PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रवीन्द्र मिश्रमाथि प्रकाशमानको रन्को



सूर्य खड्का

रवीन्द्र मिश्रमाथि प्रकाशमानको रन्को

वरिष्ठ पत्रकार किशोर नेपालका शब्दमा खाएर कहिल्यै नअघाउने चट्नी हुन नेपाली राजनीतिक रंगमन्चमा नयाँ पात्र विवेकशील साझा दलका नेता, पूर्व पत्रकार रवीन्द्र मिश्र। काठमाडौं १ मा विवेकशील साझाका प्रतिनिधि सभा उम्मेदवार मिश्र राजनीतिमा विकल्प खोज्ने मतदाता, तप्का र समुहका लागि वैकल्पिक आशाका धरोहर हुन्। काठमाडौं कांग्रेसका सदावहार नेता प्रकाशमान सिंह वा वाम गठबन्धनका युवा प्रत्याशी अनिल शर्माका लागि भोलिको संसद प्रवेशलाई तगारो हालिदिने खेलाडी नै हुन मिश्र।
 
उनको यो पहिलो राजनीतिक यात्रा हो, पहिलो चुनावी प्रतिस्पर्धा पनि। त्यसैले समर्थक र आलोचकका लागि उत्ति नै प्रिय र हाउगुजी। जसै मिश्र चुनावी समरमा होमिएका छन, उसै उनीमाथि आक्रमणका श्रृंखला पनि थपिएका छन्। ११ प्रश्नवालीका साथ मिश्रमाथि गरिएको हमला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। आलोचकहरुले निकै मेहनतका साथ उठाएका प्रश्नहरुले उनको उम्मेदवारी वाम गठबन्धन वा कांग्रेसका लागि काठमाडौं एकमा निकै भारी बनेको प्रतित हुन्छ।

उसै पनि सधै एकै दलको पक्षमा नउभिने काठमाडौं र त्यसमा पनि एक नम्बरका मतदाता यस पटक मिश्रको पक्षमा उभिनै पो आँटेका हुन कि भन्ने सवाल मिश्रमाथि भएको श्रृङ्खलावद्ध प्रश्नपूर्ण आक्रमण र आलोचनाहरुले संकेत गरेको छ। त्यसो त राजनीति गाली, गोली वा आक्रमण, प्रत्याकरणको अनन्त श्रृङ्खला पनि हो, कम्तिमा नेपाली अभ्यासमा। किनभने यहाँ कुनै पनि राजनीतिक दलले आफूले केही गरेर देखाउनेभन्दा विरोधी दललाई सत्तो सराप गर्ने अघोषित परम्परा नै छ। यस कोणबाट हेर्दा अग्लो रुखलाई नै बढी बतास लाग्ने गरे जस्तै मिश्र काठमाडौं एकमा भारी पर्दै जाँदा उनीमाथि लोकतान्त्रिक भनिने कित्ताबाट सुनियोजित रुपमा मतदान पूर्व नै झस्किएको हो कि भन्ने भान पर्दछ।

मिडियाको कर्म जस्तो सपाट र सबैले हाइहाई गर्ने प्रतिक्रिया राजनीतिबाट नपाइँदो रहेछ भन्ने तथ्यबोध त मिश्रले चुनावी अभियानका क्रममा शहरका सबैभन्दा एलिट वर्गको थातथलो धाउँदा अनुभुति गरिहेका होलान्। अझ पाकिस्तानको अध्ययन र लण्डनको मिडिया कर्मका दौरान सिकेका, भोगेका, सहज र सुखद् पक्षको ठ्याक्कै रिभर्स जस्तो लाग्ने मतदाता रिझाउने काम निकै बिझाउने खालको हुने अनुभुति पनि उनलाई भइरहेको होला। उनका अन्तर्वार्तामा व्यक्त भावना र विचारकै आधारमा मात्रै उनले यो राजनीतिक यात्रा सुखद् रुपमा अघि बढाएका होलान् भनेर पत्याउन सकिँदैन। किनभने अन्तर्वार्तामा दिइने जवाफ र फिल्डमा खियाइने पाइलापाइलाको संघर्षको अनुभुति उनका लागि रोचक र घोचक नै होलान्।

बिबिसी लण्डनबाट नेपाल खाल्डोको राजनीतिक मानचित्र बदल्ने उद्घोषका साथ चुनावी खालमा हाम फालेका मिश्र जसै राजनीतिमा ओर्लिए, उसै प्रतिस्पर्धी दलहरु उनीसँग थर्कमान भइरहेको प्रतित हुन्छ। नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहका छोरा, काठमाडौं कांग्रेसका हर्ताकर्ता, पूर्व उपप्रधानमन्त्री प्रकाशमानले नै उनको राजनीतिक कद र व्यक्तित्वलाई असुहाउँदो स्तरमा मिश्रमाथि लगाइरहेका आरोपले सिद्ध गर्छ- प्रकाशमानको राजनीतिक आकाशको चम्किलो प्रकाशमा मिश्र कालो बादलमा स्थापित भइसके।

किनभने प्रकाशमान स्तरको नेताले यस्ता निम्नस्तरमा एक जना नवीन प्रतिस्पर्धीलाई आरोपित नगरेकै भए प्रकाशमानको राजनीतिक उचाई थप उचो हुँदो हो। आफूले काठमाडौं एकमा गरेका असल कर्महरुको व्याख्या र भावि योजनाका व्याख्यामा भन्दा ज्यादा मिश्रको बदख्वाइमा प्रकाशमानको खर्च भइरहेको उर्जा मिश्र चोटिलो चुनौती बनिसकेको उदाहरण नै मान्नुपर्छ।

सिंह, शर्मा र मिश्रमध्ये को जित्लान काठमाण्डौं एकमा? त्यो त यहाँका रैथानेहरुको विवेकको पनि परीक्षा हो। तर, मिश्रको राजनीतिक यात्राले ल्याएका तरङ्ग र छद्म नाममा, संगठितमा उनीमाथि व्यक्तिगत र चारित्रिक रुपमा लगाइएका आरोपहरुले स्पष्ट गर्छ कि नेपाली राजनीतिमा एकल नायकत्वको दाबा गर्ने ठूला भनिएका वर्तमान दलहरु उनलाई र उनको दललाई स्वस्थ प्रतिस्पर्धाका लागि सौहार्दता पूर्वक स्वागत गर्दै मतादेशमा हराइदिनु अघि नै छिर्के हानेर घायल बनाउन उद्धत छन्।

यो मिश्रको पक्ष वा विपक्षको पक्ष पोषण होइन नै। तर, राजनीतिमा नवीन खेलाडीलाई रिङमा प्रवेश गर्दा नगर्दै घाइते बनाउन खोज्ने नेपाली राजनीतिक प्रवृतिले यहाँ आफूलाई नेपाली राजनीतिका एकल विकल्प सम्झने दलहरु, नेताहरु नयाँलाई मौका दिने उदार होइन, सौता सम्झने सानो छातीका फिस्टे रहेको प्रमाणित गर्दछ।

राजनीति उसै पनि सोझो रेखामा हिँड्दैन। त्यसमाथि वर्षौ, दशकौँ सुख दु:ख र संघर्षका अनगिन्ती घाम पानी व्यहोरेका ठूला तथा पुराना दलहरुले आफ्नो विकल्पमा अरु कुनै नयाँ शक्तिको उदय हुन खोज्दा आफै सम्भावित नयाँ भन्दा अग्रगामी र कामकाजी हुने कसरत गर्न छोडेर उल्टै झम्टिने शैली र अभ्यास ठूला र पुराना भनिएका दलको राजनीतिक संस्कर निम्न कोटीको प्रहर्शन नै हो। 

डा. बाबुराम भट्टराईको नयाँ शक्ति निर्माणको विफल प्रयासको ताजा आलोकले नै पुराना दलहरुलाई नयाँले गरी खाँदैनन्, टिक्न सक्दैनन् भन्ने पाठ पढाएकाले पनि उनीहरुले मिश्र वा उनको दललाई विरुवामा नै निमोठिदिन खोजेका हुन सक्छन। ठूला माछाले भुरा माछा निल्न खोज्नु आफैमा अप्राकृतिक अभ्यास भएन नै, तर, सिङ्गै नेपाली लोकतन्त्रको स्वघोषित ठेकेदार पुराना र ठूला भनिएका दलहरु नयाँप्रति बढी आक्रामक बन्नुले उनीहरुकै कमजोरीको पर्दा पनि उत्तिकै उघारिएको छ।

२०६३ को परिवर्तन पछिका नेपाली राजनीतिमा तीन दलीय सिन्डिकेटले सिङ्गै राज्यसत्तामा नयाँ दलीय राजाको अभ्यास गरेको नाङ्गो सत्य हो। राज्यका सबै अङ्गमा राजनीति करणको नग्न प्रदर्शन भएको तथ्य जनजनको नजरमा ताजा नै छ। तै पनि तिनै ठूला दलले गठबन्धनका नाममा सानालाई च्यापेर फेरि ठूलै हुन चुनावी रणनीति बदलेका छन्।
 
यस पृष्ठभूमिमा विवेकशील साझा वा रवीन्द्रहरु भाग खोस्न आएका रुपमा चित्रित र बदनाम गराइन खोज्नुले हाम्रा पुराना दलको एकल राजनीतिक सत्तामा धाबा बोलिएको सन्देश त मिलेको छ। तर के विवेकशील साझा वा रवीन्द्रहरु ती चुनौती चिर्न मतदाताबाट स्वीकृत र समर्थकहरुबाट थप मजवुत बन्न सक्लान त? राजनीतिलाई दलीय सिन्डिकेट मुक्त पार्न पनि नयाँहरु चुनौती बनिदिए स्वघोषित सदावहार सत्ताधारीहरु बदलिन बल नै पुग्ने छ। मतदाताका लागि त्यही सुखद् कुरा हुनेछ।

जे होस्, फोहोरी खेलको उपमा पाएको राजनीतिको चुनावी रिङमा उत्रिसकेका मिश्रले अब कम्तिमा आफूमाथि लागेका खुल्ला अभियोगलाई एकएक जवाफ दिनु पनि उनैले लगाउने गरेको पारदर्शिताको नाराको कार्यान्वयन हुनेछ। मिश्रको मौनताले उनीमाथिको आरोपको खण्डन नगर्ने मात्रै होइन, उनी मतदाताका सामु सफेद र वेदाग हुन वा होइन भन्ने पनि स्पष्ट नगर्ने हुँदा मिश्रले मुख खोले मतदाताको घैटोमा अरु घाम लाग्थ्यो कि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell