PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

अमेरिकी डिभीले मोक्तानलाई यसरी पुर्‍यायो प्रहरी हिरासतमा

अमेरिकी डिभीले मोक्तानलाई यसरी पुर्‍यायो प्रहरी हिरासतमा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : अमेरिका जाने सपना बोकेर सिन्धुली तीनपाटन ४ का ३५ वर्षीय रुद्रबहादुर मोक्तानले अघिल्लो वर्ष डिभी चिट्ठा भरे। 
मोक्तानको भाग्य एकाएक चम्कियो, चिट्ठा पर्‍यो।

लाखौँ आवेदनबाट छानिएका मोक्तानको खुसी एकाएक दुःखमा परिणत भयो। कम्तिमा प्लस टु उत्तीर्णले मात्र डिभी भर्न पाउने नियम छ। तर भर्दाखेरी प्रमाणपत्र नमागिने हुनाले जसले पनि भरेका हुनसक्छन्। मोक्तानले त्यसै गरेका थिए। उनीसँग हातमा प्लस टु पासको कुनै सर्टिफिकेट थिएन। 

मोक्तानलाई भाग्यले साथ दिएपनि उनको कर्म र विद्याले भने साथ दिएको थिएन। त्यसपछि अमेरिका जाने सपनाले मोक्तानलाई गलत बाटोतर्फ डोर्यामउन थाल्यो। मोक्तानले नक्कली सर्टिफिकेट बनाउने निर्णय गरे।

यसै क्रममा उनको भेट  काभ्रेका ३० वर्षीय देवराज योञ्जनसँग भयो। योञ्जनले ३ लाख ५० हजार रुपैयाँ दिए प्लस टु लेभलका सबै सर्टिफिकेट बनाइदिने वचन दिए। अमेरिका जाने सपना देखिरहेका मोक्तान मागेको रकम तिर्न तयार भए।

योञ्जनले सर्टिफिकेट बनाउने जिम्मा सेक्युरिटी लाइफ कन्सल्टेन्सीमा काम गर्ने अनिल श्रेष्ठलाई सुम्पिए। श्रेष्ठले सर्टिफिकेट बनाए बापत ४५ हजार मागे।

अनिलले पनि सर्टिफिकेट आफै बनाएनन्। उनले ३० हजार दिएर सत्य विनायक कम्युनिकेशनका संचालक विशालजंग शाहीलाई दिए। १८ हजार रुपैयाँ आफैसँग राखेर विशालले यो जिम्मेवारी सुरेश शाहीलाई सुम्पिएका थिए। सुरेशले  ५ हजार ५ सयमा सर्टिफिकेट बनाएर रुद्रबहादुर मोक्तानलाई बुझाए।

मोक्तानको हातमा प्लस टु सर्टिफिकेट हात पर्‍यो। उनको अमेरिका जाने सपना पूरा हुँदै थियो। उनले अमेरिकी दूतावासमा कागजपत्र बुझाए। केही समयमा उनको हातमा डिभीको सेकेन्ड लेटर समेत हात पर्‍यो।

मोक्तान अमेरिका जाने सपना बुन्दै थिए। सोमबार एक्कासी उनी प्रहरीको फन्दामा परे। महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तेको अभियोगमा मोक्तानसहित ८ जनालाई पक्राउ गरेको हो। 

सरकारी कागज कीर्ते गरेको अभियोगमा गिरोहलाई नै नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएपी दिवेश लोहनीले बताए।

मोक्तानसँगै अमेरिकाको डिभी परेर प्लस टुको नक्कली सर्टिफिकेट बनाएको अभियोगमा ताप्लेजुङका ३८ वर्षीय भवानीप्रसाद भट्टराई पनि प्रहरी हिरासतमा छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell