PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मोरङ २ मा रिजाल र पोखरेलबीच रोचक भिडन्तः मीनेन्द्रले जोगाउलान् कोइरालाको विरासत ?



पहिलोपोस्ट

मोरङ २ मा रिजाल र पोखरेलबीच रोचक भिडन्तः मीनेन्द्रले जोगाउलान् कोइरालाको विरासत ?

  • प्रभाषचन्द्र झा 
विराटनगर : मोरङको क्षेत्र नम्बर दुईमा  निर्वाचनको सरगर्मी बढेको छ। मतदातालाई आकर्षित गर्न यस क्षेत्रका उम्मेदवारले पाँच वर्षे विकासका भावी योजना सार्वजनिक गर्ने कार्यलाई तीव्रता दिएका छन्। त्यस्तै, कोणसभा र घरदैलो अभियानमार्फत मतदातालाई आकर्षित गर्न उम्मेदवारहरु तल्लीन देखिन्छन्। 

मोरङको मध्यभागमा अवस्थित यस क्षेत्रका ग्रामीण भेगका सडकको दूरावस्थाका साथै सिँचाइकोसमेत प्रबन्ध नरहेको र आधारभूत आवश्यकता परिपूर्ति हुनुपर्ने विषयमा मतदाता पनि सजग देखिन्छन्। 

यस क्षेत्रमा नेपाली कांगेसबाट डा मीनेन्द्र रिजाल उम्मेदवार छन्। यसअघि उनी समानुपातिकबाट सभासद् भएका थिए। रिजाल पहिलोपटक प्रत्यक्षतर्फको निर्वाचनमा उठेका हुन्। 

वाम गठबन्धनबाट नेकपा एमालेका ऋषिकेश पोखरेल उम्मेदवार छन्। उनी यसअघि २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भइसकेका हुन्।उनी पनि प्रखर वक्ताको रुपमा परिचित भएकाले यस क्षेत्रमा दुवै जनाबीच कडा प्रतिस्पर्धा हुनेछ।। 

मोरङका क्षेत्र नं २ को अधिकांश भाग तत्कालिन क्षेत्र नं १ मा पर्दछ। क्षेत्र नं २ भएपनि यसलाई मोरङको तत्कालीन क्षेत्र नं १ को प्रतिनिधित्व गर्ने क्षेत्रका रुपमा सम्झिने गरिन्छ।

यस क्षेत्रबाट २०४८, २०५१ र २०५६ सालमा गिरिजाप्रसाद कोइराला निर्वाचित भएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट आमोदप्रसाद उपाध्याय र २०७० सालमा उपाध्यायलाई पराजित गरी नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका थिए। सोही कारण मोरङ २ लाई गिरिजाप्रसाद कोइरालाको क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ। 

मोरङका सबै क्षेत्रमा चुनावी प्रचार दिनप्रतिदिन बढ्दै गइरहेको भएपनि क्षेत्र नं २ मा चुनावी प्रचारप्रसारको क्रममा पार्टी प्रवेश कार्यक्रम पनि व्यापकरुपमा भइरहेको कारणले स्थानीय तहको परिणामको आधारमा निर्वाचनको परिणाममाथि अड्कल गर्न सकिने अवस्था छैन।

यस क्षेत्रबाट एक स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। एक लाख ११ हजार ३२१ मतदाता रहेको यस क्षेत्रमा रतुवामाइ नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ वडा, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ तथा कानेपोखरी गाउँपालिकाको १, २ र ३ वडा पर्दछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell