्रदेश २ मा वाम गठबन्धनभन्दा राजपा र संघीय समाजवादी फोरमले सरकार बनाउने सम्भावना बढी छ। तर, राजजा र फोरमबीच मुख्यमन्त्रीमा सहकार्य नभएमा कुनै एक दललाई सहयोग गर्ने रणनीतिमा वाम गठबन्धन छ।

प्रदेश ३ मा पनि एमालेकै मुख्यमन्त्री हुने बलियो सम्भावना छ। जहाँ आकांक्षी धेरै छन्। एमालेका राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, अरुण नेपाल, कैलाश ढुङ्गेल, अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मले मुख्यमन्त्री दावी गरेका छन्। तर, दुई पटक मन्त्रीको अफर छाडेकी अष्टलक्ष्मी शाक्यको सम्भावना सवैभन्दा बलियो रहेको बुझिन्छ।

प्रदेश ४ मा पनि एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीका बलिया उम्मेदवार हुन्। लमजुङमा प्रतिनिधिसभाको टिकटमा दावी गरेको गुरुङलाई मुख्यमन्त्रीको आश्वासनमै प्रदेशको टिकट दिइएको हो।

कृष्णबहादुर महरासँट टिकटमा विवाद भएपछि दाङ २ को प्रदेशसभा राजेका एमाले नेता शंकर पोखरेल प्रदेश ५ का करिव निर्विकल्प मुख्यमन्त्रीका उम्मेदवार हुन्।

प्रदेश ६ मा मुख्यमन्त्री माओवादीले पाउने गठबन्धनको आन्तरिक सहमति छ। जहाँ माओवादीका तर्फबाट कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारी मुख्य आकांक्षी छन्। सल्यानमा प्रतिनिधिसभामा टिकट दावी गरेका एमालेका प्रकाश ज्वाला पनि मुख्यमन्त्रीकै आश्वासनमा प्रदेशको टिकटमा चित्त बुझाएका हुन्। एमालेकै यामलाल कँडेलले पनि दावी गरिरहेका छन्। 

प्रदेश ७ मा भने मुख्यमन्त्रीको चर्चा धेरैको छ। बाजुराबाट संविधानसभा सदस्य भइसकेका कर्णबहादुर थापादेखि कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ, कैलालीका पार्टी अध्यक्ष समेत रहेका दीर्घ सोडारी र बाजुराका प्रकाश शाह प्रत्याशी छन्। सवै प्रदेशको प्रतयक्षमा विजयी भएका छन्। कर्णबहादुर थापा भने समानुपातिक उम्मेदवार छन्। माओवादीले मुख्यमन्त्री पाएको अवस्थामा कैलाली ३ को प्रदेशसभामा रहेका बीरमान चौधरी दावेदार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell