PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

पर्साका चार वटै निर्वाचन क्षेत्रमा त्रिपक्षिय भिडन्त



पहिलोपोस्ट

पर्साका चार वटै निर्वाचन क्षेत्रमा त्रिपक्षिय भिडन्त

  • वीरेन्द्र कर्ण 
वीरगंज : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। 

नेपाली कांग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनका उम्मेदवारमात्र नभएर स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएपछि त्रिपक्षीय उम्मेदवारको भिडन्त नै अहिलेसम्म चासो र चर्चाको विषय बनेको हो। 

चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस, फोरम–राजपा गठबन्धन र एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

पर्सामा चार वटै निर्वाचन क्षेत्रमा ६४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयकका अनुसार पर्सा क्षेत्र नम्बर एकमा २२ जना, क्षेत्र नम्बर २ मा १५ जना, क्षेत्र नम्बर ३ मा १४ र क्षेत्र नम्बर ४ मा १३ जनाको उम्मेदवारी परेको छ। 

विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा पाँच वटा क्षेत्रमध्ये तीन सिट जितेर जिल्लामा पहिलो दल बनेको नेकपा एमाले स्थानीय तहमा कमजोर देखिए पनि यसपटक माओवादीको गठबन्धनले एमालेको पकड राम्रो देखिएको चर्चा छ।

सो निर्वाचनमा दुई सिट हात पारेको कांग्रेसले यसपटक साख जोगाउन राम्रै कसरत गरेको छ। स्थानीय तहको निर्वाचनमा राम्रो स्थान प्राप्त गरेको फोरमले यसपटक राजपासँग चुनावी तालमेल गरेकाले उसको पनि बलियो स्थिति देखिन्छ। 

पर्सा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकातर्फबाट निवर्तमान सांसद अनिल रुंगटाको उम्मेदवारीसँगै वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद विचारी यादव र मधेशी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव छन्। 

दोस्रो संविधानसभाको निर्वाचनमा विचारी यादव एमालेबाट पर्सा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए भने अर्का उम्मेदवार प्रदीप यादव मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी चर्चा बटुलेका उम्मेदवार हुन्।

पर्सा क्षेत्र नं १ मा ११ स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ। राजपा फोरम गठबन्धनका उम्मेदवारलाई चुनौती दिन राजपाका महासचिव महम्म कदमरसुल नेपाल संघीय समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्।

पर्सा क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजयकुमार चौरसियासँगै वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका महम्मसलिम मंसुर राजपा र फोरम गठबन्धनबाट विमल श्रीवास्तवको पनि उम्मेदवारी परेको छ। यहाँ एक महिलासहित १५ जनाको उम्मेदवारी परेको छ। 

पर्सा क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका पूर्व जिल्लासभापतिसमेत रहेका सुरेन्द्रप्रसाद चौधरी, वाम गठन्धनबाट राजकुमार गुप्ता र मधेशीवादी दलबाट फोरम नेपालका हरिनारायण रौनियारको उम्मेदवारी परेको छ।

करिब आठ महिनाअगाडि नेपाली कांग्रेसबाट फोरम नेपालमा प्रवेश गरेका रौनियारको उम्मेदवारीले पनि क्षेत्र नं ३ निर्वाचन रोचक हुने भएको हो। सात स्वतन्त्रसहित १४ जना उम्मेदवार रहेको क्षेत्र नं ३ मा उम्मेदवारहरू बीच रोचक भिडन्त हुने मतदाताले आंकलन गरेपनि नेपाल संघीय समाजवादीका राजकुमार यादवको उम्मेदवारीले अन्य दलका उम्मेदवारलाई सकस भएको छ।

सो क्षेत्रमा पोखरिया नगरपालिकाको प्रमुखमा संघीय समाजवादीले नेतृत्व लिएकाले अन्य दलका उम्मेदवारलाई फलामको च्यूरा चपाउनुपर्ने स्थिति रहेको मतदाता शेषमन पण्डितको भनाइ छ। 

अन्य क्षेत्रभन्दा पर्सा क्षेत्र नं ४ ठूला उम्मेदवारको भिडन्त नै विषेश चर्चामा छ। यो क्षेत्रमा प्रभावशाली नेताहरू नेपाली कांग्रेसका रमेश रिजाल, वाम गठबन्धनबाट नेकपा माओवादीकी उर्मिला अर्याल, फोरम नेपाल र राजपा गठबन्धनबाट राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भिड्दै छन्। यो क्षेत्रमा उर्मिला अर्यालकै पुराना प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजाल छन्। 

दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार जयप्रकाश थारूसँग अर्याल पराजित भएपनि अहिले गठबन्धनको उम्मेदवार भएकाले उनको  अवस्था पनि राम्रो रहेको चर्चा छ। राजपा नेपालका सहअध्यक्ष कर्ण समानुपातिकबाट दुईपटक सभासद् भइसके पनि यसपटक प्रत्यक्षबाट उम्मेदवारी दिएकाले उनका लागि यो निर्वाचन अग्निपरीक्षाजस्तो भएको छ। 

जिल्लामा चारवटा निर्वाचन क्षेत्रमा दुई लाख ९९ हजार ५४ जना मतदाता छन्। जसमध्ये महिला मतदाता एक लाख २४ हजार ४०९ र तेस्रोलिङ्गी १६ जना छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell