PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मासु र मदिरा खुवाउँदै निर्वाचन प्रचारमा बालबालिका प्रयोग



बीपी साह

मासु र मदिरा खुवाउँदै निर्वाचन प्रचारमा बालबालिका प्रयोग

जनकपुर :  धनुषा–जनकपुर थापा चोकका १२ वर्षीय विकाउ यादवलाई नेकपा एमालेका उम्मेदवारको पोष्टर विद्युतको पोल, घरको भिता, पर्खाल, सडक उेउछाउका पसलमा टाँस्न भ्यानभ्याइ छ। सँगै रहेका ७ वर्षीय बालकलाई पोष्टर र पोस्टर टास्ने गम बोक्न लगाएर दिनभरी पोष्टर टाँसेबापत विकाउले पार्टीबाट दिनको १ हजार नगद, खाजा र राति मदिरा पिउन पाउँछन्। 

पछिल्लो एक साता यता जनकपुरका टोलटोलमा पुगेर विकाउ र उनका साथीले धनुषा क्षेत्र नं. ४ मा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार रघुवीर महासेठको तस्बीर र चुनाव चिन्ह अंकित पोष्टर टाँस्दै आएका छन् । 

जनकपुरको पिडारी चोक नजिकै सडक छेउको विजुलीको पोलमा एमालेको पोष्टर टाँसेर विकाउ गएको केही बेरमै नेपाली कांग्रेसको पोष्टर बोकेर धनुषा लक्ष्मीनिया बनिगमका ११ वर्षीय  संजय कुमार यादव आइपुगे। संजयलाई पोष्टर टाँस्न उनकै गाउँका १० वर्षीय रामकुमार यादव र १२ वर्षीय सुभाष यादवले सघाउँदै थिए। 

तीन जना बालक मध्ये एक जना बोक्ने, एक जनाले गम लगाउने र अर्काले भित्तामा कांग्रेस प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादव र प्रदेश सभाका उम्मेदवार चन्द्रमोहन यादवको पोष्टर टाँसेबापत दिनको ५ सय रुपैयाँ पाउने उनीहरुले बताए। 

'एक दिनमा ५ सय रुपैयाँ, खाना, नास्ता र राति जाने बेलामा रक्सी खुवाउँछ', संजयले भने। तीन बालकले काग्रेसको चुनाव चिन्ह अंकित पोष्टर पिडारी चोकमा टाँसी रहँदा सँगै रहेको गाडीमा कार्यकर्ता मदिरा खाएर रमाउँदै थिए। 

पिडारी चोकमा एमालेको पोष्टर टाँस्दै गर्दा भेटिएका विकाउ र कांग्रेसका उम्मेदवारको पोष्टर टाँस्दै गर्दा भेटिएका संजय, सुभाष र रामकुमार निर्वाचन आचारसंहिताको परिच्छेद–२ उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको (ड) मा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुशमा बालबालिका प्रयोग गर्न वा गराउन नहुने व्यवस्था उल्लंघन गरी बालबालिकालाई प्रचार प्रसारमा लगाएको उदाहरण मात्रै हो।

बालबालिकालाई आचारसंहिता उल्लंघन गरी काममा लगाउनु र मदिरा खुवाएर अबेर रातिसम्म प्रचार सामग्री झुण्ड्याउन लगाउनु जनकपुरमा सामान्य बनेको छ। दलका नेता तथा कार्यकर्ता चुनावी तयारीका लागि चिल्लो गाडीमा मदिरा खाएर बस्नु र बालवालिकालाई काममा लगाउने कार्य पार्टीका उम्मेदवार पिच्छे भएपनि निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय मूकदर्शक बनेको छ।

उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएको जानकारी आइरहेको र समाधानका लागि सम्बन्धित व्यक्तिलाई सजग गराउने प्रयास भएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell