PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बडीखेलका मतदाताले राज्यमन्त्री उदयशम्शेरलाई सोधे, 'खै खानेपानी, खै सार्वजनिक यातायात?'

बडीखेलका मतदाताले राज्यमन्त्री उदयशम्शेरलाई सोधे, 'खै खानेपानी, खै सार्वजनिक यातायात?'

नेत्र तामाङ/पहिलोपोस्ट


गोदावरी : सोमबार बिहान दस बजे गोदावरी नगरपालिकाको वडा ४ मा स्थित बडिखेलबाट उदय शम्शेर राणाले आफ्नो घरदैलो अभियान गरे।
अर्थ राज्यमन्त्री र ललितपुर-१ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार  रहेका राणालाई बडीखेलमा रहेको मितेरी पुलमा जम्मा भएका कार्यकर्ताले टीका र खादा लगाई दिएपछि कोणसभा भयो।

कोणसभामा कांग्रेस जिल्ला सदस्य वशिष्ट अधिकारीले मन्तव्य राखेपछि उम्मेदवार राणाले आफूले यस क्षेत्रमा गरेको विकासको फेहरिस्त प्रस्तुत गरे।

त्यसलगत्तै राणासहित प्रदेश ख का कांग्रेस उम्मेदवार  ऋषिराम घिमिरे, प्रदेशतर्फका समानुपातिक उम्मेदवार सानुकान्छा मोक्तान, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीका साथ देब्रेतिर रहेको उकालो उक्ले।

बाँसको झ्याङैझ्याङ भएको बाटो हुँदै नमस्कार गर्दै राणा अघि बढे। 

केही पर घुम्ती बाटोको अलि माथि सेतो घरको दैलोमा पुगेर राणाले एक आधवैशेलाई नमस्कार गर्दै भने, 'नमस्कार म उदय शम्शेर राणा मलाई सहयोग गर्नुहोला। केही समस्या भए भन्नुहोला।'

सेतो घरका कोठे सर्ट लगाउने आधवैशे भुवन चालिसे रहेछन्। उनी पनि के कम, 'राणासँग हात मिलाउँदै समस्यै समस्यै छ हजुर, सार्वजनिक यातायात छैन, खानेपानी छैन, यो मेरो नीजि समस्या हैन, सार्वजनिक समस्या हो।' राणासँग हात मिलाउँदै उनले भने।

'हुन्छ हुन्छ म यसबारे बुझेर समाधान गरौला,' यति भन्दै राणा पनि बिदा भए।

चुनावी जुलुस नारा लगाउँदै सडक हुदैं लम्किरहेको थियो। जुलुसको बीचबाट धुलो उडिरहेको थियो। छेवैमा एकजनाले नाक खुम्च्याउँदै 'धुवाँधुलो भएको यो बाटो पिच गरिदिए आनन्द हुन्थ्यो', भनिरहेका थिए। 

उनी नजिकै भेटिए बडिखेलकै उत्तम खरेल। खरेलले भने खानेपानी र फोहोर व्यवस्थापनको समस्या उठाए। उनले भने, 'खानेपानीको समस्या छ, फोहोरमैलाको व्यवस्थापन भएको छैन।'

राणा भने विकासका कुरामा आफू कुनै पनि तरिकाले पूरा गर्ने भन्दै अघि बढे।

टीका लगाउदै केहीले भने, 'अर्कोपटक फर्किदाँ  चिनिनँ नभन्नुहोला।'

आफू गाउँघरमा फर्केर आइरहेको र अझै आइरहने स्पष्टीकरण दिदैं मुस्कान छाडे राणाले।

केही तल पुगेपछि एकजना वृद्धले मखमली फूल दिदैं आफ्नो माग सुनाए, 'मखमली जस्तै रहनु, मेरो एउटा कुरा सुनिदिनुहोला सडकको नाम कञ्चन मार्ग राखिदिनुहोला।'

राणा हसहस भन्दै बिदा भए। 

मतदाताको मागबारे राणाले पहिलोपोस्टसँग प्रतिक्रिया दिदै भने, 'बाटोमा बजेट परिसकेको छ। विकासमा केही राजनीति हुनाले केही ढिला भएको हो। यहाँ समन्वय भइसकेको छ सार्वजनिक यातायात ठुलो कुरै हैन। यो पुरा हुन्छ। भूकम्पले पानीको मुल सुकेकोले समस्या भएकै हो। बडीखेल र झरुवारासीमा पानीको समस्या हो। बडीखेलको समस्या व्यवस्थापन नभएर हो। अब व्यवस्थापन हुन्छ।'

१२ दिन अघिबाट घरदैलो अभियानमा रहेका राणा दलचोकी शंखु, इकुडोल, भट्टेडाँडा, माल्टा, प्युटार, आश्रङ, देवीचौर, भारदेउ, टीकाभैरव पुगिसेकेको राणाका स्वकीय सचिव ज्ञानबहादुर लोप्चनले बताए।

दिउँसो करिब १२ बजे जुलुसलाई व्यवस्थापन गरेको खाना खाएसँगै राणाले वडा ४ को घरदैलो टुंग्याए।


 


ट्रेन्डिङ पोस्ट

Ncell