PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एक पटक पनि जनतामाझ नगइकन देशको जुनसुकै ठाउँबाट चुनाव जित्न सक्छु : प्रचण्ड 



राजेन्द्र आचार्य

 एक पटक पनि जनतामाझ नगइकन देशको जुनसुकै ठाउँबाट चुनाव जित्न सक्छु : प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको क्षेत्र नम्बर तीनमा प्रचारप्रसारमा व्यस्त छन्। आफ्ना योजना बताउँदै घरदैलो अभियान तथा चुनावी सभामा उनी व्यस्त छन्। नेपाली कांग्रेससँगको तालमेलबाट छोरी रेनुलाई भरतपुरको मेयर बनाउन सफल उनी अहिले नेकपा एमालेसँगको राजनीतिक सहकार्यमा चुनावी मैदानमा छन्। यसकारण पनि उनको क्षेत्रको चुनावी माहौलमा धेरैको नजर छ।  पहिलोपोस्टका चितवन संवाददाता राजेन्द्र आचार्यले व्यस्त प्रचण्डसँग कुराकानी गरेका छन् :

 

चितवनमा नै उम्मेदवारी किन दिनुभयो?

उम्मेदवारको हैसियतले उभिँदा  मेरो दिमागमा एकातिर देशमा राजनीतिक स्थायित्व कायम गर्ने र दोश्रो चितवनको विकाससँगै नेपालकै विकास छ। र, तपाईँहरुको सहयोगले त्यो पूरा हुन्छ भन्ने विश्वासमा छु। अर्को भनेको जनताको समर्थन नै हो। यहाँको विकासका निम्ति भनेर म आएको छु। म चुनाव जित्न, सांसद हुन मात्रै आएको छैन। म सांसद हुन देशको जुनसुकै भागबाट, एक पटक पनि जनतामाझ नगइकन, घरदैलो नगरिकन चुनाव जित्न सक्छु। तर, म चितवनको विकास, चितवनका जनतामा समृद्धिका लागि, चितवनको सचेत मतद्वारा राष्ट्रको नेतृत्व गर्ने उद्देश्यको साथ आएको छु। मलाई पूरै विश्वास छ, जनताले विकास, समृद्धि र राजनीतिक स्थायित्वका निम्ति वामपन्थी उम्मेदवार सबैलाई विजयी गराउनुहुन्छ।   

चितवन जोखिमयुक्त छ जित्दैन भनेर मलाई चेतावनी पनि दिएका थिए। रोल्पा रुकुममा प्रचण्ड देखा नपरे पनि चुनाव जितिहालिन्छ त्यहीबाट उठे हुन्छ भनेर दवाव आयो। तर, मैले चितवनका जनताले मलाई हरायो भने म स्वीकार गर्छु। म चितवनमा नै जान्छु भनेर अडान लिएँ। म यहाँ आउनुको तात्पर्य एउटा त देशको आवश्यकता अर्थात् राजनीतिक स्थायित्वको लागि हो। त्यस्तो स्थायित्वको लागि चितवनका जनताबाट आएको अभिमतले निर्धारित गर्ने कुरो हो। चितवनका जनताबाट आउने अभिमत अन्य जिल्ला र क्षेत्रबाट आउने भन्दा ओजपूर्ण हुन्छ भन्ने सोचेको छु।

 

के छन् त विकास र समृद्धिका कुरा?  

सडक कालोपत्रे गर्ने कुरा कलभर्ट बनाउने कुरा, राप्ती नारायणीको तटबन्धको कुरा, स्कुल कलेज बनाउने कुरा, माडीको रिङरोड कलभर्ट, निकुञ्जका जंगली जनावर र उनीहरुबाट मानव बस्तीमा हुने सुरक्षाको लागि तारजाली लगाउने कुरा अनिवार्य आवश्यकता हुन्। तर, मेरो सोचाई त्यो कामसँगै फरक पनि छ। अबको १० वर्ष आर्थिक समृद्धिको दशक हुनेछ। मेरै कुरा गर्नुहुन्छ भने, पहिला राजनीतिमा लागेपछिको झण्डै १० वर्ष मैले विचार र राजनीति निर्माणमा नै लगाएँ।

अर्को १० वर्ष गणतन्त्रको निम्ति, संघीयताको निम्ति, समावेशी, समानुपातिकताका निम्ति युद्धमा बित्यो, अर्को १० वर्ष शान्तिप्रकृया र  संविधान निर्माणमा योगदान गर्ने ठाउँमा अर्को १० वर्ष बित्यो।

अब विकास निर्माणद्वारा समाजवादको आधार तयार पार्ने र राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा नै अबको दशक बिताउने मेरो प्रतिवद्धता स्वरुप मैले चितवनका आम जनता माझ र चितवनका जनतामार्फत देशभरि पनि यही मैले प्रतिवद्धता व्यक्त गरेको छु।

चुनावअघि नै पार्टी एकताका बारेमा आएका कुरा के हुन्?

मंसिर ९ गते वाम एकता हुन्छ भन्ने कुरा गलत समाचार हो। यसमा सत्यता छैन। सत्यता के हो भने यो चुनाव सकिनासाथ पार्टी एकता हुन्छ। दुवै पार्टीबीच सहमति भइसकेको छ। मार्क्सवाद, लेनिनवाद हामी दुई पार्टीका सैद्धान्तिक आधार हुन्। केही नमिलेका कुरा मान्छेको लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन। अब सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नु पर्दछ।

प्रचण्डपथ आधिकारिक भइसकेको अवस्थामा पनि मैले स्थगन गरेको हो। बहुदलीय जनवाद, माओवाद आदि विषय अनुकूल समयमा मिलाउँदै गइन्छ। मार्क्सवाद–लेनिनवादी सिद्धान्तको आधारमा समाजवाद हुँदै साम्यवादमा जाने विषयमा हामीबीच कुनै विभेद छैन।

शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादमा जान सकिन्छ भन्ने निष्कर्षका साथ यतिबेलाको वाम र लोकतान्त्रिक ध्रुविकरण हो। यो स्थिर सरकार र देशको विकास र आर्थिक समृद्धिका लागि संकल्प हो। 

अघिल्ला चुनावमा केन्द्रीय राजधानी बनाउने भनेर भोट माग्नुभयो। तर चितवनलाई फेरि प्रदेश राजधानी बनाउने कुरा पनि टाढा पुग्यो त?

चितवनलाई राजधानी बनाउनका लागि उपयुक्त ठाउँ हो भन्ने कुरा धेरै पहिलेदेखि विशेषज्ञहरुले पनि सुझाव दिएको हो। भूगर्भविद्हरु, भूगोलशास्त्रीहरुले पनि सुझाव दिएका छन्। विगतमा हाम्रो पार्टीले यो कुरा पनि ल्याएको हो। तर, अहिले निर्वाचनको मुखमा मैले जनतालाई यस विषयमा भन्न मिल्ने आधार भइसकेको ठानेको छैन। जबसम्म चितवनको समग्र विकाससँगै रेलमार्ग बन्छ, सुरुङमार्ग बन्छ त्यसपछि चितवनलाई सबैले राजधानी भन्ने अवस्था सिर्जना हुन्छ भन्ने मेरो बुझाई छ। प्रदेश राजधानीको विषयमा पार्टीहरुबीच चर्चा र छलफल चलिरहेको छ।

तपाईका नजरमा प्रतिस्पर्धी कस्ता छन्?

म हिजो आएदेखि हेरेको छु। नेपाली कांग्रेसले अलि वरिष्ठ नेतालाई उठाएको भए सम्भवतः प्रतिस्पर्धी चितवन क्षेत्र नं ३ मा हुन्थ्यो। अहिले छैन। मैले प्रतिस्पर्धी देखिराखेको छैन। वामपन्थीहरु नै जित्ने चितवनको सबै क्षेत्रमा मैले देखेको छु। 

चुनावी माहोललाई कसरी विश्लेषण गर्नु भएको छ?

म घरदैलो भनेर घरघर र टोलटोलमा पुग्ने कोसिस गरिरहेको छु। नेपाली कांग्रेसका धेरै कार्यकर्ता शुभचिन्तकहरुले हामी भोट अहिले तपाईँलाई नै हाल्छौँ भनेर बाहिर आएर फूलमाला दिइराखेको स्थिति छ। त्यसकारण हिजोअस्तिदेखि मैले जे देखेँ विल्कुल मैले सोचेको भन्दा, मानिसले कल्पना गरेभन्दा बाहिर छ। 

चुनावी अभियान त जारी छ। उम्मेदवार तथा मन्त्रीमाथि नै आक्रमण पनि भइरहेको छ नि? 

अहिले रुकुमका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्मालाई ताकेर एउटा ग्रिनेट फाल्ने काम भो, अनि हाम्रो एकता कार्यदलका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनमाथि एउटा माइन पनि विष्फोट भो। र ६ दिनअघि हतियारसहित पक्राउ परेका पनि छन्। मैले यतिभन्दा मिडियाका साथीले ठूलो समाचार भन्यो भनि नठान्नुहोला। यस्ता घटना सामान्य हुन्। तर अलि गम्भीर घटना के भयो भने घटना घटाउने र हतियारसहित गिरफ्तार भएका मान्छेलाई छोड्नुपर्छ भनेर बाहलवाला कांग्रेसका मन्त्रीले वक्तव्य निकाले। गम्भीर कुरा यो भयो। मैले यो विषय केपी ओलीजीसँग पनि राखेँ। चुनावका बेला केही घटना हुन्छ सक्छ तर पनि सरकार नै ती घटना घटाउनेमा छ, र घटना घटाउनेलाई प्रेरित गरेको छ।

त्यस्ता खालका क्रिमिनलहरुलाई छोड्न पर्छ भनेर स्टेटमेन्ट, सरकारमा रहेकै मन्त्रीले निकाल्छन् भने त्यो विषय गम्भीर हुन्छ। कतै निर्वाचन भाँड्ने काम त सरकारले गरेको होइन? यही प्रश्न उठेको छ। त्यो इन्टेन्सन के हो भन्ने कुरा त केही दिनमा आइहाल्छ। आफ्नो पक्षमा वतावरण बन्ने वा नबन्ने भए त्यस खालको तत्वलाई प्रयोग गर्ने काम सरकारले गर्छ दुई पार्टी एकता समिती गम्भीर छौँ। निर्वाचन विथोल्ने काम नहोस्। 

तपाई घरदैलोमा जाँदा धेरै धुलाम्मे सडकमा हिड्नु भो। जनताले बाटो बनाउनभन्दा के प्रतिवद्धता गर्नु भो?

म यतिबेला जनताको घरघर, टोटटोल र गाउँगाउँमा गएँ। हो धेरै ठाउँमा धुलो खाँदै गएँ। मैले धुलो खाँदै आएको छु र मलाई रिस उठिराको छ। यो धुलोजतिलाई कलोपत्रे बनाएर छाड्छु भनेको छु। मेरो ध्यान कालोपत्रे बनाउनेतिर छ। यो ठूलो कुरा त होइन। केन्द्र र प्रदेशमा बलियो सरकार वामपन्थीको भएपछि कालोपत्रे गर्न आइतबार पर्खिनुपर्छ भन्ने मलाई लागेको छैन भनेर जनतालाई भनेको छु। 

चुनावी माहोल कस्तो छ?

शुरुमा चुनावी तालमेल भइसकेपछि र वाम गठबन्धन भइसकेपछि अर्थात् घोषणाको दिन असोज १७ मा जस्तै सधै भइरहने अवस्था त भएन।
तर, हामीले देशभरि एक ठाउँमा छिटफुटबाहेक सबैको तालमेल भयो। यसले आमजनतामा उत्साह शुरुमा जस्तै देखेको छु।
तर पनि पार्टीभित्र आन्तरिक रुपमा कसले टिकट पायो कसले पाएन भन्ने विषयले केही दिन गति पैदा हुन थोरै अप्ठ्यारो परेको थियो। अहिले विस्तारै लय पक्डन थालेको छ। 

स्पष्ट बहुमत आउने कत्तिको विश्वस्त हुनुहुन्छ?

वाम गठबन्धनको विषयका आफूले अहिले यति नै आउँछ भनेर ठोकुवा गर्न सक्ने अवस्था नभए पनि गठबन्धनको बहुमत आउनेमा विश्वस्त छु। मेहनत सबैले गर्दा दुई तिहाई आउने सम्भावना पनि उत्तिकै छ।

तपाईँहरु प्रत्यक्ष कार्यकारीको नाराबाट पछि हटेको हो?

कार्यकारी प्रमुखको विषय दुईवटा पार्टीले उठाइसकेपछि तुरुन्तै कार्यान्वयन गर्नुपर्ने जस्तो हुन जाने र संसद हुँदा उठाउने प्रसंग चलेको पनि हो।
दुई पार्टीबीच त्यस विषयमा सहमति पनि छ। कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्दछ भन्ने कुरा। दुई पार्टीले तुरुन्त घोषणा गर्दा संसदमा लिएर जानुपर्ने नैतिक अप्ठ्यारो आयो। तुरुन्त संसदमा लगेर दुई तिहाई बहुमत पुर्याैएर जाने शिलशिलामा निर्वाचन प्रकृया नै विथोलिने हो कि भनेर निर्वाचन प्रकृयासम्म यसरी नै जान दिउँ त्यसपछि यही प्रकृयामा जान दिउँ भनिएको छ। त्यसपछि यस विषयमा अगाडि बढ्नु पर्दछ भनेर रोकिएको हो।

निर्वाचन जित्ने आधार के हुन, माडीको बाँदेरमुढेको विषयलाई कसरी हेर्न?

मलाई लाग्छ चितवन जिल्ला वाम एक भएपछि लाल किल्ला नै हो। प्राप्त सूचना र स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने मात्र हो भने पनि सबै साथीहरुले जित्नु हुन्छ। तर, जितिन्छ भनेर हात बाँधेर बस्ने हो भने भन्न सकिन्न। त्यसैले मेहनत त अवश्य गर्नु नै पर्दछ। मुख्य कुरा मेरो अर्थात् म उम्मेदवार बनेको तीन नम्बर क्षेत्रको कुरा हो, यहाँ मैले मेरो प्रतिस्पर्धीनै देखेको छैन। कांग्रेसले उम्मेदवारी दिएको भए त्यो उम्मेदवार मेरो प्रतिस्पर्धी भन्न मिल्थ्यो। तर, एक जना गैर राजनीतिज्ञ जसको नेपालका भएका परिवर्तनमा कुनै साइनो छैन। नेपाली कांग्रेस हामी वामपन्थीहरु निरंकुशताविरुद्ध आन्दोलन गर्दा उहाँ त्यसको विपक्षमा हुनुहुन्थ्यो। अझै पनि गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको पक्षमा उहाँ हुनुहुन्न। मैले भन्नैपर्छ बरु उहाँको समर्थन प्रतिगमन तर्फनै छ। कांग्रेसले उहाँलाई उम्मेदवार बनाएको छ। हुन त विक्रमजी ठेकेदारको रुपमा निर्माणको काम राम्रै गर्नु भएको होला। तर, उहाँमा राजनीति संस्कार छैन।

माडी क्षेत्रका केही दिन यता राम्रो अवस्था सिर्जना भएको भन्ने आएको छ। चार गते बाँदरझुला जाने योजना छ। १० गतेसम्म देशव्यापी अभियान छ। ११, १२ गते माडी जाँदै छौँ। बाँदरमुढे घटना अब समस्याको रुपमा छैन। उहाँहरुसँग मैले नभेटे पनि हाम्रो वाम गठबन्धनको निर्वाचन परिचालन कमिटीका प्रमुख अमिक शेरचनजीले भेटनु भएकै हो। त्यसमा पनि अब माडी जाँदा मैले पनि भेटने छु।

यति छिटो कित्ता परिवर्तन किन भयो?

यो कित्ता परिवर्तन होइन। अनि वाम गठबन्धन निर्वाचनको लागि मात्र गरिएको गठबन्धन होइन। यो त एकीकृत कम्युनिष्ट केन्द्र निर्माणको लागि गृहकार्य हो। पार्टी एकीकरणको प्रयास हो। कांग्रेस र माओवादीको, एमाले र कांग्रेसको पनि पार्टी एकता कहिल्यै हुन सक्ने अवस्था होइन। एकता हुने भनेको कांग्रेस कांग्रेसको हो, कम्युनिष्ट कम्युनिष्टबीचको एकता हो। यसलाई कसैले अनौठो मान्न पर्दैन। 

हामी कम्युनिष्टहरु एकताबद्ध हुन्छौँ भनेपछि कांग्रेसमा पनि विजय गच्छदार, महन्त ठाकुर, राजेन्द्र महतो सबै एकता प्रकृयामा लाग्नु भयो।  मैले उहाँहरुलाई शुभकामना पनि दिएको छु। कांग्रेस र माओवादीको पार्टी एकता हुने भन्ने कुरै हुन सक्दैन। तर, सहकार्य भोलि पनि हुन सक्छ। कार्यगत एकता हुन सक्छ। गिरिजाबाबु र मैले हस्ताक्षर गरेर शान्ति प्रकृयामा आयौँ। हामी भोलि पनि राष्ट्रको आवश्यकता र कुनै पनि अप्ठ्यारोमा कांग्रेस र कम्युनिष्टबीच सहकार्य हुन सक्छ। तर, पार्टी एकता भनेको फरक कुरा हो। यो कांग्रेस कांग्रेस र कम्युनिष्ट कम्युनिष्टबीच मात्र हुन सक्छ। यो सबैले बुझ्नु पर्दछ। आजको आवश्यकता स्थिर सरकार, आर्थिक विकास र सम्वृद्धिका लागि एकता अनिवार्य थियो। यो एकता बृहत्तर राष्ट्रिय हितको लागि गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell