PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कास्कीमा द्विपक्षीय भिडन्त, विरासत जोगाउने र भत्काउने कसरतमा उम्मेदवार



पहिलोपोस्ट

कास्कीमा द्विपक्षीय भिडन्त, विरासत जोगाउने र भत्काउने कसरतमा उम्मेदवार

  • निमदत्त सुवेदी 
पोखरा :  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कास्कीमा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारबीच द्विपक्षीय भीडन्त हुने देखिएको छ। 

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र वाम गठबन्धनबाट एमालेका पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि सो क्षेत्रबाट दुवैजना एक÷एक पटक निर्वाचित भइसकेका छन्। 

मन्त्री थापा दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीलाई २७२ मतले पराजित गरी निर्वाचित भएका थिए।

अधिकारीले भने २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटलाई एक हजार २५१ मतले पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमाले नेता रवीन्द्र अधिकारी र कांग्रेसबाट वुद्धिजीवी देवराज चालिसेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

अधिकारी २०६४ र २०७० को संविधानसभाको निर्वाचनमा साविक क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भई संसदीय विकास समितिको सभापति समेत बनिसकेका छन्। 

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पुराना नेता शुक्रराज शर्मा र वाम गठबन्धनबाट एमालेका पोलिटब्यूरो सदस्य जगतबहादुर सुनार विश्वकर्माबीच नै प्रतिस्पर्धा हुनेछ।

लामो समय कास्की कांग्रेसमा सभापति भई काम गरेका शर्मा २०५६ सालमा राष्ट्रियसभाको सदस्य भई काम गरिसकेका छन्। विश्वकर्मा भने पहिलो पटक प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन्। 

यसैगरी प्रदेशसभा १ (क) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार र वाम गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला, (ख) मा कास्की कांग्रेसका सभापति कृष्ण केसी र वाम गठबन्धनबाट एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन्। 

प्रदेशसभा २ (क) मा वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा र कांग्रेसका युवा नेता गुरुप्रसाद बरालका बीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ। थापा दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं २ बाट कांग्रेसका शारदा पौडेलसँग पराजित भएका थिए। 

त्यस्तै सोहि प्रदेशसभा (ख)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका राजकाजी गुरुङ र कांग्रेसबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापा चुनावी मैदानमा छन्। गुरुङ पहिलो संविधानसभामा क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। 

प्रदेशसभा क्षेत्र नं ३ (क)मा नेपाली कांग्रेसकी नेतृ एवं पूर्व सांसद शारदा पौडेल र वाम गठबन्धनबाट माओवादी केन्द्रका रामजी बरालबीच प्रतिस्पर्धा हुनेछ।

पौडेल दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्ण थापालाई ३४४ मतले पराजित गरी निर्वाचित भएका थिए। 

(ख)मा वाम गठबन्धनबाट एमालेका युवा नेता एवं युवा संघका केन्द्रीय अध्यक्ष राजिव पहारी र काँग्रेसका जिल्ला नेता सिकन्दर कुमार गुरुङबीच प्रतिस्पर्धा हुँदैछ। 

निर्वाचनमा नेपाली कांग्रेस, वाम गठबन्धनका एमाले र माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, नयाँशक्ति पार्टी, विवेकशील साझा पार्टी, नेपाल दलित पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा (वैद्य), जनसमाजवादी पार्टी लगायत दलका ९५ जनाले उम्मेदवारी दर्ता गरेका क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ। कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता छन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell