PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओखलढुंगामा कांग्रेसलाई विरासत जोगाउन, वाम गठबन्धनलाई कांग्रेसको किल्ला तोड्ने चुनौती



पहिलोपोस्ट

ओखलढुंगामा कांग्रेसलाई विरासत जोगाउन,  वाम गठबन्धनलाई कांग्रेसको किल्ला तोड्ने चुनौती

  • कालिका खड्का 
ओखलढुंगा :  ओखलढुंगामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञ सुनुवार र नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाबीच कडा टक्कर पर्ने भएको छ। 

प्रतिनिधिसभामा एक र प्रदेशमा दुई सिट कायम रहेको ओखलढुंगामा कांग्रेसलाई आफ्नो विरासत जोगाउन ठूलै कसरत गर्नुपर्ने अवस्था छ भने वाम गठबन्धनसामु कांग्रेसको किल्ला तोड्ने चुनौती छ। 

कांग्रेस र वाम गठबन्धनले उम्मेदवारी दर्ता गरेसँगै दुवैले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन्। ओखलढुंगामा स्थानीय तहको निर्वाचनको मतपरिणाम केलाउँदा वाम गठबन्धन अगाडि देखिन्छ। 

एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरप्रमुखमा ६० हजार ८०४ मत खसेको थियो।

त्यसमा वाम गठबन्धनले ३३ हजार ५३२ र लोकतान्त्रिक गठबन्धनले २६ हजार ८१७ मत प्राप्त गरेको थियो। गठबन्धन बाहिर रहेका अन्य दलले भने ४५५ मत प्राप्त गरेका थिए। 

प्रदेश (क) मा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले १६ हजार ४९९ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ७८७ मत प्राप्त गरेका थिए। 

प्रदेश (ख) मा रहेका चार गाउँपालिकामा कांग्रेसले तीन वटामा र एमालेले एउटामा जित हासिल गरेको थियो। यो क्षेत्रमा वाम गठबन्धनले १७ हजार ३२ र लोकतान्त्रिक गठबन्धनले १४ हजार ९९ मत प्राप्त गरेका थिए। 

सिद्धिचरण नगरपालिकामा भने एमालेका उम्मेदवार विजयी भएका थिए। सात गाउँपालिकामध्ये दुईमा एमाले, चारमा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएका थिए। 

ओखलढुंगामा कांग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशनलगायत नौ दलका २१ र स्वतन्त्र एकजनाले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रतिनिधिसभाको उम्मेदवार जिल्लाको उन्नति र समृद्धिका लागि आफूलाई जिताउन मतदातासँग आग्रह गर्दै गाउँगाउँ घुमिरहेका छन्। प्रदेशसभाका उम्मेदवारहरु पनि आ–आफ्नो क्षेत्रका मतदातासँग भोट माग्न व्यस्त छन्। 

बागी उम्मेदवारका कारण कांग्रेसलाई कष्ट 

टिकट वितरणमा रुष्ट एक दर्जनभन्दा बढी कांग्रेस नेता बागी उम्मेदवारका प्रचारमा खटिएका छन्। प्रदेश (ख) मा कांग्रेसले (क) क्षेत्रका नेतालाई टिकट दिएपछि रुष्ट नेताहरु बागी उम्मेदवार ज्ञानेन्द्र रुम्दालीको पक्षमा लागेको बताइन्छ। 

प्रदेश (ख) मा जिल्ला सभापति प्रदीपकुमार सुनुवारलाई कांग्रेसले उम्मेदवार बनाएको छ। रुम्दाली ७० र ७४ सालको संविधानसभाको निर्वाचनमासमेत बागी उम्मेदवार थिए। हारेपछि उनीमाथि कारबाही भएको थियो। 

दुवै पक्षको चुनाव जित्ने दावी 

मतदानको मिति नजिकिँदै जाँदा वाम गठबन्धनका सुनुवार र कांग्रेसका खतिवडा दुवैले चुनाव जित्ने दावी गरेका छन्। प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार खतिवडाले भने,‘जनभावनाअनुसार यो जिल्लाको विकास मैले गरेको छु, मैले चुनाव जित्छु।’ पाँच हजारदेखि सात हजार मत बढी ल्याएर जित्ने खतिवडाको दावी छ। 

खतिवडा जस्तै सुनुवार पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन्। सुनुवारले भने,‘जिल्लाका ठूल्ठूला विकास निर्माण काम मैले गरेको छु। भ्रष्टाचारमुक्त र सुशासनयुक्त जिल्ला बनाउन मैले चुनाव जित्नै पर्छ र जित्छु पनि।’ सुनुवारले आफूले तीन हजारभन्दा बढी मत ल्याएर जित्ने दावी गरे। 

यसअघि दुई क्षेत्रबाट चुनाव जितेका उनीहरु अहिले एकमात्र क्षेत्र भएकाले दुवै आमनेसामने प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आएको छ। नागरिक समाज ओखलढुंगाका अगुवा हिजराज कार्कीका अनुसार खतिवडा र सुनुवार दुवै बलियो उम्मेदवार हुन्। 

ओखलढुंगाको प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका अम्मिरबाबु गुरुङ र कांग्रेसबाट मित्रसेन दाहाल प्रतिस्पर्धामा छन्। त्यस्तै प्रदेश (ख) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मोहन खड्का हिमशिखर र कांग्रेसकातर्फबाट जिल्ला सभापति सुनुवार प्रतिस्पर्धामा छन्। 

यहाँ एक स्वतन्त्रसहित नौ राजनीतिक दल चुनावी मैदान छन्। १४१ मतदान केन्द्र रहेको ओखलढुंगामा एक लाख दुई हजार २६३ जना मतदाता छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell