PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नवराज सिलवालले गरेजस्तो मैले एउटा चाहिँ काम गरेको छैन : उदय शमशेर राणा



नेत्र तामाङ

नवराज सिलवालले गरेजस्तो मैले एउटा चाहिँ काम गरेको छैन : उदय शमशेर राणा

बडिखेल (ललितपुर) : ललितपुर क्षेत्र नं १ बाट कांग्रेस उम्मेदवार रहेका अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले सोमबार गोदावरी नगरपालिका वडा नम्बर ४ पुगेर मत माग्दै आफूले एउटा काम नगरेको बताएका छन्।

चुनावी घरदैलो अभियानको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राणाले आफूले जनप्रतिनिधि भएपछि विकासका धेरै काम गरे पनि एउटा काम नगरेको र त्यो भ्रष्टचार भएको बताए।

राणाले भने, ‘चुनाव हारे पनि जिते पनि २०४८ सालदेखि हामी यस क्षेत्रको विकासमा निरन्तर लागिरहेका छौं। जसले विकास गरेको छ उसैलाई अहिले वाम गठबन्धनका उम्मेदवारले केही गरेको छैन भनेर आरोप लगाइरहेका छन्। मैले बाटो बनाएको छु। भूकम्पमा जनताको साथ छु। युवाहरुको साथमा छु। तर, मैले एउटा काम गरेको छैन, त्यो भनेको भ्रष्टाचार हो।’

प्रतिद्वन्द्वी नवराज सिलवालप्रति लक्षित गर्दै उनले आफूले नगरेको काम वाम गठबन्धनका उम्मेदवारले प्रशस्तै गरेको आरोप लगाए।  राणाले भने, ‘सामाजिक सञ्जाल फेसबुक, युट्युबमा हेर्नुस्, मैले नगरेको काम उहाँले प्रशस्तै गर्नुभएको छ।’

घरदैलोको क्रममा पहिलोपोस्टसँग संक्षिप्त कुराकानीमा राणाले सिलवालप्रति आफ्नो कुनै रीसराग नरहेको र सिलवालकै कारण आफू चर्चामा रहेको उल्लेख गरे। 

भने, ‘उहाँले मलाई यस क्षेत्रमा चिनाइरहनुभएको छ। तर, उहाँ अलमलिनु भएको छ। उहाँ भोट माग्दै हिड्नु भएको बाटो मैले बनाएको हुँ। उहाँले आराम गर्ने पाटी मैले बनाएको हुँ, ढुंगेधारा मैले बनाएको हुँ। त्यसैले उहाँले बुझेरमात्र कुरा गर्नुभए राम्रो हुन्थ्यो भन्ने लाग्छ।’

लामो समय प्रहरीमा काम गरेको मान्छेले एकजना युवालाई पनि काम नदिएकाले युवा आफ्नो पक्षमा रहेको राणाको दाबी थियो।  भने, ‘३० वर्ष त प्रहरीमा काम गर्नुभयो उहाँले, तर यस क्षेत्रका एकजना युवालाई काम लगाउन सक्नुभएन, अब उहाँबाट के आश गर्ने?' 

आफू दोस्रो पटक चुनावी मैदानमा रहेको र मतदाताले आफूलाई यसपटक पनि निर्वाचित गर्नेमा ढुक्का रहेको राणाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell