PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केपी ओली कालभैरव हुन् र डराउनु : ओलीसँग उत्रिएका कांग्रेस उम्मेदवार



स्वेच्छा राउत

केपी ओली कालभैरव हुन् र डराउनु : ओलीसँग उत्रिएका कांग्रेस उम्मेदवार

झापा: अहिलेको चुनावी माहौलमा सबैभन्दा सुरक्षित नेता कोही छ भने ती केपी ओली नै हुन्। उनको जितमा प्रश्न उठाउने मानिस भेटिनै मुस्किल छ। तर, तिनै सुरक्षित भनिएका ओलीसँग चुनावी संग्राममा छन् नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारी। जिल्ला झापा, निर्वाचन क्षेत्र ५।

राष्ट्रिय राजनीतिको शिखरमा रहेका केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका यिनी त्रिभुवन विश्वविद्यालयमा पढाउँदै आएका थिए। अवकाशअघि पेशा त्यागेर राजनीतिमा होमिएका अधिकारीको कांग्रेस राजनीति पनि कलिलै छ। उनकै शब्दमा - 'म २०५८ सालदेखि नेपाली काङ्ग्रेसमा छु, सक्रिय कार्यकर्ताको रुपमा। अब जनताको बन्न चाहन्छु।'


 

विद्यार्थी जीवनमा नेकपा मालेबाट राजनीतिमा पाइला टेकेका उनी त्यसकै माउ पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्दैछन्। मालेबाट राजनीति यात्रा सुरु हुनुलाई 'भावना'को दोष मान्छन् उनी। 'तर राजनीतिक चेतना विकाससँगै मैले नेपाली काङ्ग्रेसका लागि क्षमता अनुसार योगदान पुर्‍याएको छु,' उनले भने, 'पार्टीले राजनीतिको साधारण व्याकरणमात्र बुझेको मान्छेलाई टिकट दिएको होइन। यति कुरामा सबै मिडिया र जनता प्रष्ट हुन आवश्यक छ।'

विश्वविद्यालयमा रहँदा पनि उनी कांग्रेसको राजनीतिमा जोडिइरहे। '२०६७ सालको महाधिवेशनमा प्रतिनिधिको लागि मत बराबर भएपछि गोलाप्रथाबाट पराजित भएको हुँ। तर, १३ औं महाधिवेशनमा सर्वाधिक बहुमतका साथ म नै प्रतिनिधि चुनिएँ। पार्टीको लागि केही योगदान नभई मत र मन कसरी जित्थें?,' उनले आफ्नो राजनीतिक सक्रियताको दावी गरे।

स्थानीय निर्वाचनमा एमालेको अग्रता र त्यसमाथि पनि केपी ओलीजस्तो हेबिवेटसँगको सोझो प्रतिस्पर्धा। झापाका हाइ प्रोफाइल उम्मेदवार ओलीसँगको चुनावी मैदानमा डराएका हुन्?

मुसुक्क मुस्काए उनी।

उल्टै प्रश्न गरे, 'तपाईंलाई म पनि ओलीजीसँग डराउँछु जस्तो लाग्छ?'

'त्यही त सोध्न खोज्दै थिएँ। डर लागेको छैन?'

अधिकारीको जवाफ सरल लाग्छ।

भने, 'के केपी ओली उन्मत्त कालभैरव जस्ता छन्? कि उनको रुप यमराजको जस्तो सिङ, दाह्रा पलाएको, काँडा भएको दण्ड बोक्ने जस्तो छ? उनी त सामान्य देखिन्छन् म किन डराउनु?'

ठट्यौली पारामा भन्छन्, 'मलाई डर त जनताको पो छ। मैले भनेको कुराहरु जनताले नबुझ्ने डर र जनताले भन्न खोजेको कुराहरु मैले नबुझ्ने डर।'

चुनावी मैदानमा उत्रिएका कुनै पनि उम्मेद्वारले आफ्नो प्रतिद्वन्द्वीलाई हराउँछु भन्नु स्वभाविक हो। खगेन्द्र अधिकारीले पनि जित निश्चित भएको सुनाए।

भने, 'झुटा आश्वासनमा विश्वास गर्न बाध्य जनताको लागि विकल्प थिएन। अब त जनताले आफ्नो क्षेत्रको लागि बौद्धिक तथा सक्षम व्यक्ति छान्ने बेला भएको छ। जहाँ गफ होइन पूरा हुने योजनाहरु जनतासँग मिलेर बनाइन्छ।'

ओलीका योजनालाई उनले हावादारी भएको संकेत गरे। त्यसैले डर केपी ओलीलाई लाग्नुपर्ने उनको जबरजस्त तर्क छ। २०४८ सालमा केपी ‍ओलीले रतुवा, मावा खोलाको 'पाता फर्काउँछु' भनेको प्रसङ्ग जोडे। 'बरु खोलाको बाढीले पो जनताको पाता फर्कायो। अब २१ गते जनताले उहाँको पाता फर्काउँछन्,' उनले भने।

केपी ओली नेकपा एमालेका अध्यक्ष र वामपन्थी गठबन्धनका फोकल पोइन्ट। उनी महाधिवेशन प्रतिनिधिमात्र। यही एउटा मात्र भिन्नता आफूहरु बीच रहेको अधिकारीले महसुस गरेका छन्। ओलीको उमेरका व्यक्तिहरुलाई आफूले करिब १८ वर्ष पढाएका कारण अलिकति पनि नहच्किएको उनको भनाई छ। 'वौद्धिक कोही भएको खण्डमा मैले सोच्नु पर्थ्‍यो। तर, उहाँले बोल्ने तरिका र शब्दहरुले मैले सुन्दै आएको छु। तर्क राख्नुहुन्न, व्यङ्ग्य गर्नुहुन्छ। प्रतिवद्दता गर्नु हुन्छ पूरा गर्नुहुन्न। यस्तोमा जनताले अवश्य काम गर्न सक्ने व्यक्ति खोजेका छन्। म उहाँहरुले खोजेको व्यक्ति हुँ,' अदवका साथ दावेदारी पेश गरे उनले।

ओलीको बोल्ने तरिका र अभिव्यक्तिहरुसँग उनी निकै असन्तुष्ट छन्। अन्तर्वार्ता र भाषणहरुमा केपी ओली बोल्दा अधिकारीलाई निकै अप्ठ्यारो लाग्ने बताए। उनले त ओलीलाई 'टुक्का शिरोमणि'को तक्मा दिए। भाषण र अभिव्यक्तिमार्फत् जनता हसाउनुभन्दा जनतालाई खुशी बनाउन सक्नु एउटा नेताको कर्तव्य रहेको उनको ठम्याइ छ। भने, 'आफ्नो ठाउँ बिर्सिएर बोल्नु हुँदैन। उच्च तहमा पुगेको व्यक्तिले आफ्नो बोलीको स्तरमा ध्यान दिनु पर्छ ता कि सुन्नेलाई पनि लाज नलागोस्।'

केही सोचे। अनि थपे, 'म त सक्दिन त्यस्तो बोल्न। जनताको आवश्यकता पूरा गर्ने जिम्मेवारी लिएपछि बोली व्यवहार सबैमा गाम्भीर्यताको आवश्यकता पर्छ नि होइन र? तर ओलीजी त मनोज गजुरेललाई माथ खुवाउनतिर लाग्नु भएको छ।'

खगेन्द्र अधिकारीले जनता झुक्याउन 'कम्युनिस्ट' नाम प्रयोग गरेको र आफ्नो पद र राजनीति जोगाउन गठबन्धनको खेल खेलेको आरोप समेत लगाउन भ्याए।

'यो देश जोगाउन गरिएको गठबन्धन होइन। यहाँ भित्र पार्टीको नाममा उद्योग, धन्दा, व्यवसाय गरिन्छ। नाम कम्युनिस्ट तर व्यवहार नव सामन्तको जस्तो भैरहेको छ,' उनले भने।

उनको बुझाइ अनुसार कम्युनिस्टको अस्थिरता राष्ट्र विकासको बाधक हो। र, यस्तोमा जनताले प्रजातान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक छ। उनीसँग वामपन्थी गठबन्धनले उब्जाएका केही प्रश्नहरु पनि छन् जसलाई उनी जनताको जिज्ञासाको रुपमा प्रस्तुत गर्छन् :

पहिलो प्रश्न केपी ओलीलाई: बहुदलीय जनवाद भनेर जनताको मत जित्नु भयो। आफू स्थापित हुनु भयो अनि अहिले किन साम्यवादको गोरेटोमा छौं भन्दै हिड्नुहुन्छ? अब जनताको बहुदलीय जनवाद त्याग्नु भएको हो?

दोस्रो प्रश्न प्रचण्डलाई: अन्तत: एमालेमा समाहित हुनु नै थियो भने आशा देखाएर बेरोजगार युवालाई क्रान्तिमा किन होमेको? केही न केही त पाउँला भनेर युवाहरु पढाई, परिवार छोडेर हिँडे। युद्धले देशलाई पछाडि ढकेल्यो। अर्थतन्त्र डामाडोल बनायो। अब ती कार्यकर्ता, ती सहिद परिवारलाई के जवाफ दिनुहुन्छ जब एमाले नै बन्नु थियो भने यतिधेरै गुमाउने काम किन गरेको?

ओली र अधिकारी एउटै क्षेत्रको भएर पनि यी दुईबीच ‍औपचारिक भेट भने भएको छैन।

'पर परबाट देखादेख भने भएको छ। त्यसैले आफै प्रश्न सोध्न पाएको छैन,' उनी उत्साही हुँदै थप्छन्, 'अब ओलीजीसँग चुनावमा जम्का भेट हुनसक्छ र मत परिणामपछि मलाई बधाई दिन आउनु हुँदा हात नै मिलाउँछौं।'

यति विश्वस्त रहेका डाक्टर अधिकारी आफू 'जसरी भए पनि' होइन 'सहजै' ओलीलाई हराउने दावी गर्छन्। त्यसैले न तडक भडक न ठूला ठूला कार्यक्रम। घरघर पुगेर जनताहरुलाई एउटा ल्वाङ वा एउटा सुकमेल दिएर भोट माग्ने शैली लिएका छन्।

'मसँग पैसा छैन। पार्टीले दिएको दुई लाख र साथीभाइहरुले १०, १५, २० हजार गर्दै पुर्‍याएको आर्थिक सहयोगले प्रचार प्रसारको काम सक्काउँछु,' उनले कार्यकर्ता र समर्थकलाई खाजा, खाना, सवारी लगायतमा १२ देखि १५ लाखसम्म खर्च हुने अनुमान लगाएका छन्।
 

अधिकारीलाई एउटै चिन्ता छ – हिजो सँगै भ्रष्टाचारविरुद्ध नारा लगाउँदै हिड्नेहरु मैले भोट माग्दा दिएको ल्वाङ्, सुकमेल देखेर पछि हट्ने पो हुन् कि? किनकि हामीले समाजलाई त्यस्तै बनाएका छौं। मान्छेको व्यवहार अनुकुलता अनुसार फेरिन्छ। अधिकृत र प्राध्यापकबीचमा छोरी दिँदा अधिकृत रोज्छन् भने घरमा डेरा दिँदा प्राध्यापक। यस्तो बीच पनि स्वस्थ वातावरणमा धाँधलीरहित निर्वाचन हुने र आफूलाई जनताले चुन्ने कुरामा दुई मत नभएको उनको दाबी छ।

'तर जित्ने नेपाली काङ्ग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीले नै हो। जो जितेर सांसद हुन्छ', उनले दोहर्‍याए।

पहिले प्रचण्ड, बाबुराम भट्टराईले बोल्दा 'वायु बोल्यो' भन्ने आरोप लाउने केपी ओली अहिले प्रचण्डसँगको गठबन्धनलाई डरको संज्ञा दिन्छन्।

अहिले उनीनै वायु बोले जसरी हिँडेको भन्दै एकछिन् हाँसे। र, भने, 'ओली त आफ्नो प्रतिस्पर्धी नै छैनन् भन्नु हुन्छ। यो उहाँको डराएको मानसिकता बोलेको हो।'

जनता दण्ड दिन तयार रहेकाले डर कायम राखेर सचेत रहन उनले ओलीलाई सुझाव पनि दिए। भन्छन्, 'एक लाख ३७ हजार ५६२ मतदाता छन्। जसमध्ये ९५ हजार मतदान हुन्छ होला। ती मतदातालाई मैले देउता मानेर पूजेको छु। अब ममाथि उहाँहरुको आशिर्वाद रहला नि।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell