PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चुनावको चटारोमा बिहेको जन्ती, दुलहादुलहीले पाएनन् गाडी

चुनावको चटारोमा बिहेको जन्ती, दुलहादुलहीले पाएनन् गाडी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : ओखलढुङगाका २० वर्षीय निकबहादुर मगरलाई बिहेमा जन्तीसहित गाडी लिएर बेहुली भित्र्याउने पहिलेदेखिकै रहर थियो। तर, चुनावले उनको 'प्लान' पूरा हुन दिएन।

बिहीवार मगरले काठमाडौंको गुहेश्वरी मन्दिरमा विधिपूर्वक बिहे गरे। तर, उनीसित न सोचे अनुसारको जन्ती थिए नत शुभ विवाह लेखिएर फूलले सजाएको रंगिन गाडी नै। 

दिउँसो २ बजे बिहे सकियो। त्यसपछि उनी आफ्नी दुलही आशा मगरको हात समाएर हिँड्दै जोरपाटीतिर लागे। पहिलोपोस्टसँगको कुराकानीमा निकबहादुरले भने, 'जन्ती र गाडीसहित दुलही भित्र्याउने सपना पूरा भएन।' आर्थिक अभावले होइन। कारण थियो बिहिवार ४५ जिल्लामा भएको निर्वाचन। 

सरकारले बिहीवार ४५ जिल्लामा अतिआवश्यक र पास बाहक सवारी बाहेक अन्यलाई संचालनमा रोक लगाएको थियो। ‘सरकारले गाडी चल्न पाइँदैन भनेको थियो। त्यसैले बिवाहमा गाडी नल्याएको हो। नत्र मलाई पनि रहर थियो,' उनले भने।

उनीहरुलाई विवाह जस्तो नौलो थियो, निर्वाचन पनि उस्तै। दुवैको भोटर लिष्टमा नाम पनि थियो। भोट हाल्ने रहर पनि नभएको होइन। ओखलढुङ्गामा नाम भएको र आजै विवाह भएकाले भोट हाल्न नपाएका दुवै जना दुखी थिए। मगर भन्छन्, ‘विवाहले गर्दा भोट हाल्ने अवसर गुमाए।'

मगर दम्पतीको बिहेमा केही आफन्तमात्र सहभागी थिए। मगर दम्पती बाटोमा एकले अर्काको हात र साथको सहारा लिँदै जोरपाटी पुग्यो।


ट्रेन्डिङ पोस्ट

Ncell