PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लालबाबुको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ बजारमा



पहिलोपोस्ट

लालबाबुको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ बजारमा

काठमाडौं : पहिलो पटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बनेका नेकपा एमालेका नेता लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ सार्वजनिक भएको छ।

भूमिगतकालदेखि नै उक्त पार्टीसँग आवद्ध रहेका पण्डितको चर्चा मन्त्री भएपछि बढेको थियो। उनले ग्रीनकार्ड वा पीआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा गरेका थिए। जसले विशेषगरि डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो। त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहिले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे।

लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइहरु कथाजस्तै भेटिए । यी सबैले लालबाबुमा संझौताहीन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको ब्यक्तित्व अगाडि ल्याएको रहेछ ।

नेपालयले प्रकाशन गरेको आत्मकथामा राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका लालबाबुका रोचक भोगाइहरु समेटिएको छ।

‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भनिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ।’

पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्।

‘पहिलोपटक मन्त्री बन्नेबित्तिकै जताततै भद्रगोल मात्र देख्न थालेँ,’ पण्डित भन्छन्, ‘त्यतिबेलै सबैभन्दा पहिले मैले आफूलाई बदल्ने संकल्पका साथ काम सुरुगरेको थिएँ।’ तिनै कामहरुलाई आफूले इमान्दारिका साथ पुस्तकमा राखेको पण्डित बताउँछन्।

पण्डितलाई समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने उनको विश्वास छ। ‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु।’

पुस्तकको मूल्य ३२५ रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell