PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५

'मजबुर'का अमिताभको जस्तै शंकरको जीवनका प्लटहरु

'मजबुर'का अमिताभको जस्तै शंकरको जीवनका प्लटहरु

स्वेच्छा राउत/पहिलोपोस्ट


रिक्साको दाँया र बाँयापट्टि जोडिएका काठका बोर्डहरु। उक्त बोर्डमा टाँसिएका हुन्छन् ७० को दशकका हिन्दी सिनेमाका पोस्टर। अगाडि र पछाडि फर्काएर राखेको एसिड ब्याट्री जडित लाउड स्पिकर। भित्रबाट फुच्चे केटो स्टाइलिस्ट लवजमा बोल्न थाल्छ – हिन्दीमा। नेपाली बोल्न आउँदैन उसलाई। 

“आइए...देखिए...... आप सबकी मन पसन्द सुपर हिट सिनेमा...रत्न टुरिङ टाकिज मे...”

यो सन् १९७६ (२०३२ साल)तिरको कुरा। १३ वर्षको केटोको आफ्नो पहिलो जागिर रिक्साको पछाडि बसेर रत्न टुरिङ टाकिज (फिल्म हल)का लागि फिल्म प्रचार गर्नु। रिक्सा बजार र छेउछाउका बस्ती घुमेर फिर्ता नआएसम्म उक्त केटो बोलिरहन्छ। वरपरका केटाकेटी रिक्साको पछिपछि झुम्मिन्छन्, उक्त केटाले बेलाबखत फ्याँक्ने पोस्टर टिप्न।

***
सन् १९७४ को सिनेमा 'मजबुर'को मुख्य पात्र रवि खन्ना (अमिताभ बच्चन)मा आफूलाई देख्ने एउटा मान्छे छ – शंकरप्रसाद यादव। तर शंकर रवि खन्ना जस्तै ट्राभल एजेन्सीमा काम गर्दैनन्। न त पैसाको लागि हत्याको आरोप आफ्नो टाउकोमा लिने ब्रेन ट्युमर पीडित नै हुन्छ। शंकर र रवि खन्नाको जीवनमा केही समानता छ भने त्यो बाध्यताबस् फेरिएको जीवन मात्र।

शंकर फिल्म प्रचार गर्ने त्यही फुच्चे केटो अहिले ५५ वर्ष पुगिसके। उनले आफ्नो जीवनसँग फिल्मको कथा तुलना किन गर्छन्? 

'मजबुर फिल्मको अमिताभ बच्चन र मेरो जीवनको मजबुरी समान छ। उ परिवारको लागि जेल जान्छ। म परिवारको लागि नेपाल आएँ।'

घर जोगबनी पारी, फार्बेसगन्ज। उनी कक्षा पाँचमा पढ्दापढ्दै बुवाको निधन भयो। साहुको जग्गामा किसानी गरेर खाने परिवारको लागि बिहान बेलुकीको छाक टार्ने बाटो बन्द भयो। शंकर सम्झन्छन्, “बुवा नहुनुको दु:ख त थियो नै। केही समयपछि त खानको लागि घरमा अन्न हुन छोड्यो।”

त्यसपछि बुवाको जिम्मेवारी उठाइन् आमाले। आमाको लागि साहुको खेतमा जानु, हलोजुवा गर्नु सहज काम भने रहेन। शंकरसँग त्योबेलाको धमिलो स्मरण छ - 'आमा बिरामी हुनुहुन्थ्यो। अह्राएको सबै काम गर्न नसक्ने। काम नगरेपछि अन्न, पैसा कसले दिन्छ?' 

आमाकोमात्र कमाइले खान लाउन नपुगेपछि शंकरले टुलुटुलु हेरेर बस्न सकेनन्। उनमा परिवारलाई सघाउन काम गर्ने सोच आयो तर भन्नासाथ १३ वर्षे बालकलाई काम दिने कसले? उनी छटपटिए। पीडा भयो। र, अन्त्यमा एउटा ‘जबरजस्त’ निर्णय गरे- काम गरेर खानलाई घरमात्र होइन देशै छोड्ने। जोगबनी सीमाना काटेर नेपाल हान्निए, जहाँ उनको चिनजानको कोही थिएन। उनले यति मात्र सुनेका थिए- नेपालमा काम पाइन्छ। 

'सानै थिएँ।आमाको दु:ख राम्ररी बुझ्न सक्ने थिइन होला। तर आफूलाई लागेको भोक बुझ्थेँ। त्यसैले भाइ र आमालाई छोडेर भागेको हुँ,' शंकर अभावबाट भागेको त्यो अवस्था सम्झन्छन् जसले उनलाई पढाइ, साथीभाइ, परिवार सबैबाट टाढा बनायो। 

२ वर्ष हलको फिल्म प्रचार गर्ने काम गरे। तर कुनै आन्तरिक विवादका कारण हल बन्द भएपछि शंकरको कमाइ खाने भाँडो पनि बन्द भयो। उनी धरान पुगेर होटलमा चिया बनाउन थाले। ठाउँ फेरे, होटल फेरे। तर, काम उही रह्यो - १६ वर्षभन्दा बढी। अनेक उतारचढाव भए त्यो डेढ दशकमा। तर, शंकरले हिम्मत हारेनन्।

*** 

बलिउड अभिनेत्री माधुरी दीक्षित-एक/दुई फिल्मबाटै शंकरलाई मन परेकी। जब विवाहको प्रस्ताव आयो, उनी दङ्ग परे। किनकि प्रस्तावित केटीको नाम पनि उनकै मनपसन्द हिरोइनकै नाम थियो - माधुरीदेवी। प्रस्ताव ल्याए सुदुरपुर्व झापाको दमक नगरपालिकामै भेटिएका केही कामदार साथीले। १९९२ मा विवाह गरे। शंकरकी माधुरी चाहिँ बिराटनगरकी। आफूले थाहा पाउँदादेखिनै कसैको घरमा काम गरेर हुर्किएकी। अनि त माधुरीको पनि आफ्नो परिवार भयो।

शंकरले विवाहको प्रसङ्ग सुनाउँदा नजिकै बसेकी थिइन् माधुरी। केही लजाए जस्तो देखिन्थिन्। त्यस्तैमा बोलिन्, 'मलाई पनि खुशी लागेको थियो नि। कसैको सहारा मिल्ने कुराले को खुशी हुँदैन?'

माधुरी जीवनमा आउनु शंकरको जीवनको नयाँ सुरुवात बन्यो। अरुको होटल र पसलहरुमा काम गरेर जसोतसो जिन्दगी चलाइरहेका उनले आफ्नै व्यापार सुरु गर्ने भए। श्रीमतीलाई दमक घुमाउन लगेका थिए, चोकमा राम्रै चहलपहल देखेपछि माधुरीले भनिन्, 'हामी पनि आफ्नै व्यापार गरौं। यो चोकमा राम्रो चल्छ।' 

श्रीमतीको प्रस्ताव शंकरलाई राम्रो लाग्यो। त्यसैले जम्मा गरेको सबै पैसा फलफूल पसलमा लगानी गरे। तर दुर्भाग्य, पसल चलेन। घाटा भयो। पैसा पनि सकियो। शंकर एक्लो थिएनन्। फार्वेगञ्जमा आमा थिइन्। श्रीमती माधुरी पनि। परिवारको जिम्मेवारीले थिचेको थियो। 'अब के गर्ने होला? भन्ने भएको थियो। उनले फेरि नयाँ उपाय खोजिन्', श्रीमतीलाई हेरेर थोरै मुस्कुराए र शंकरले भने, 'मलाई चिया पकाएर बेच्ने उपाय उसैले दिएकी हो।'
***

'शंकरको चिया पसल'

दमकको मुख्य चोकको पश्चिमपट्टि मध्यरातमा स्टोभमा दम दिँदै चिया पकाउँदै गरेको भेटिन सुरु भयो। रिक्साको चक्का हालेर बनाइने चारचक्के ठेलागाडीमा। मध्यरातपछि बिहानसम्मै चोकमा चिया भेटिनु काठमाडौँबाट आइपुग्ने गाडीका यात्रु, चालक, सहचालकका लागि मात्र नभएर झिसमिसे मै निस्कने जोसुकैका लागि पनि खुशीको कुरा। रात्री बसहरुले उनकै ठेला नजिक पारेर गाडी रोक्न थाले। चियाको स्वाद पनि बहुतै रुचाइयो। त्यसैले त आज २५ वर्षपछि पनि शंकरको चिया दमकमा खोजिन्छ। शंकर निकै उत्साही भावमा सुनाउँछन्, 'वर्षौ पुराना नियमित ग्राहक छन्। जो बिहान आएर चिया नपिएसम्म ठेला लिएर घर फर्कन्न।'

सडकको व्यापारमा भविष्य खोज्दै गरेको अजनवी भारतीय। संघर्षको सुरुवाती दिनमा हेपाइ र गालीको धेरैपटक शिकार बने शंकर। त्यस्ता घटना अहिले पनि छिटपुट नहुने होइन तर उनलाई उस्तो धेरै मतलब गर्न आवश्यक लाग्दैन। कहिले नगर प्रहरीले ठेला उठाएर लगिदिने डर, कहिले स्थानीयले त्यस ठाउँमा ठेला राख्न नदिने धम्की। सडकमा हुने हरेक हुलदङ्गा र प्रदर्शनको जोखिम मोल्दै व्यापार गर्ने क्रममा सुरुवातमा आवाराहरुको पनि निकै हप्काई खाएका छन् शंकरले। सहनु उनको बाध्यता। धैयर्ता त संयमताले जितेका हुन् उनले। भन्छन्- 'नत्र हिजो भेले/धोती सम्बोधन गर्नेले आज शंकर दाइ कसरी भन्न सक्थ्यो?'

चियाको ठेलालाई उनी आफ्नो 'भाग्य' मान्छन्। ठेलागाडी माथिको चिया व्यापारबाट बिहान, बेलुका चुल्हो सहजै बल्ने भयो। दिनमा ४ घण्टा सुतेर रातिदेखि बिहानसम्म चिया बेचे शंकरले। बचत जति छोराहरुको स्कूल फि तिर्दैमा सक्किन्थ्यो। भन्छन्, 'तर मन कहिले आत्तिएन। आखिर निद्रा र थकाई माया मारेको तिनीहरुकै लागि त थियो। मैले पढ्न नपाए नि छोराहरुले त पाउन् न।'

दमकको प्रतिष्ठित निजी बिद्यालयमा पढ्न पाए छोराहरुले। पढाइमा राम्रै गरे।

उनका जेठा छोरा गौरवकुमार यादव होटल म्यानेजमेन्ट पढेर विदेशिए। अहिले केएफसीमा जागिरे छन्। माइला छोरा आशिषकुमार यादवले पनि कमर्स पढे। प्लस टु सकाए। अहिले दमकमा 'एन एण्ड एक्सिस' नामक कन्सल्टेन्सी खोलेका छन्। कान्छा सौरभकुमार यादव कक्षा छ मा पढ्छन्। दमकको सुर्योदय बोर्डिङ स्कूलमा।

अब त यतैको स्थायी बासिन्दा बनिसक्नुभएछ नि? प्रश्न नसकिँदै माधुरी थप्छिन्, '७ धुर घडेरी छ। अब घर बनाउने।‘
तर घरको योजना थाँती राखेरै, शंकरको परिवारले एउटा बस किनिसकेको छ। उनले भने, "बिराटनगरदेखि काँकडभिट्टा रुटमा चल्छ। त्यै रुट हो, जुन रुट हुँदै शंकर बिराटनगरबाट दमक आइपुगेका थिए, ४२ वर्षअघि। उक्त सार्वजनिक यात्रु बाहकको कारोबार हेर्दा रहेछन्, माइला छोरा आशिषले।

माधुरीका अनुसार, अब छोराहरुले परिवार धान्ने भइसके। उनीहरुले बुझेका छन्, बा आमाले गरेको दु:ख र सङ्घर्ष। तर, शङ्करको जोश भने अझै जवान नै छ, 'अब काम नगरे हुन्छ भन्छन् छोराहरु। तर मनले मान्दैन। शरीरले नमानेको दिन मात्र चिया पकाउन छोड्छु।'

२५ वर्ष अघिबाट शंकर दाइको जीवनलाई देखेकाहरुका लागि उनको मेहनत उदाहरणीय लाग्छ। शंकर भन्छन्, 'केही थिएन। अहिले काम छ। पारिवारिक सन्तोष छ। छोराहरुलाई बाटो देखाएँ। इन्डियाबाट आएर नेपाली नागरिकता पाएँ। तर काम त गरिरहने हो।' 

तर माधुरी गुनासो गर्छिन्, 'मैले त नागरिकता नै पाएको छैन। बुढेसकालका लागि पैसा जम्मा गर्छुभन्दा बैंकले समेत नागरिकता माग्दो रहेछ।' 

बाल्यकालदेखि नै अरुको घरमा काम गरेर हुर्किएकी माधुरीसँग जन्म दिने आमाबुवाको जानकारी नै छैन। र, त्यसैले नागरिकता पाउन सहज नभएको हो। शंकर र माधुरीको चियाका पारखी, निमयित मर्निङ वाकमा आउने स्थानीय पहुँचवालाहरु पनि हुन्। तिनले चाहे भने, नागरिकता पाउन उत्ति गाह्रो नहुनु पर्ने हो। बिहान आएर छेउमा उभिनासाथ शंकरले चिया दिन्छन्, नमागीकनै। तर ती मध्ये कसैले पनि नागरिकता छ/छैन भन्नेबारे खोजेनन्। दुई दशक बढीबाट सहयोग चाहिन्छ कि सोधेनन्।

***
शंकरले ठेला राख्ने वरपर  अन्य चियाको ठेलाहरु देखिन थाले। व्यापारमा केही असर गर्न थाल्यो। 'सबैको गरी खाने भाँडो आ-आफ्नो हो। भाग्यले मेरो भागमा जति ग्राहक जति कमाई दिन्छ त्यति नै मेरो,' उनले भने।

व्यापारका प्रतिस्पर्धी हुन् वा बेलाबखत दु:ख दिने गुण्डा प्रवृत्तिका ग्राहकहरु, सबैसँग संयमित हुन्छन् उनी। शान्त र धैर्यवान उनलाई विभिन्न गुरुको ‘सत्संग’ले सहयोग गर्योा, जुन उनी रेडियोमा, टिभीमा वा कतै हुने पुराणहरुमा सुन्छन्। गुरुहरुको प्रवचनबाट मन परेको वाक्यहरु उनी कापीमा टिप्छन्। केही त उनले आफ्नो चियाको ठेलामा पनि लेखेका छन्।

उनको निश्चित गुरु कोही छैनन्। शं‌करलाई केही त्यस्ता अध्यात्मिक भनाइहरु याद छन् जुन कुन गुरुले दिएको ज्ञान हो पनि थाहा छैन। ‘जसले मलाई दु:खमा नआत्तिन र सुखमा नमात्तिन सिकायो।’ 

***

शंकरको जीवन अरुको रिक्सामा बसेर फिल्म प्रचार गर्नेबाट आफ्नो बसमा अरुलाई यात्रा गराउनेसम्म पुगेको छ। खाली हात, एक्लै नेपाल आएका भारतीय शंकरसँग अहिले दमकको महङ्गो ठाउँमा घडेरी छ। परिवार छ। आफूले पसिना बगाएको ठाउँको नागरिक हुनुको प्रमाण छ। र, मुख्यत: आफ्नो जीवनप्रतिको सन्तोष छ। 

रोजगारका लागी खाडी पुगेका कैयौँ नेपालीहरु छुट्टीमा फर्किंदा, रात्रीबस चढेर काठमाडौँबाट आउनेहरुलाई  दमक चोकमा शंकरकै चियाले स्वागत गर्दछ। त्यही क्षेत्रमा, जुत्ता सिलाउने, आइसक्रिम/कुल्फी बेच्ने, चटपटे/पानी पूरी बेच्ने काम गर्दै आएका अन्य थुप्रै भारतीय खुद्रा ब्यापारीहरु पनि छन् जसले नेपालमा काम गरेर भारतमा रहेको आफ्नो परिवारलाई खर्च पठाइरहेछन्। तर, शंकरकै जस्तै नेपाल अवतरण उनको लागि पनि दुर्लभ उदारहण र प्रेरणा हो।

पैसा कमाउन विदेशबाट नेपाल आएका ती व्यापारी र पैसा कमाउन विदेश गएर छुट्टिमा फर्किएका दुबै थरी मान्छे भेट हुने दमक चोक। चोकमा सडक व्यापारबाटै आत्मनिर्भर बनेर खुशीसाथ बाँचीरहेका शंकर चिया बेच्दै भेटिन्छन्। उस्तै सरल छ उनको जीवन शैली। शंकर छन्। ठेला छ। र अझै पनि उसैगरी खोजिन्छ  'शंकरको चिया'।

 


ट्रेन्डिङ पोस्ट