PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहलः कांग्रेस ढुक्क, गठबन्धन मख्ख


पहिलोपोस्ट

प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहलः कांग्रेस ढुक्क, गठबन्धन मख्ख

  •  शेरबहादुर सिंह/धनबहादुर भण्डारी 
डडेल्धुरा :  आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ। 

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन्। 

माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन्। विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित भएका थिए। भट्ट विसं २०६४ मा एक हजार ३०० तथा २०७० मा आठ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित भएका थिए। 

करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको कांग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार ब्यहोरेको थियो। त्यसकारण पछिल्लो समय कांग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आँकलन गरिएको छ। यद्पि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने कांग्रेसका स्थानीय नेता बताउँछन्। 

लामो समयदेखि जिल्लाको मात्र नभई समग्र सुदूरपश्चिमकै विकासमा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निभाएको भन्दै डडेल्धुरा कांग्रेसका नेता तथा कार्यकर्ता मंसिर २१ गते उनी विजयी हुनेमा ढुक्क छन्। तर उनलाई विगतमा जस्तो सहज भने छैन। दुई ठूला पार्टीको गठबन्धनका कारण देउवाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ। 

जिल्लाको प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले निर्वाचन जित्न कुनै समस्या नभएको बताए। ‘प्रधानमन्त्रीज्यू डडेल्धुराको मात्रै नभएर सुदूरपश्चिमकै अभिभावक हो।’ उनले भने,‘यहाँका मतदाता कहिल्यै कांग्रेसको विपक्षमा हुँदैनन्।’ 

पार्टीभित्रको आन्तरिक किचलोका कारण केही स्थानीय तहमा हार ब्यहोरेको उनले स्विकार गरे। आसन्न निर्वाचनका लागि पार्टी पंक्ति एकढिक्का भएर लागेको मल्लको भनाइ छ। 

‘म र रघुवर भट्टजी प्रदेशमा लड्दै छौँ।’ मल्लले भने,‘जिल्लाभर सबै भ्रातृसंगठन चुनावीसभामा खटिएका छन्।’ उनले सभापति देउवाविरुद्ध गठबन्धनले विभिन्न अपmवाह फैलाएको आरोपसमेत लगाए। ‘चार चार पटक प्रधानमन्त्री भएर यो देश हाँकिसकेका व्यक्तिले रोजगारी दिन सकेनन् भन्ने कुरो हुन्छ ?’ उनले भने,‘हेर्दै जानुस् गठबन्धनका उम्मेदवार नै केही दिनमा कांग्रेसमा आबद्ध हुँदैछन्।’ उनले डडेल्धुरामा कांग्रेस १० हजारभन्दा बढी मतअन्तरले निर्वाचन जित्ने दाबीसमेत गरे। 

कात्तिक ३० गते प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा आउने कार्यक्रम रहेको मल्लले बताए। 

वाम गठबन्धनका नेता स्थानीय तहको जिल्लाको मत परिणामलाई आँकलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन्। सातवटा स्थानीय तह रहेको जिल्लामा चारवटामा कांग्रेस, दुईवटामा एमाले र एउटा तहमा माओवादी केन्द्रले विजयी भएको थियो।

वाम गठबन्धनका उम्मेदवार भट्ट चार÷चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेल्धुरावासीले यस पटक उनको विकल्प खोज्ने बताउँछन्।

२७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको उनको आरोप छ। 

एक सय १७ वटा मतदान केन्द्र रहेको डडेल्धुरामा आसन्न निर्वाचनमा ८१ हजार ७०० भन्दा बढी मतदाता छन्।रासस
 



प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहलः कांग्रेस ढुक्क, गठबन्धन मख्ख को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट