PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सप्तरी क्षेत्र नं ४ मा बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा



पहिलोपोस्ट

सप्तरी क्षेत्र नं ४ मा बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

राजविराज :   आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। 

अभियानअन्तर्गत सप्तरी क्षेत्र नं ४ मा अनुभवी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधिसभादेखि प्रदेशसभा सदस्यका उम्मेदवार मतदाताको घरघरमा गएर घरदैलो अभियानमा जुटेका छन्। 

क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि १४ राजनीतिक दलले उम्मेदवारी दिएका छन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका वर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलला चौधरी, एकजना पूर्वमन्त्रीसहित तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

मधेशी गठबन्धनकातर्फबाट राजपाका नेता एवं पूर्वमन्त्री मृगेन्द्रकुमारसिंह यादव र वाम गठबन्धनका तर्फबाट मोहम्द इस्लामबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यादव यसअघि दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भाइ अनिरुद्धकुमार सिंह यादवसँग झिनो मतले पराजित पराजित भएका थिए त्यतिबेला उनी क्षेत्र नं ६ बाट लोकतान्त्रिक फोरमबाट उम्मेदवार थिए। सोही क्षेत्रबाट दलित जनजाति पार्टीका उम्मेदवार इस्लामसमेत पराजित भएका थिए। 

दोस्रो संविधानसभा निर्वाचनमा मृगेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका इस्लाम यस पटक वाम गठबन्धनकातर्फबाट एमाले उम्मेदवार बनेका छन्। 
यस्तै, क्षेत्र नं ४ प्रदेशसभा (क) मा मधेशी गठबन्धनकातर्फबाट फोरम नेपालका जिल्ला सहसंयोजक विनोद चौधरी चुनावी प्रतिस्पर्धामा छन् भने कांग्रेसकातर्फबाट सीताराम साह चुनावी मैदानमा छन्।

वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले उम्मेदवारी दिएका छन्। यसअघि न्यौपाने दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तेजुलाल चौधरीसँग झिनो मतले पराजित भएका छन्। 

प्रदेशसभा (ख) मा मधेशी गठबन्धनकातर्फबाट फोरम नेपालका अभिषेक यादव पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्। उनी फोरम नेपालका उपाध्यक्ष रेणु यादवका छोरा हुन्।

कांग्रेसका तर्फबाट पूर्व उपराष्ट्रपति परमानन्द झाका भतिजा विवेकानन्द झा चुनावी प्रतिस्पर्धामा छन्। वाम गठबन्धनबाट माओवादी केन्द्रका शशीप्रसाद यादवलाई चुनावी मैदानमा उभ्याइएको छ।

उनी यसअघि राजपा नेपालमा थिए। यस क्षेत्रमा वाम गठबन्धन, मधेश गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell