PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कास्की– १ मा बहालवाला र पूर्व मन्त्रीबीच प्रतिस्पर्धा



पहिलोपोस्ट

कास्की– १ मा बहालवाला र पूर्व मन्त्रीबीच प्रतिस्पर्धा

पोखरा :  मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नं १ मा बहालवाला मन्त्री र पूर्वमन्त्री बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

नेपाली कांग्रेसकातर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा र वाम गठबन्धनबाट नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ। 

मन्त्री थापाको उम्मेदवारी यो क्षेत्रबाट तेस्रो पटक हो। उनी एक पटक विजयी तथा एक पटक तेस्रो स्थानमा रहे। उनी २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका मानबहादुर जिसीलाई २७३ मतले पराजित गर्दै निर्वाचित भएका थिए भने २०६४ मा १४ हजार २९३ मत ल्याई तेस्रो स्थानमा रहे। 

पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका देव गुरुङ १७ हजार ४०९ मत ल्याई विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका खगराज अधिकारीले १४ हजार ८८६ मत प्राप्त गरेका थिए।  

वाम गठबन्धनका उम्मेदवार अधिकारी पाँचौ पटक उम्मेदवार बनेका हुन्।उनी एक पटक विजयी भएका छन् भने तीन पटक पराजित भएका छन्। विसं २०४८ मा कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटसँग एक हजार ७३३ मतले पराजित भएका अधिकारीले २०५१ मा रानाभाटलाई एक हजार २५१ मतले पराजित गरेका थिए। 

विसं २०५६ मा अधिकारी कांग्रेसका रानाभाटसँग तीन हजार ८०३ मतले पराजित भएका थिए भने २०६४ मा माओवादी केन्द्रका देव गुरुङसँग दुई हजार ५२३ मतले पराजित भएका थिए। 

अधिकारी र थापामध्ये कसले जित्छ भन्नेमा कौतुहलता बढ्दै गएको छ । झण्डै ३६ वर्षअघि यी दुई नेता पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत रहँदा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रतिस्पर्धा गर्थे। थापा नेपाल विद्यार्थी संघ र अधिकारी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेताको रुपमा राजनीति गर्थे। 

कास्की क्षेत्र नं १ मा १३ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्लाका दुई लाख ५५ हजार ४५२ मतदातामध्ये यस क्षेत्रमा सबैभन्दा बढी ९६ हजार ८४ मतदाता छन्। प्रदेशसभा (क) मा ५० हजार २८९ तथा (ख) मा ४५ हजार ७९५ मतदाता रहेका क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell