PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुरक्षा चुनौती खडा गर्ने घटनाले अनुत्तरित प्रश्न उब्जायो : प्रमुख आयुक्त यादव



पहिलोपोस्ट

सुरक्षा चुनौती खडा गर्ने घटनाले अनुत्तरित प्रश्न उब्जायो :  प्रमुख आयुक्त यादव

काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीले सबैलाई गम्भीर तुल्याएको बताएका छन्। 

आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल(नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आयोजित प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले उम्मेदवारमाथिको आक्रमणले सुरक्षा चुनौती बढेको बताए।

यादवले भने,‘ सुरक्षामा चुनौती खडा गर्ने यस्तो घटना किन र केका लागि भइरहेको छ, यसले हामीलाई अनुत्तरित प्रश्न उब्जाएको छ।’

नेपालको संविधान, गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुने आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्णरुपमा पालना हुन आवश्यक रहेको भन्दै  यादवले राजनीतिक दल र उम्मेदवारबाट टाढै रही संस्थाको बदनाम नहुने ढंगबाट पर्यवेक्षण गर्न पर्यवेक्षकलाई सुझाव दिए। 

शहरभन्दा हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गर्न सल्लाह दिँदै उनले सूक्ष्म र गहन रुपमा पर्यवेक्षण गर्न तथा मतदातालाई मतदानको महत्वबारे सचेतना र जागृत तुल्याउने सन्देश प्रवाह गर्न आग्रह गरे। 

नियोकका अध्यक्ष हिमालशम्शेर जबराले निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता तथा कार्यकर्तामाथि आक्रमणले समाजमा हिंसाको त्रास दिनाका साथै जसरी पनि जित्नुपर्छ भन्ने मान्यताले निर्वाचनको परिणामलाई पैसाले प्रभाव पार्ने त होइन भन्ने प्रश्न उब्जेको बताए। 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुलुकका ५२ संस्था र अन्तर्राष्ट्रिय चार संस्थाले निर्वाचनको पर्यवेक्षण गर्न अनुमति पाएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell