PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र सञ्चालनमा



रासस

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र सञ्चालनमा

भक्तपुर : भक्तपुर नगरपालिका-८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ।

वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई सहज खानेपानी वितरण गर्ने उद्देश्यले गुठी नामक संस्थाको सहयोगमा केन्द्र निर्माण भएको हो।

लिवाली गणेश भूकम्पपीडित पुनःस्थापना केन्द्रको बासिन्दाका लागि निर्माण गरेको आकाशे पानी संकलन गर्न उक्त संस्थाले १७ लाख चार हजार ३७० सहयोग उपलब्ध गराएको थियो।

अकाशे पानी संकलनका लागि स्थानीयले आठ लाख व्यहोरेको केन्द्रका अध्यक्ष नारायणप्रसाद खाइतुले बताए। त्यस्तै काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको ७ लाख ५० हजारको सहयोगमा पानीलाई शुद्धीकरण गरेर पिउन योग्न बनाउन दुईवटा फिल्टर प्लान्ट जडान गरेको बोर्डका निर्देशक राजीव जोशीले जानकारी दिए।

प्राप्त रकमबाट एक लाख लिटरको ट्याङ्की तथा इनार निर्माण गरेर भूकम्पपीडित बस्तीका ३० वटा टहराको छानोबाट आउने आकाशे पानीलाई संकलन गरी ट्याङ्कीमा पानी जम्मा गर्ने र पानी नपर्ने मौसममा बस्तीमा रहेको इनारको पानी तानेर ट्याङ्कीमा जम्मा गरी बस्तीमा दैनिक खानेपानी वितरण गर्ने व्यवस्था गरिएको गुठीका संयोजक प्रकाश अमात्यले बताए।

बस्तीमा तीन वटा धारो राखिएको छ भने यहाँको पानीले भूकम्पपीडित बस्तीको ६० घर परिवार र स्थानीय ९० घरपरिवार गरी १५० घरपरिवार लाभान्वित भएका छन्। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त प्रणालीको मंगलबार शुभारम्भ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell