PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५


सत्तामा हुँदा पैसा लिएर आउँथे, अहिले फोन समेत उठाउँदैनन् : डा. बाबुराम भट्टराई


किशोर नेपाल

सत्तामा हुँदा पैसा लिएर आउँथे, अहिले फोन समेत उठाउँदैनन् : डा. बाबुराम भट्टराई

वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग चुनावी गठबन्धन बनाएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखामा आफ्नो क्षेत्रको चुनावी अभियान सकाएर यतिखेर काठमाडौंमा छन्। दोस्रो चरणको चुनावको तयारीका लागि काठमाडौं आइपुगेका उनी नेपालको राजनीतिक भविष्य अँध्यारोतिर लागेको बताउँछन्। माओवादी जनयुद्धका एकजना डिजाइनरसमेत रहेका भट्टराई कम्युनिज्मबाट देश अगाडि बढ्न नसक्ने निश्कर्षमा पुगिसकेका छन्। उनी जुनसुकै गठबन्धनले बहुमत ल्याए पनि देश अस्थिरतातिरै पुग्ने बताउँछन्। भट्टराईसँग किशोर नेपालले लिएको अन्तर्वार्ता:


तपाईँले अहिलेकै प्रधानमन्त्री देउवाजीलाई माओवादीका तर्फबाट जनयुद्धमा जान्छौँ भनेर माग पत्र बुझाउनु भयो २०५२ सालमा। तर, अहिले यिनै प्रधानमन्त्रीसित गठबन्धन बनाएर चुनाव लड्नु भएको छ। राजनीतिको यो कस्तो रुप हो? अचम्मको रुप होइन त?

राजनीति अत्यन्तै गतिशील हुँदो रहेछ। त्यसैले लेनिनले भनेजस्तै राजनीति सिधा रेखामा नगएर बाङ्गोटिङोमा जाने रहेछ। नेपालमा २००७ सालदेखिको लोकतान्त्रिकरण प्रक्रिया कहिल्यै पूर्ण भएन। पुरानो शक्तिसँग सम्झौता गर्दै फेरि अर्को चरणमा जाने भयो। यसरी २००७ साल, २०४६ साल हुँदै २०६२/६३ सालको संघीय लोकतान्त्रिक गणतन्त्रसँग आइपुग्दा एउटा चरण औपचारिक त पूरा भयो। तर, आर्थिक, सामाजिक, सांस्कृतिक आधारका विविधतापूर्ण संरचनामा चुनौती भने बाँकी नै छन्। एउटा उदारवादी लोकतन्त्र र अर्को समाजवादी धार जो पछि कम्युनिष्ट भए। नेपालमा यी कांग्रेस र कम्युनिष्ट नाममा स्थापित भए।

अब अहिले संविधान बनेपछि विकास र समृद्धिको एजेन्डा अगाडि बढ्दै गएको छ।  कम्युनिष्टहरु विभिन्न टुक्रामा थिए। एक्लै सामना गर्न सक्ने अवस्था भएन र उनीहरुले एउटा खालको सिण्डिकेट बनाए। र उदारवादी लोकतन्त्रको प्रतिनिधित्व गर्ने कांग्रेस पनि एक्लै अगाडि बढ्न नसक्ने र प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्यो।

तर यो वाम भनिएको कम्युनिष्ट पनि चल्नेवाला छैन, उदारवादी लोकतन्त्र पनि चल्नेवाला छैन। समाजवादी लोकतन्त्र नै नेपालको आवश्यकता हो।

 

आइडोलोजिकल डिफाइन गर्नुस न।

उदारवादी लोकतन्त्र र कम्युनिष्ट सर्वहारा अधिनायकवादले लोकतान्त्रिक मोडलको समाजवादमा गतिरोध पैदा भयो। त्यसबाट माथि उठ्ने प्रयास विश्वमा भइरहेको छ। नेपालमा पनि कांग्रेस र कम्युनिष्टका दुई वटा ब्राण्ड छन्। तिनीहरुको औचित्य करिब करिब समाप्त भइसकेको छ। त्यसैले हामीले वाम लोकतान्त्रिक समुन्नत समाजवादी नयाँ धार निर्माण गर्न आवश्यक छ। हामी यसलाई अगाडि बढाउन चाहन्छौं। हामीले प्रयत्न गरेको त्यो हो। तर, चुनावमा दुई गठबन्धन बनेपछि हामी त चेपुवामा पर्‍यौँ।त्यसैले हाम्रो चुनावमा गठबन्धन होइन, एलाइन्स मात्र हो। हामी गठबन्धनमा छैनौं।


तपाईँ दश वर्षको जनयुद्धको लिड गरेर आउनु भएको। तर, कांग्रेससँग एडजस्ट गर्नुभयो नि?

त्यो किन भयो भन्दा दुई कम्युनिष्ट घटकले स्टालिनवादी एकमनावादी धार ल्याउन खोजेका छन्। मैले त्यसले एक गम्भीर संकट निम्त्याउने देखिराखेको छु। त्यो समाजवादी धारमा जान्छ भने त म पनि सहमत भएकै हो असोज १७ गते। आन्तरिक रुपमा उहाँहरुले मलाई विश्वास दिलाउनु पनि भयो। केपी ओलीजीले मुख्य रुपमा। तर, पछि उहाँहरुको दाउपेच हो कि जस्तो लाग्यो, स्टालिनवादी ढाँचाको। कम्युनिष्ट गठबन्धन बनाउने जस्तो देखियो र त्यसले देशको हित गर्दैन भन्ने लाग्यो।

 

केपी ओलीलाई पनि लाग्यो होला नि तपाईँ थ्रेट होला भनेर?

त्यो त उहाँले जान्ने कुरा हो। त्यो उहाँहरुको आपसी दाउपेच रहेछ। त्यहाँभित्र प्रचण्ड र वामदेवको एउटा समीकरण, केपीजी अलि एक्लो परेर त्यस्तो भएको हो। म त्यहाँभित्र जाने बित्तिक्कै के देखेँ भने - उहाँहरुबीच झगडा सुरु भइहाल्यो। मैले त्यस्तो खोजेको होइन, समाजवादी धार निर्माण गर्न खोजेको हो।

 

झगडाको कारण तपाईँकै प्रवेश हो नि?

खै। उहाँहरुको अर्कै डिजाइन होला। उनीहरु यति जड र रिजिड छन् नि। कांग्रेस अलि त्यस्तो होइन विचारका हिसाबले पनि।व्यवहारिक रुपमा उदार चाहिँ कांग्रेस हो।


चुनावपछिको कुरा गरौं न। त्यसपछि राजनीति गतिशील हुन्छ कि अँध्यारो सुरुङमा पस्छ?

मलाई अँध्यारो सुरुङबाट निस्कन्छ जस्तो लाग्दैन। दुई वटा गठबन्धन बन्नु भनेको संकटको परिचायक हो। माइनस टु र माइनस टु जोडेर प्लस टु त हुँदैन नि। त्यो त माइनस फोर हुन्छ। उहाँहरुले नेगेटिभ नेगेटिभ जोडिरहनु भएको छ। रुपान्तरण भएको भए राम्रो हुन्थ्यो। वाम पनि रुपान्तरण भएर समाजवादी लोकतान्त्रिक धारमा जाने र कांग्रेस ९० को दशकपछि जुन विशुद्ध उदारवादी अर्थतन्त्रमा ढल्केको छ, ऊ पनि वीपीको पालाको जस्तो लोकतान्त्रिक समाजवादी दिशातिर आएको भए देशको परिस्थितिले मेल खान्थ्यो। उहाँहरु पुरानै ढाँचामा गइरहनु भएको छ।

वाम गठबन्धनले जित्यो भने हिमाल, पहाड र तराईको विविधतालाई  उसले सम्बोधन गर्न सक्दैन र आन्तरिकरुपमा असन्तुष्टि बढ्छ। दोस्रो भारत र चीनको बीचको जुन भूराजनीति छ यो अत्यन्तै महत्वपूर्ण छ। यसलाई एउटाले चिढ्याउने र अर्कोले समर्थन गर्ने स्थिति आयो भने ठूलो समस्या ल्याउन सक्छ। आवेगात्मक ढंगले विदेश नीति 'डिल' गर्ने नेकपा एमाले र माओवादीको जुन नीति छ यसले देशलाई बर्बादीमा लैजान्छ।


चीनले पनि नेपालको राजनीतिमा बढी चासो राख्न थालेको हो?

पहिलेभन्दा बढी त हो तर त्यत्रो विधि होइन। भूराजनीतिले पनि दिँदैन। हिमालसँगको सीमाना, उसको तिब्बतको सम्वेदनशीलताले गर्दा बढी त गर्दैन।  भारतको प्रभाव क्षेत्रमा नै छ नेपाल अहिले पनि। र, अबका केही दशक भारतकै प्रभाव क्षेत्रमा रहन्छ। चीनले पनि व्यालेन्स गर्न खोज्छ। भारतलाई चिढ्याएर तत्काल चीन नेपालमा सक्रिय भएर आउला जस्तो लाग्दैन मलाई। नेपालले यही कुरालाई मध्यनजर गर्दै दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।

 

चीनले अस्ति रेल मार्गको सर्वेक्षण गर्‍यो, त्यसो भए रेल आउँदैन अब?

रेल त आउनुपर्छ। म आफैं पनि चीनको रेल नेपाल आउनुपर्छ, नेपाल भारत हुँदै दक्षिण एसियामै रेल जोड्नुपर्छ भन्ने व्यक्ति हुँ। चिनियाँ प्रधानमन्त्री आउँदा मैले यो कुरा राखेको हुँ। उहाँले प्रशंसा गर्नुभयो। तर, भारतलाई पनि विश्वासमा लिएर यो काम गर्नुपर्छ।

दोक्लम विवाद त भुटान र चीनको विवाद थियो। भारतले जुन अडान लियो, पश्चिमा शक्तिसँग जोडिन खाजेपछि चीन पछि हट्यो। खासमा त्यहाँ चीन पछि हटेकै हो। त्यसैले के संकेत देखाउँछ भने चीन नेपालकै लागि भारतलाई चिढ्याउने गरी नेपालमा आउँछ जस्तो लाग्दैन दश वर्षसम्म। दश वर्षपछि त आउला। किनकि ऊ पनि महाशक्ति राष्ट्र बन्दैछ।


चीनको फोकस त भारत भन्दा अमेरिका छ नि?

चीनले भारतलाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैन। उसको फोकस अमेरिका नै हो। भारतभन्दा उसको अर्थतन्त्र चार पाँच गुणा बढी छ। भारतसँग ऊ किन दुश्मनी मोल्न चाहँदैन भने उसको पछाडि अमेरिका छ। फौजी ढंगले पनि भारतभन्दा ऊ धेरै माथि छ।


वाम गठबन्धन रहिरहन्छ भन्ने पनि त छैन।

त्यो त छैन। उहाँहरुको हेर्दा दाउपेच जस्तो देखिन्छ। तर परिस्थितिको बाध्यताले नजिक पनि लगेको छ।कथमकदाचित उहाँहरुले जितेमा देश दुई तीन वर्षपछि बर्बादीमा जान्छ। आर्थिक नीतिले स्वदेशी पूँजी लगानी गरी देशमै लाखौं रोजगारीका अवसर सृजना गर्नुपर्ने हो, तर उहाँहरुको सोच नै संकीर्ण छ। वितरणमुखी सोच छ र आर्थिक वृद्धिको कुरा छैन। त्यसैले यसले समस्या निम्त्याउँछ।

बिप्पा सम्झौताको विरोध गर्ने उहाँहरु क्रान्तिकारी हुनुहुन्छ। अहिले बिप्पा सम्झौता नगरी लगानी आउँदैन। लगानी नगरी विकास आउँदैन। त्यसकारण देशमा आर्थिक मन्दी आउन सक्छ। कांग्रेसका बारेमा भन्नै सकिन्न, भन्नै गाह्रो छ।


तपाईँलाई के लाग्छ कांग्रेस अब राइट बाटो जान्छ?

ऊ कसरी जान्छ? वैचारिक संकट छ। बहुदलीय प्रजातन्त्र र विधिको शासनको  लिगेसी कांग्रेसमा छ। निरंकुश बाटोमा जाँदैन। यदि जान लाग्यो भने उसका समर्थक त्यसविरुद्ध उत्रन्छन्। आशा गर्ने ठाउँ त्यही हो।

 

राज्य रुपान्तरणका तपाईँले धेरै एजेण्डा उठाउनु भयो। तर, स्थापित हुन सकेनन् नि?

त्यतिबेला शान्ति र संविधान निर्माण नै मुख्य कुरा थियो। अलि कार्यकारी कामहरु थिए। सेना समायोजन गरेर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएँ। लगानी बोर्ड गठनलगायतका धेरै काम गर्न खाजेको हुँ। सांकेतिक रुपमा धेरै काम गरेको हुँ। तर, अवधि थोरै भयो। अब संविधानसभाबाट संविधान जारी भएपछि यो समय आएको छ। यो शासकीय प्रणालीबाट त्यो सम्भव छैन।

अहिले पनि कुनै एक पार्टीको सरकार बन्यो भने पनि धेरै टिक्नेवाला छैन भन्ने कुरा २०४८ र ५६ मा कांग्रेसको सरकारबाट देखिएको छ। अहिलेको जुन टालटुल गरेर बनाइएको गठबन्धन छ, यदि यसको बहुमत आयो भने पनि टिक्ने देखिन्न। मलाई लाग्छ यसको बहुमत नै आउँदैन। यदि आएमा पनि पूरा समय शासन चलाउन सक्दैन। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगई स्थिरता आउँदैन भन्ने दृढ सोचाइ छ ममा। पाँच वर्षसम्म सरकारले काम गर्न सक्यो भने विकास हुनसक्छ।


त्यो त तानाशाहको बाटोमा पनि जानसक्छ नि?

जाँदैन। नेपाली समाज त लोकतान्त्रिक प्रणालीमा गइसकेको छ नि। स्थिरताभित्र केही नेगेटिभ त होला।


फेरि हामीले पाँच वर्ष दुःख पाउँछौं भन्नुभएको हो?

म त त्यही देख्छु। जुनसुकै गठबन्धनले जितेछ भने पनि देशको जुन विविधता छ त्यसको सम्बोधन भएन भने संघीयताको कार्यान्वयन र दुई छिमेकी देशको भूराजनीति, त्यसबाट यो सम्बोधन र व्यवस्थापन हुन्छ जस्तो लाग्दैन।

 

स्थानीय तहको निर्वाचन भयो र प्रदेश र प्रतिनिधिसभाको  हुँदैछ। तर हामीसँग धेरै कुरा छैन। नेताहरुले प्लेटफर्म बनाएर कराइरहे तर जनताले दुःख पाइरहेका छन्।

त्यसैका निम्ति तीव्र आर्थिक वृद्धिको लक्ष्य राख्नुपर्छ। त्यसो हुन सक्यो र स्वदेशी विदेशी लगानी गरेर दशौं लाख रोजगारी सृजना गर्ने र उत्पादन बढाएर राज्यको ढुकुटी बढायौं भने समस्या सम्बोधन गर्न सक्छौं। दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि हासिल कसरी  गर्न सकिन्छ भन्ने नीति बनाउनुपर्छ। दलहरुको यसप्रति सोचाइ नै छैन। तर, उहाँहरु यो दिन्छु त्यो दिन्छु भन्नु हुन्छ। कसरी दिने? कहाँबाट ल्याएर दिने त? त्यतापट्टि केन्द्रित भएर काम नभएसम्म अशान्ति बढिरहन्छ। राजनीतिक दलका नेताहरु भ्रष्टाचार गर्ने, कमिशन खाने, चुनाव खर्च उठाउने अनि आफ्ना छोराछोरी अमेरिका, क्यानडा अष्ट्रेलिया पठाउने गर्छन्। देशमा तपार्इँ हामी जस्ता बूढाखाडा बाँकी रहन्छन्।

 

नयाँ शक्ति पार्टी चाहिँ चलाउन सक्नु भएन नि?

यो समय कस्तो पर्‍यो भने एक वर्षभित्रै हामीले तीन वटा चुनाव फेस गर्नुपर्‍यो। यति छिटो समयमा तीन वटा चुनाव फेस गर्नुपर्दा समस्या पर्यो। अनि पार्टीमा केही पाइन्छ भनेर आएका बूढापाकाहरु भागे। तर खुशीको कुरा के छ भने युवाको पार्टीमा आउने लहर चलेको छ। कांग्रेसपछि युवालाई उम्मेदवार बनाउने नयाँ शक्ति पार्टी हो।  अहिले हाम्रो एउटै लक्ष्य के भने राष्ट्रिय पार्टी बन्ने। यी दुई गठबन्धनबाट केही क्र्यास आउँछ, अनि दुई तीन वर्षपछि हामी ठूलो बन्नेछौं।


पार्टी चलाउन खर्च कहाँबाट ल्याउनुहुन्छ नि ?

मैले गर्न नसकेको त्यही छ। मैले जिल्ला जिल्लामा पैसा बाँड्न सकेको छैन। कतै ५० हजार, कतै २५ हजार रुपैयाँ दिएको छु। त्यसले के हुन्छ ?


व्यापारीलाई भन्नुभएन ?

हाम्रा व्यापारी स्वतन्त्र छैनन्। राज्यसँग नै कमिशन लिएर दिने गर्छन्। सत्तामा छँदा आफैं बुझाउन आउँथे तर अहिले फोन गर्दा फोन नै उठाउँदैनन्। त्यो पनि उहाँहरुलाई म दोष दिन्नँ। अर्थतन्त्र नै त्यस्तै भएपछि के गर्नु? क्रोनी क्यापिटालिज्म।



सत्तामा हुँदा पैसा लिएर आउँथे, अहिले फोन समेत उठाउँदैनन् : डा. बाबुराम भट्टराई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट