PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राजीनामा नदिने राष्ट्रपति मुगाबेको घोषणाप्रति आफ्नै दलद्वारा विरोध



पहिलोपोस्ट

राजीनामा नदिने राष्ट्रपति मुगाबेको घोषणाप्रति आफ्नै दलद्वारा विरोध
फोटो श्रोतः aljazeera.com

हरारे : जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा नदिने बताएका छन्। जिम्बावेमा सेनाले शासन सत्ता हातमा लिएपछि उनलाई नजरबन्दमा राखिएको छ। त्यसपछि उनले सेनाको कदमप्रतिको प्रतिक्रिया के देलान् भन्नेमा निकै जिज्ञासा राखिएको थियो। 

उनले राजीनामा घोषणा गरेर बाटो खोलिदिए राम्रो हुने सुझाव धेरैले दिएका थिए। तर पछिल्ला केही दिनयता भने उनको राजिनामा आउनुपर्ने अडान विपक्षी दलले पनि राखेको थियो।  

तर ती सबै चौतर्फी मागहरु उनले अस्वीकार गरी आफूले पद नछोड्ने घोषणा आइतबार अबेर सञ्चारमाध्यममार्फत गरेका छन्। उनले देशवासीका नाममा सम्बोधन गर्दै आफू जिम्बावेको वैधानिक राष्ट्रपति रहेको बताए। 

त्यतिमात्र नभएर उनले सम्बोधनमा आगामी महाधिवेशनमार्फत सत्तारुढ दल, जानपिएफको नेतृत्व नै गर्ने चाहना व्यक्त गरे।

तर ९३ वर्षीय राष्ट्रपति मुगाबेलाई भने उनको दलले पार्टी नेताबाट हटाउने निर्णय गरिसकेको छ। अबको केही हप्तापछि सत्तारुढ पार्टीको महाधिवेशन हुन गइरहेको छ। 

आफूलाई पार्टीको नेतृत्वबाट हटाएको बारेमा केही थाहा नभएको बताए। राष्ट्रपति मुगाबेका सत्ता साझेदारहरु तथा विपक्षी दलले भने राजीनामा नदिने उनको निर्णयको कडा शब्दमा विरोध गरेका छन्। 

उनीहरुले राष्ट्रपति सत्तामै रहेर पार्टी र राष्ट्रपतिको नेतृत्व पनि आफ्नी श्रीमतीलाई हस्तान्तरण गर्न खोजेको आरोप उनको आफ्नै राजनीतिक दल र विपक्षीहरुले लगाएका छन्। 

राष्ट्रपति मुगाबेले सम्हाल्दै आएको दलको नेतृत्व केही दिन पहिले राष्ट्रपतिको आदेशमा उपराष्ट्रपतिबाट हटाइएका पूर्व उपराष्ट्रपति एमरसन माङ्गाग्वालाई दिइएको छ। जिम्बावेको सेनाले गत बुधबार शासनसत्ता हातमा लिएको थियो।रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell