PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीले भने, 'नेपाली पञ्चायतसँग लड्दा शेरबहादुरजी लन्डनका गल्लीमा पाउरोटीमा जाम दल्दै हुनुहुन्थ्यो'



अनन्तराज न्यौपाने

ओलीले भने, 'नेपाली पञ्चायतसँग लड्दा शेरबहादुरजी लन्डनका गल्लीमा पाउरोटीमा जाम दल्दै हुनुहुन्थ्यो'

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले हेप्यो भने मेलमिलाप नहुने चेतावनी दिएका छन्।

‘हेपाइमा मेलमिलाप हुँदैन’, विराटनगरको शान्ति चौकमा आयोजित सभामा अध्यक्ष ओलीले भने, ‘मेलमिलाप बराबरीमा हुन्छ । हामी भारतसित बराबरीको हैसियतमा सम्बन्ध सुधार्छौं । हामीले लत्रनुपर्ने आवश्यकता छैन ।’

नेपाली काङ्ग्रेसको नेतृत्वमा सत्ता भएका बेला भारतसित सम्बन्ध बिग्रिएको र नाकाबन्दी भएको आरोप लगाउँदै अध्यक्ष केपीले आफू प्रधानमन्त्री भएपछि नाकाबन्दी खुलेको र सम्बन्ध पनि सुध्रेको स्पष्ट पारे ।

‘यसका लागि पनि केही समय पर्खनुपर्‍यो किनभने काङ्ग्रेसले धेरै चाकडी गरेर बानी बिगारिसकेको थियो’, ओलीको कथन थियो, ‘कहिले हात मोल्या छ, कहिले घूँडा टेक्याछ, कहिले गिडगिडाएको छ। अनि हेप्तैन ? त्यसैले अलिकति समय लाग्यो।’

भारतको उदाहरण दिँदै ओलीले विदेशमा जन्मिएर नेपालमा अङ्गीकृत नागरिकता भएकाले मुलुकको शासनसत्तामा बस्न नपाउने आफ्नो अडान दोहोर्‍याए।

‘सोनिया इटलीमा जन्मेकी भनेर भारतको प्रधानमन्त्री हुन नदिइएको होइन ? मोदीका पुराना भाषणहरू युट्युबमा हेर्नूस्’, ओलीको आग्रह थियो, ‘विदेशमा जन्म लिएकाले यहाँको क्याबिनेटमा बस्न मिल्दैन र सरकारका गोप्य फाइल हेर्न पाइँदैन भनेर मोदीले नै भनेका होइनन्?’

‘यहाँ त आइपुग्न पाएको छैन, मन्त्रीको कुर्सीमा पुगिहाल्छन्, यसरी कति बुहारी मन्त्री भइसके !’, हाँसो उत्पन्न गर्दै ओलीले बताए, ‘भारतमा बिहा गरेर गएको ७ वर्षपछिमात्र नागरिकताका लागि निवेदन पाइन्छ । निवेदन नै ७ वर्षपछि, पाउनु कहिले हो कहिले ? यहाँ चाहिँ आएको छैन नागरिकता तयार छ । एकातिर दुलाहा सिन्दुर हाल्दैछन् अर्कातिर सिडिओ साब नागरिकताको प्रमाणपत्रमा सही गर्दैछन् । यस्तो सजिलो छ ।’

राजपाले अर्को मुलुकलाई खुशी पार्न आफ्नो पार्टीको झन्डा पनि त्यही मुलुकको जस्तो बनाएको उनको प्रतिक्रिया थियो ।

साथै आफ्नो मातृभाषा मैथिली भए पनि त्यस पार्टीका नेताले मैथिली नबोलेको र अर्को मुलुकलाई खुशी पार्न हिन्दी भाषा बोल्ने गरेको उनको टिप्पणी थियो ।

ओलीले बिपी कोइरालाको समाजवादलाई नेपाली काङ्ग्रेसले बिर्सिएको र परित्याग गरेको आरोप लगाए ।

‘तैपनि केही इमानदार कार्यकर्ताका मनमा अझै समाजवादप्रति आस्था रहेछ, उनीहरू समाजवाद शब्द भएको गीत आफ्ना कार्यक्रममा बजाउँदा रहेछन्’, ओलीले व्यङ्ग्य गर्दै भने, ‘अनि त्यहाँ काङ्ग्रेसका नेता आइपुगे भने यो कम्युनिस्टको गीत किन बजाएको भनेर हप्काउँदा रहेछन् ।’

वामपन्थीले सरकार बनाए भने लोकतन्त्र खतरामा पर्छ र अधिनायकवाद ल्याउँछन् भन्ने काङ्ग्रेसको आरोपको खण्डन गर्दै ओलीले २०४६ सालको आन्दोलनमा अहिलेका प्रधानमन्त्री कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न गरे ।

‘नेपाली जनता पञ्चायतको लाठी र गोलीसित लड्दै थिए’, केपीको आरोप थियो, ‘नेपालबाट भागेर शेरबहादुरजी लन्डनका गल्लीमा पाउरोटीमा जाम दल्दै हुनुहुन्थ्यो । महेशजी जर्मनीमा पढ्दै हुनुहुन्थ्यो । डाक्टर रिजाल पनि विदेशतिरै हुनुहुन्थ्यो । आन्दोलन सफल भएपछि सत्ताको स्वाद लिन उहाँहरू आउनु भयो । हामीलाई थाहा छैन ?’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell