PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


नेपालका लागि ५० क्याप जितेर अनिलको सन्यास


गोविन्दराज नेपाल

नेपालका लागि ५० क्याप जितेर अनिलको सन्यास

काठमाडौं  :  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले ५०औँ खेल खेलेर अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन्।

एन्फाले गुरुङलाई एक समारोह गरी विदाई गरेको छ। कार्यक्रममा गुरुङलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले ब्लाजर कोट लगाईदिनुका साथै सम्मान पत्र प्रदान गरेका थिए। 

मंगलबार एएसफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध खेल्दै अनिलले नेपालको लागि ५० खेल खेल्ने कोसेढुङ्गा पार गरे।

सन् २००७ मा ओमान विरुद्ध खेल्दै अन्तर्रष्ट्रिय फुटबलमा डेब्यु गरेका अनिलले नेपालका लागि १० अन्तर्राष्ट्रिय गोल समेत गरेका छन्।
चोटका कारण एसियन कप छनोटअन्तर्गत ताजिकिस्तान विरुद्धको दुवै खेल अनिलले गुमाएका थिए। तर घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय खेल खेल्दै सन्यास लिने उपयुक्त अवसरलाई सदुपयोग गर्दै अनिलले अन्तर्राष्ट्रिय फुटबलमा पूर्णविराम लगाए।

नेपालको १५औँ कप्तान बनेका अनिलले क्लब फुटबललाई भने निरन्तरता दिने बताएका छन्। 

२०७२ को मंसिरमा भारतमा भएको साफ च्याम्पियनबाट पहिलो पटक नेपालको कप्तान बनेका अनिल त्यसयता भने नियमिमत रुपमा टिममा पर्न सकेका थिएनन्। उनी पहिलो रोजाईमा नपर्दा नेपालको कप्तानी विराज महर्जनले सम्हाले। 

छनोट अन्तर्गत यमनविरुद्ध घरेलु मैदानमा भएको खेलमा भने अनिल अन्तिम समय मैदान प्रवेश गर्दै कप्तान आर्मब्याण्ड लागएका थिए।

सन् २००८ मा पोखरा रंगशालामा भएको पाकिस्तानविरुद्धको मैत्रिपूर्ण खेलमा अनिलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले पछिल्लो पटक सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा भारत विरुद्ध अन्तर्राष्ट्रिय गोल गरेका थिए। अनिलले अफगानिस्तान विरुद्ध सबैभन्दा धेरै ३ गोल गरेका छन्।

सहाराबाट फुटबल करियर शुरुवात

३१ वर्षिय अनिलले घरेलु टोली सहारा फुटबल क्लबबाट फुटबल करियर शुरु गरेका थिए। जति खेर उनी १४ वर्षका मात्र थिए। सहारामा राम्रो प्रदर्शन गरेपछि उनले काठमाडौंको बिग्रेड ब्वाइजबाट पहिलो पटक ए डिभिजन लिग खेल्ने मौक पाए। 

बिग्रेडमा राम्रो खेलेकै कारण उनले चर्चित ए डिभिजन क्लबहरु थ्री स्टार, एनबरटी र मनाङ मर्सयाङ्दी क्लबाट खेले। अहिले पनि अनिल कनाङको कप्तान छन्।

यसबीचमा अनिलले विदेशी क्लबबाट समेत खेले भने बेलायतमा ट्रेनिङ लिने मौका समेत पाए।अनिल बेलायतको चेल्सीको रिजर्भ टिममा ट्रायल दिने पहिलो नेपाली खेलाडी समेत बने। साथै उनले वकिङ क्लबमा समेत ट्रायल दिएका थिए। 

सन् २००९ मा अनिल भारतको आइलिग क्लब सिलोङ लाजोङमा ३ वर्षका लागि ६३ लाख नेपाली रुपैयाँमा अनुबन्धित भएका थिए। त्यतिखेर ६३ लाख पाउने भएपछि अनिल अचम्ममा परेका चिए। ‘अब यति धेरै पैसा पाउने भएको छु। कसरी राम्रो खेल्ने हो भनेर मलाई अचम्म लागेको थियो।’

अनिलले सन्यासको एकदिन अघि एन्फा कम्प्लेक्समा अब जर्सी नम्वर १० र र फुटबल फ्यानहलाई एकदमै मिस गर्ने बताएका थिए। 

 



नेपालका लागि ५० क्याप जितेर अनिलको सन्यास को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट