PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मनाङको चुनावी कुरुक्षेत्रः परिवार भर्सेस आफन्‍त



सविन ढकाल

मनाङको चुनावी कुरुक्षेत्रः परिवार भर्सेस आफन्‍त

मनाङः कतै दाम कतै नाम अनि कोहीले काम देखाएर भोट मागिरहेका खबर छरपस्ट छन्। तर, हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङमा उम्मेदवारले भोट माग्ने शैली फरक छ।

'जसको ठूलो पारिवारिक लर्को उसैको दिन फर्कियो' भन्ने उक्ति छ यहाँका उम्मेदवारहरुको।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका टेकबहादुर गुरुङ मनाङको राजनीतिक प्रतिस्पर्धा पारिवारिक पृष्ठभूमिभित्र भएको दाबी गर्छन्।

गुरुङ भन्छन् 'यहाँ चुनाव जसरी पनि जित्नुपर्छ भनेर आफन्तले नै उम्मेदवार बनाएर उठाउने गरेका छन्।'

प्रदेशसभामा स्वतन्त्रबाट उम्मेदवार बनेका दीपक मनाङे टेकबहादुर गुरुङका मामाका छोरा हुन्। त्यस्तै टेकबहादुरका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ पनि नातेदार पर्छन्।

मनाङमा आफन्तकै प्रतिस्पर्धा हुने पोल्देन पनि स्वीकार गर्छन्।

पोल्देन भन्छन् 'मनाङमा सबै आफन्त र परिवारभित्रकै लडाईँ हो। जनता र आफन्तले जसलाई मन पराउँछन त्यसलाई नै भोट दिन्छन्।'

अहिले सबै उम्मेदवार आफन्त र इष्टमित्रलाई आधार बनाएर चुनावी कुरुक्षेत्रमा होमिएका छन्। प्रदेशसभाका स्वतन्त्र उम्मेदवार दीपक मनाङे आफ्नो पारिवारिक लर्को लामो भएकाले जीत सुनिश्चित भएको दाबी गर्छन्।

उनी भन्छन् 'बाजेको पाँचवटी दिदी-बहिनी, पाँच वडामा विवाह गरेर गएका छन्। मलाई कसैले हराउन सक्दैन।'

५ हजार मतदातामध्ये ६० प्रतिशत जिल्ला बाहिर नै छन्।

 

टेकबहादुर गुरुङः दीपक स्वतन्त्र उम्मेद्वार होइन

दीपक मनाङे र टेकबहादुर गुरुङ नाताले दाजुभाइ भए पनि अहिले दुबै जना चुनावी मैदानमा छन्। मनाङे प्रदेशसभा र गुरुङ प्रतिनिधिसभा उम्मेदवार।

मनाङमा अहिले दुबैको चर्चा खुबै चलेको छ। टेकबहादुर मनाङेलाई पारिवारिक लडाईँका लागि उम्मेदवार बनाएको दाबी गर्छन्।

टेकबहादुर भन्छन् 'सुरुमा हाम्रो पार्टीबाट उठ्छु भन्दै आएका थिए। मैले भनेको थिएँ तिम्रो छवि सुधार गर हाम्रो पार्टीकै हौँ पछि टिकट दिन्छौँ भनेको । तर, दीपक राप्रपा हुँदै एमाले र स्वतन्त्र उम्मेदवार बने।'

मनाङे चुनावमा उठ्दा केही फरक नपर्ने गुरुङ बताउँछन्। 'दीपक मनाङे उठ्दा केही फरक पर्दैन। पहिले जति भोटर थिए अहिले पनि त्यति नै छन्। जित्ने हामीले नै हो। ऊ मनाङमा आएपछि पुरानै शैली देखाउन थालेको छ।'

आफ्नो नातेदार भएकाले उसको सुरक्षाका लागि दावी विरोध नगरेको गुरुङ बताउँछन्।

२०७० सालको संविधानसभा निर्वाचनमा मनाङबाट सांसद् बनेका गुरुङ अहिलेको निर्वाचनमा आफू विजय भए मनाङमा जलविद्युतदेखि पर्यटनको विकास गर्नेसम्म एजेण्डा लिएर घरदैलोमा भोट माग्दै पुग्ने गरेका छन्। सडक विस्तार, अन्नपूर्ण पदमार्ग र तिलिचो ताललाई पर्यटकीय क्षेत्र बनाउने, पशुपालन र पस्मिना व्यवसायमा जोड दिने गुरुङका योजना छन्।

 

दीपक भन्छन्: पोल्देन कुरुक्षेत्रका कृष्ण

दीपक मनाङेका हातमा दुई वटा चुनाव चिह्न छन्। मनाङेको चिह्न 'बालक' र पोल्देन छोपाङको चुनाव चिह्न सूर्य दुवै उनका हातमा छन्। दीपक र पोल्देन सँगसँगै भोट माग्दै हिँडेका छन्। जिते दुबै जित्ने हारे दुबै हार्ने उनीहरुको योजना नै छ।

दीपक आफूले केही समयदेखि मनाङको कुरुक्षेत्रमा पोल्देनलाई कृष्णको रुपमा देख्न थालेको दावी गर्छन्। प्रतिनिधिसभा उम्मेदवार बनेका पोल्देन आफूले टिकटको दावी नगरेको तर गाउँ र आफन्तको चाहनाले उम्मेदवार बनेको बताउँछन्।

मनाङे आफू राजनीतिज्ञभन्दा पनि समाजसेवी भएको बताउँछन्। भन्छन् 'यो राजनीति गर्न समाजसेवा गर्नभन्दा गाह्रो रहेछ। तर जनताको साथ देखेर म खुसी छु। केही गर्नु पर्छ भन्ने लागेको छ।'

कांग्रेसले २० वर्षदेखि जिते पनि केही नगरेको आरोप मनाङेको छ। अहिलेको समय विकासको समय भएको उनी बताउँछन्। विकास गर्ने अब एमाले मात्र भएको उनको दावी छ। उनी आफ्ना एजेन्डा विकास मात्र भएको दावी गर्छन्।

 

यो पनि पढ्नुस्: नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो : दीपक मनाङे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell