PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज सदरमुकाम ल्याइने



पहिलोपोस्ट

सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज सदरमुकाम ल्याइने

सिन्धुली :  सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज बिहान मात्र ल्याइने भएको छ। हरिहरपुरगढी, मरिण गाउँपालिकाको मतपेटिका आज ल्याइने भएको हो। 

बिहीबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका–७ भुताहाबाट सिन्धुलीमाडीतर्फ मतपेटिका ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएपछि मतपेटिका मतदान केन्द्रमा नै रोकिएका थिए। 

कच्ची ग्रामीण सडक र रातिको यात्रामा थप जोखिम हुने भन्दै मतपेटिका सिन्धुलीमाडी नल्याइएको हो। अब हरिहरपुरगढी गाउँपालिकाका नौ मतदानस्थलका १८ मतदान केन्द्रका मतपेटिका र मरिण गाउँपालिकामा रहेका नौ मतदानस्थलका १९ मतदान केन्द्रका मतपेटिका ल्याउन बाँकी रहेको छ। 

कच्ची सडकमा राति मतपेटिका ल्याउन खतरा हुने भन्दै राति मतपेटिका नल्याइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। सडकका केही स्थानमा शंकास्पद वस्तु तथा जोखिम देखिएपछि मतपेटिकालाई सुरक्षाकर्मी कै निगरानीमा सुरक्षित साथ राखिएको उनले जानकारी दिए। 

दुबै गाउँपालिकाबाट मतपेटिकालाई जोखिमयुक्त स्थानमा पूर्वतयारीका साथ मतपेटिका ल्याइने प्रजिअ दाहालको भनाइ छ। ती गाउँपालिकामा मतपेटिका ल्याउन आवश्यक सुरक्षा रणनीतिसहित आज दिउँसोसम्ममा मतपेटिका सदरमुकाम आइपुग्ने उनले बताए। 

सिन्धुलीमा मतदान शान्तिपूर्वक सम्पन्न भए पनि हरिहरपुरगढी गाउँपालिकामा मतपेटिका ल्याउन केही समस्या देखिएको र थप क्षति हुन सक्नेतर्फ सचेत भई आवश्यक सुरक्षाकर्मीको टोली परिचालन गरी मतपेटिका ल्याइने बताइएको छ। 

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिकल गाउँपालिका, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा रहेका मतदान केन्द्रबाट मतपेटिका रातभरिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई पुर्याईएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए। 

आज बिहानभरमा मतपेटिका सिन्धुलीमाडीमा ल्याइने र दिउँसोबाट मात्र मतगणना सुरु हुने बताइएको छ। सिन्धुलीमा २४० मतदान केन्द्र रहेका थिए। सिन्धुलीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell