PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अयोधीलाई अनुपराजको प्रश्नः बदर मत घटाउन के गरिरहनुभएको छ ?



पहिलोपोस्ट

अयोधीलाई अनुपराजको प्रश्नः बदर मत घटाउन के गरिरहनुभएको छ ?

काठमाडौँ :  निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्रस्थितिको विषयमा छलफल भएको छ। 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा आएको आयोगका पदाधिकारीसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचार संहितालागयतका विषयमा जानकारी लिएको हो। 

सो अवसरमा दुवै आयोगतर्फबाट गरिएको निर्वाचन आकलन र तयारीकाबारे छलफल हुनका साथै मानव अधिकार आयोगको तर्फबाट आचारसंहिता उलंघन तथा चुनाव प्रचारप्रसारमा भएगरेका, देखेका र आकलन गरिएका विषयमा प्रस्तुतिसमेत भएको थियो। 

आयोगका अध्यक्ष शर्माले निर्वाचनबारे मुख्य चासो र सरोकार रहेको विषय सुरक्षा अवस्था फितलो देखिएको जनाउँदै मतपत्रको संरचना हेर्दा आगामी निर्वाचनमा मत बदर हुने सम्भावना कम देखिए पनि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका थिए। 

सुरक्षा व्यवस्थाको उचित ढंगबाट सम्बोधन नभए ज्यानको जोखिम राखेर मतदाता मतदान गर्न नआउने सम्भावनालाई सच्याउन के–कस्तो व्यवस्था मिलाइएको छ भनी जिज्ञासा राख्दै शर्माले बदर मत प्रतिशत घटाउन कुन तरिकाबाट मतदाता शिक्षा अघि बढाइएको छ भनी प्रश्न गरेका थिए। 

आगामी निर्वाचनको अनुगमनका लागि आयोगले दुई सय भन्दा बढी जनशक्ति खटाउने जानकारी गराउँदै अध्यक्ष शर्माले भने,‘नेपाली जनताको भाग्य निर्माण र स्थिर सरकार दिने विषय भएकाले सानोतिनो घटनाबाट त्रसित नभइ निर्भिक भएर मतदानमा सहभागी हुन आयोगकोतर्फबाट आम मतदातलाई आग्रह गर्दछु।’

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा प्रविधिको (भोटिङ मेसिन) को प्रयोग गर्ने सिलसिलामा अनेकौँ सम्भावनाको अध्ययन भएपनि समयको चापका कारण नभ्याइएको बताए। 

विगतका निर्वाचनको तुलनामा यस पटक निर्वाचन प्रचारप्रसारमा संगठित रुपमा बालबालिकाको प्रयोग, भोजभतेर र अरु आचारसंहिता उलंघनका घटनामा कमी आएको उल्लेख गर्दै यादवले स्वास्थ्यलगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भरसक निर्वाचनमा खटाउनु हुन्न भन्नेमा निर्वाचन आयोग सचेत रहेको बताए । 

सरकार, राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताको पालना गर्न गराउने विषयमा मानवअधिकार आयोगकोतर्फबाट पनि झकझक्याउन सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले मतदातालाई मतदान केन्द्रमा आउन प्रेरित गर्ने वातावरण बनाउने भूमिका खेल्न सुझाव दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell