PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भाइबरबाट चिट्ठा पर्‍यो भन्दै ठग्ने गिरोहका सदस्य विराटनगरबाट गिरफ्तार



अनन्तराज न्यौपाने

भाइबरबाट चिट्ठा पर्‍यो भन्दै ठग्ने गिरोहका सदस्य विराटनगरबाट गिरफ्तार

विराटनगर : पर्वत जिल्लाको देउपुर गाउँपालिकाकी सङ्गीताकुमारी गुरुङले गत कात्तिक १८ गते भाइबरमा पाकिस्तानको नम्बरबाटयस्तो म्यासेज प्राप्त गरिन्– ‘तपाईंको नाममा ४० लाखको चिट्ठा परेको छ । यो चिट्ठा प्राप्त गर्न तपाईंले ६५ हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ ।’

यसको केही समयपछि आकाश शर्मा नाम बताउने एक मानिसले पाकिस्तानकै नम्बरबाट सङ्गीतालाई भाइबरमै फोन गर्‍यो।

‘तपाईंलाई चिट्ठा परेको साँचो हो’, आकाशले भन्यो, ‘चिट्ठाको रकम प्राप्त गर्न तपाईंले ६५ हजार र आइएमई शुल्क ३ सय ५० रुपैयाँ डुमरलाल झाका नाममा पठाउनु पर्छ ।’

साँच्चै भाग्य खुलेकै र चिट्ठा परेकै रहेछ भनेर सङ्गीता ३ घण्टा पैदल हिँडेर सदरमुकाम आइन् र प्रभु म्यानेजमेन्ट प्रा.ली.बाट डुमरलालका नाममा आइएमई शुल्कसहित ६५ हजार ३ सय ५० रुपैयाँ पठाइन् ।

यसको केही छिनमै आकाशले सङ्गीतालाई फेरि फोन ग¥यो र राजस्व वापतको रकम पठाइदिएकोमा धन्यवाद भन्यो । आकाशले विजयकुमारको नम्बर दियो र चिट्ठाको रकम प्राप्त गर्न उसलाई सम्पर्क गर्नू भन्यो । विजयको नम्बरमा पनि पाकिस्तानकै कोड थियो ।

सङ्गीताले विजयलाई फोन गरिन् ।

‘तपाईंको चिट्ठाको चेकमा हस्ताक्षर हुनैलागेको छ’, प्रत्युत्तरमा विजयले भन्यो, ‘तर १ लाख ४० हजार नलिई हस्ताक्षर गर्न मिल्दैन । त्यसैले बलराम विश्वासका नाममा आईएमई शुल्क ५ सय र १ लाख ४० हजार तुरुन्त पठाइदिनूस् ।’

कहिल्यै नसोचेको ४० लाखको सपनामा सङ्गीताले यो रकम पनि पठाइन् तर चिट्ठाको रकम आएन ।

फेरि त्यही गिरोहले भाइबरमा फोन गरेर सेक्युरिटी कोडका लागि २ लाख ७० हजार तिरेपछि मात्र चेक काटिने जानकारी गरायो ।

यति बेला भने सङ्गीतालाई आफू ठगिँदैछु कि भत्रे शङ्का लाग्यो ।

उनले स्थानीय प्रभु बैङ्कका एक कर्मचारीको सहयोग मागिन् । ती कर्मचारीले बलराम विश्वासले आफ्नो नागरिकताको प्रतिलिपि राखेर मनी ट्रान्सफरबाट १ लाख ४० हजार झिकेको पत्ता लगाए । 

ती सहयोगी कर्मचारीले यस्तो पत्ता लगाएपछि मोरङ प्रहरीलाई सङ्गीता ठगिएको जानकारी गराए ।

मोरङ प्रहरीले वर्ष २९ का बलरामलाई विराटनगरमा पक्राउ गर्‍यो । बलरामको स्थायी घर सुनसरी जिल्लाको दुहबी नगरपालिकामा पर्छ ।

बलरामले प्रहरीसितको बयानमा आफ्नो नाममा मनी ट्रान्सफरबाट बारम्बार रकम आउने गरेको र उक्त रकम अनुपचन्द सेठियाले आफ्नै घरमा खोलेको अफिसमा बुझाउने गरेको बताए ।

सेठियाको घर विराटनगर महानगरपालिका वडा नं. ७ स्थित मेनरोडमा पर्छ ।

बलरामले साविती बयान दिएपछि मोरङ प्रहरीको अनुरोधमा  सङ्गीता विराटनगर आइपुगेकी छन् । उनले पर्वतकै जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित उजुरी दिन खोजेकी थिइन् । 

तर यो अन्तर्राष्ट्रिय स्तरको मुद्दा हामीले हेर्न मिल्दैन भत्रे उत्तर दिँदै पर्वतका प्रहरी प्रमुखले काठमाडौं गएर उजुर हाल्नूस् भनेर पन्छाइदिए ।

पर्वतका प्रहरी प्रमुख पन्छिएको भोलिपल्टै मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले फोन गरेका थिए ।

प्रहरी उपरीक्षक बिसीका अनुसार यस गिरोहका मुख्य कारोबारी वर्ष ५५ का अनुपचन्द र उनका भतिजा वर्ष ४० का ललित शेठियासहित ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बलरामसहित विमलकुमार चिरानियाँ, श्रवणकुमार शाह र भारतको दरभङ्गाका ३७ वर्षीय पङ्कज कर्णसमेत छन् ।

शेठियाको कार्यकक्षबाट ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँसहित भारु १ हजार, चाँदीको टुक्रा ४ थान, चाँदीको सिक्का २ थान, मोबाइल सेट ६ थान र कागजातहरू बरामद गरिएको छ ।

उनीहरूलाई ठगीमा मुद्दा चलाउन मोरङ जिल्ला अदालतबाट म्याद थपिएको प्रउ बिसीले बताए ।

को हुन् सेठिया ? 

विराटनगर, मेनरोडमा स्थायी बसोबास भएका अनुपचन्दले विगत ३ दशकदेखि आफ्नै घरको एक कोठामा हुन्डीको कारोबार गरिरहेका छन् ।
उनको हुन्डीको सञ्जाल भारतका विभित्र मुख्य व्यापारिक शहरदेखि हङकङ, खाडी मुलुक, मलेसिया, सिङ्गापुर लगायतका देशसम्म रहेको स्रोतको दाबी छ ।

हुन्डीको कारोबार गर्दागर्दै अन्तर्राष्ट्रिय ठगसितको गिरोहमा उनी विगत ६ महिनायता संलग्न भएको प्रहरीले अनुमान गरेको छ ।

बलराम र डुमरलालजस्ता अनुपका रकम सङ्कलकहरू देशभरिमा ३ सयको सङ्ख्यामा हुनसक्ने प्रहरीको ठम्याइ छ । छ महिनायता शेठियाले १ अर्बभन्दा बढी सङ्कलन गसिसकेको बताइएको छ ।

‘सेठियाविरूद्ध ठगी मुद्दा त चल्छ–चल्छ’, एसपी अरुणकुमारले भने, ‘अरू मुद्दा पनि आकर्षित हुने देखिन्छ किनकि १० लाखभन्दा बढीको कारोबार बैङ्किङ प्रणालीबाट गर्नुपर्ने सरकारी नियमका विरूद्ध एकै स्थानबाट ८६ लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।’

सेठियाको मुद्दामा थप अनुसन्धान गर्न नेपाल प्रहरीले अन्य दक्ष जनशक्ति र प्रहरी अधिकृतलाई विराटनगर खटाउने एसपी बिसीले जानकारी दिए।

ठगिनेको सङ्ख्या बढ्दैछ 

सङ्गीताकै जस्तो आफू ठगिएको प्रमाणसहित धरान–१५ का लालबहादुर मगर पनि मोरङ प्रहरीमा आइपुगेका छन् । उनले पहिलो पटक ८८ हजार, दोस्रो पटक १ लाख ६० हजार र तेस्रो पटक १ लाख गरी ३ लाख ४८ हजार रुपैयाँ गुमाइसकेका छन् ।

नेपाल प्रहरीले यस्तो प्रकृतिको ठगी बढिरहेकोले सचेत हुन सबैलाई आग्रह गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell