PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पशुपतिशमशेर किन पराजित? यस्ता छन् ह्याट्रिक हारका सात कारण



पशुपतिशमशेर किन पराजित? यस्ता छन् ह्याट्रिक हारका सात कारण

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का केन्द्रीय अध्यक्ष पशुपतिशमशेर राणा ह्याट्रिक हारको पीडामा छन्। सिन्धुपाल्चोकमा राजनीतिक शरण लिन पुगेका राणाले झन्डै ३५ वर्ष हालीमुहाली गरेपनि गणतन्त्रपछि भने उनलाई पीडामाथि पीडा थपिएको छ।

धन, जन र मन लगाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राणालाई जिताउन यसपटक यहाँका कांग्रेसीले पनि काँध थापेकै हुन्। तर नतिजा चमत्कारिक हुन सकेन। ८ हजार २ सय मत अन्तरले राणालाई शेरबहादुर तामाङले हराए। 


मतका हिसाबले कमजोर भएपनि  राणाका सैद्धान्तिक कमजोरी पनि थिए। हेर्नुस् काठमाडौं बसेर सिन्धुपाल्चोकको राजनीति : पशुपति शम्शेर किन कमजोर?।  ती यसअघि राणालाई थाहै थियो। सायद ती कमजोरी सच्याउन राणालाई निर्वाचन आचारसंहिताले नदिएको हुनसक्छ अथवा उनले ती बुँदालाई बेवास्ता गरेका हुन सक्छ। आखिर उनी सुध्रेनन्। जनताले उनलाई धेरै अघिदेखि छामेका थिए। 
पैताला खियाउँदै महाराजगन्जको विजयवास धाएका जनता उनका मुटु र मगजसम्म पसेका थिए। विजयवासमा 'राजा सा'ब' र 'बाबु सा'ब' भन्दै ओइरिनेको संख्या बढ्दा पनि किन चुनाव हारे त राणाले?

यस्ता छन् कारण:

१)    चुनावका क्रममा राणाविरुद्ध फैलिएका अफवाह


यसपटक चुनावी प्रचारका क्रममा राणाविरुद्ध विभिन्न अफवाह फैलाइए। राणा आफै पनि सर्वसाधारणसँग घुलमिल हुन नसक्दा यस्ता आरोपलाई थप मलजल मिल्यो। 

राणाले हत्तपत्त सर्वसाधारणसँग हात मिलाउँदैनन्। यो उनको पुर्ख्यौली बानी हुन सक्छ। यद्यपि विपक्षीले भने राणा ग्लोब्स् अर्थात पन्जा लाएकासँग मात्र हात मिलाउँछन्। रोग संक्रमण र फोहोरबाट बच्न उनले यस्तो उपाय अपनाएको अफवाह फैलाउनेहरुको तर्क थियो।

उनीमाथि लागेको अर्को आरोप हो राणा जनताले दिएको पानी पिउँदैनन्। खाना खाँदैनन्। जनताले दिएको खानापानी नछुने नेता भनिदिएपछि उनीप्रति नकरात्मक भावना झन् बढ्यो।

खानामा मुटुकलेजो मात्र खान्छन्- यो उनीविरुद्ध फैलिएको अर्को अफवाह। राणा खानका सौखिन भएको र जुनसुकै मासु नखाने बरु मुटुकलेजो मात्र भुटभाट पारी खाने गर्छन् भन्ने अफवाह चलाइयो। यस्तै अफवाहले उनको केही मत घट्यो।

२)    पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई बेवास्ता

निर्वाचनका क्रममा धेरै वामपन्थी कार्यकर्ता राणासँग आकर्षित भएका थिए। त्यसैले धेरै कार्यकर्ताले राणाको हातबाट खादा र माला पनि लगाए। तर, कार्यकर्तालाई खादा र माला लगाउने राणाको शैली भने अस्वभाविक भेटिएको थियो। उनी पार्टी प्रवेश गर्ने कार्यकर्तालाई माला लगाउँदा टाढैबाट रिङ फाले झैँ फालेर लगाइदिन्थे। पार्टीमा आएका कार्यकर्तासँग हात मिलाउँदैन थिए। यसले आत्मीयता घटेर धेरैले उनलाई मत नदिएका हुनसक्छन्।

३)    छैनन् 'सक्सेसर'

राणा ठूलो पार्टीमध्ये एकका अध्यक्ष हुन्। सिन्धुपाल्चोक मात्र हैन देशकै चर्चित नेता हुन्। तर राणाका 'सक्सेसर' छैनन्। 'सक्सेसर' न त पार्टीमा छन् न जिल्लामा। आफूलाई सत्य सूचना उपलब्ध गराउने र कार्यकर्तासँग हरदम सम्पर्कमा रहने पुलको काम गर्ने 'सक्सेसर' वा सेकेन्डमेन खाँचो हुन्छ। त्यो नहुँदा राणाले चुनावी दौरानमै पनि सास्ती खेप्नुपर्‍यो। अफवाह त्यसै फैलियो। जसले गर्दा चुनावी परिणाम उनको पक्षमा आएन।

४)    आफ्नै नेताको असहयोग

यसपटक राप्रपाकै पूर्व जिल्ला अध्यक्ष दइन्द्रबहादुर ठकुरी स्वतन्त्रमा उठे। जिप चिन्ह लिएर यसै क्षेत्रको प्रदेश क मा चुनावी मैदानमा उत्रेका उनको सहयोग पाउन सकेनन् राणाले। ठकुरीले वाम गठबन्धनकै उम्मेदवारलाई सहयोग गरेको चर्चा चल्न थालेको छ।

५)    मतपत्रमा चुनाव चिह्नको अलमल


राप्रपाको चुनाव चिह्न हलो थियो। तर राप्रपा नेपालसित पार्टी एकीकरण भएपछि यो चिह्न कसैले पाएन। एकीकरण भइसकेको पार्टी राप्रपालाई फुटाएर राप्रपा प्रजातान्त्रिक भएपछि यसले गोलाकारभित्रको हलो चुनाव चिह्न पायो। राप्रपाबाटै प्रकाशचन्द्र लोहनीको नेतृत्वमा टुक्रिएको अर्को पार्टी राप्रपा राष्ट्रवादीले चारपटेभित्रको हलो चिह्न पायो। गोलाकार हलोकै ठिक मुनि यो चिन्ह राखेर विपक्षीले फाइदा उठाए।  यसबाट उम्मेदवार बनेका चन्द्रदत्त खतिवडाले कूल १३०८ मत पाए। उसो त खतिवडा राप्रपा राष्ट्रवादीका उम्मेदवार हुन्।  तर एमाले कार्यकर्ता भएको र राणाको भोट काट्न राष्ट्रवादी बनेर उम्मेदवारी दिएको एमालेकै कार्यकर्ता सुनाउँछन्। 

६)    युवालाई विश्वासमा लिन नसक्नु

सिन्धुपाल्चोकको २ र ३ क्षेत्रबाट कांग्रेसले कहिल्यै प्रतिनिधित्व गर्न पाएको छैन। यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसको मत सुधारोन्मुख थियो। हेलम्बु गाउँपालिका र ईन्द्रावती गाउँपालिकामा स्थानीय निर्वाचनमा कांग्रेसले प्रमुख लगायत धेरै पद हात पारेको थियो। फुटले गर्दा राप्रपाका धेरै कार्यकर्ता कांग्रेस प्रवेश गरिसकेका थिए। 

यता वाम गठबन्धनलाई पनि कोदो र तोरीसँग तुलना गरिएको थियो। यी दुई मिसाउँदा न त पिठो राम्रो बन्थ्यो, न त तेल राम्रो। यसले कांग्रेसलाई फाइदा नै हुने थियो। प्रदेश उम्मेदवार चयन गर्दा पनि राणाकै दबाबमा काममा खटेका नेताहरु पन्छाइयो जसले गर्दा राणालाई ‘आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ जस्तै भइदियो।

राणाले हराउँदै आएका कान्छा लामा आफ्ना नातेदार निमा लामा (सिन्धुपाल्चोक २ प्रदेश खका उम्मेदवार) जिताउनका लागि भएपनि पशुपतिका नजिक भइदिए। राणाका लागि यो नै घात भइदियो। 

७)    थापाकाजीहरुको चलखेल

राणालाई विजेता हुन नदिनुको अर्को कारण रह्यो राप्रपा प्रजातान्त्रिककै थापाकाजी खलकको चलखेल। गृह राज्यमन्त्रीसमेत भइसकेका विष्णुविक्रम थापालाई पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा विजयी हुनबाट छेकेका थिए राणाले। 
त्यतिबेला राणाले माओवादीका अग्नि सापकोटालाई सहयोग गरे। उनी विजयी भए। दोस्रो संविधानमा पनि त्यस्तै भयो। 

त्यसैको बदला दोस्रो संविधानसभाको चुनावमा थापाले भाइ शम्भुविक्रम थापासँगै मिलेर लिए। राणा चुनाव हारे। यसपटक भने राणाले आफ्ना धेरै विपक्षीसित गला मिलाए। उनीहरुको काँध थापे। चुनावी योद्धाका रुपमा थापा खलकलाई आफ्नो विश्वासी चुने राणाले। यसले अरु कार्यकर्ता बिच्किए भने थापा खलकले भने पुरानो बदला लिन अझै बाँकी थियो। उनीहरु राणासँग रुष्ट थिए। र, हराउने अभियानमा सक्रिय भइदिए। 
जसअनुसार थापाले राणाको चुनावी ठेक्का लिए पनि युवा परिचालन नगरेको राप्रपाकै एक चुनावी संयोजकले थापामाथि आरोप लगाएका छन्। उनका अनुसार राणाबाट सहयोग पाउँदै आएको माओवादी पार्टीलाई यसपटक थापाहरुले सहयोग गरे जसका कारण राणा पराजयको सिकार बने।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell