PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बिरामीको आक्रमणमा परेर झण्डै गएन डाक्टर र नर्सको ज्यान !



सागर बुढाथोकी

 बिरामीको आक्रमणमा परेर झण्डै गएन डाक्टर र नर्सको ज्यान !

काठमाडौं : सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। 

आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्। 

डक्टर्स सोसाइटीकी महासचिव तोसिमा कार्कीका अनुसार डा त्रिपाठीले चेकअप गर्ने तयारी गर्दा नजिकै रहेको चक्कुले प्रहार गरेका थिए। त्यसपछि उनले नजिकै रहेकी नर्सको घाँटी थिचेका थिए। अस्पतालमा आएका अन्य बिरामीले उनलाई तानेर नर्सलाई जोगाएको कार्कीले पहिलोपोस्टलाई बताइन्।

डाक्टर र नर्समाथि आक्रमण गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले त्यस्तो केही नभएको भन्दै घर लगेका छन्। डाक्टरलाई आक्रमण गर्ने व्यक्ति मानसिक सन्तुलन गुमेको हुन सक्ने भए पनि यथार्थ पत्ता नलागेको कार्कीले बताइन्।

कार्कीका अनुसार अनुसार अहिले अस्पताल तनावग्रस्त छ भने सुरक्षाकर्मी अस्पतालमा खटिएका छैनन्। 'हामी  प्रहरीसमक्ष आक्रमण गर्नेको विरुद्ध उजुरी दर्ता गर्न जाँदा दर्ता भएन्। सायद भोलि हुन्छ होला,' कार्कीले भनिन्, 'भक्तपुरका डिएसपीले अस्पताललाई सुरक्षाकर्मी दिन सक्दैनौं भने।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell