PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मुगुमा १४ जनाको मृत्यु! अनुगमन गर्न रोग नियन्त्रण महाशाखाको टोली मुगुतिर



सागर बुढाथोकी

मुगुमा १४ जनाको मृत्यु! अनुगमन गर्न रोग नियन्त्रण महाशाखाको टोली मुगुतिर

काठमाडौं : मुगुमा भाइरल ज्वरोको कारण १४ जनाको मृत्यु र औषधि अभाव भएसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुगमनका लागि उच्चस्तरीय टोली पठाएको छ।

एक महिना लामो प्रकोपबाट १४ जनाको मृत्यु भएको छ भने, १ सय ८१ जना बिरामी परेका छन्। महाशाखाका निर्देशक डा. भीम आचार्यले भाइरल ज्वरोसँगै अन्य स्वास्थ्य समस्याका कारण ११ जनाको मृत्यु भएको खबर आउनासाथ रोग पत्ता लगाउन उच्चस्तरीय टोली मुगु पठाइएको बताए। 

‘अहिले सम्म पनि स्वास्थ्यकर्मीको टोली प्रभावित स्थानमा खटिरहेको छ,’ आचार्यले भने, ‘महाशाखाले जिल्ला अस्पताल मुगुबाट थप एक चिकित्सक आवश्यक औषधि सहित प्रभावित खप्त्याड गाउँपालिका तर्फ पठाएको छ। चाँडै नियन्त्रणमा आउने छ। बाहिर आएको जस्तो औषधि नभएको भन्ने कुरा सहि हैन।’ 

निर्देशक आचार्यले भने, ‘हामीले मुगुमा जानकारी लिएका छौं। आवश्यक पर्ने सबै प्रकारका औषधि उपलब्ध छन्। कमी नहोस् भनेर खरिद गर्न रकम समेत पठाएका छौं।’

मुगु जिल्लाको सहायक जिल्ला अधिकारी मोहन केसीले मुगुमा समाचारमा आएजस्तो भाइरल ज्वरोको महामारी नफैलिएको दावी गरे। केसीका अनुसार कार्तिक १५ देखि अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। कालगतिले मर्ने र अन्य कारणले मर्नेहरु पनि १४ जना भित्रै रहेको उनले बताए।

उनले भने, ‘२२ हजार जनसङ्ख्या भएको यहाँ १४ जना मरेका छन् त्यो पनि ६५ वर्ष माथिका। उनीहरु भाइरल ज्वरोका कारण हैन दम र निमोनियाका कारणले मरेका हुन्। समाचारमा आएजस्तो कुनै भाइरल ज्वरोको महामारी छैन्। औषधि पनि पर्याप्त छ।’

मुगका स्थानीय पत्रकार बिनोद मल्लले मुगुको गाउँतिरबाट बालबालिका र वृद्धहरुको मृत्यु भएको खबर आएको बताए। उनले भने,  ‘मृत्युको कारण पत्ता लागिसकेको छैन। मानिसहरु मरेको भन्ने खबर छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell