PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा



पहिलोपोस्ट

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

पोखरा :  कास्कीमा झण्डै ११ महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन्। गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया सुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन्। बीमा दर्ता गरेबापत तीन करोड ७० लाख रुपैयाँ संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए। 

बीमा दर्ता गराएका २५ हजार २०० जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले दुई करोड ५० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

विसं. २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम सुरु भएको हो । बीमा दर्ता गरेका सदस्यले कास्कीका दश सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ प्रकारका विविध उपचार सेवा पाइरहेको भट्टराईले बताए। 

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्। 

जिल्लामा हाल १०७ जना बीमा दर्ता सहयोगी एउटा महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन्। पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार ५०० रुपैयाँ योगदान रकम बुझाउनुपर्नेछ। परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ४२५ रुपैयाँका दरले थप रकम बुझाउनुपर्ने छ।

सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक ५० हजार तथा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यबापत १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा एक लाखसम्म कायम गरिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell