PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कर्णाली यात्रा र हाम्रो स्वास्थ्य शिविर



पहिलोपोस्ट

कर्णाली यात्रा र हाम्रो स्वास्थ्य शिविर

 

  • मुकुल ढकाल

कार्तिक ९ गते आस्क फाउन्डेशनका तर्फबाट १२ जनाको मेडिकल टिम (३ जना विज्ञ डाक्टर , ४ जना मेडिकल/डेन्टल अफिसर, ४ जना नर्सिङ एवं प्यारामेडिक तथा एक जना नन् मेडिकल गरी कुल १२ जना) को नेतृत्व गर्दै जुम्ला पुग्नु थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको सहयोगमा कार्तिक ११ देखि १३ सम्म वृहत आँखा शल्यक्रिया तथा सामान्य स्वास्थ्य निशुल्क शिविर को आयोजना गर्नु हाम्रो उदेश्य थियो।

हाएस गाडीमा १२ जनाको टिम र शिविरका लागि आवश्यक सामानसहित ११ जनाको सिटमा खुम्चिएर यात्रामा निस्कियौं। लामो बाटोको यात्रा त्यसरी खुम्चिएर अप्ठ्यारोमा यात्रा गाह्रो कुरा थियो। त्यसैले सामान गाडीको छतमा राखेर मान्छे सहजसँग जाउँ भनेर गाडीको ड्राइभरसँग बाटोमा पटक पटक आग्रह गरियो। तर उनले त म काठमाडौं फर्किदिउँ भनेर घुर्की देखाउन थाले। ‘डाक्टर र ड्राइभरसँग निउँ नखोज्नु’ भनाइ याद आयो, मैले उनीसँग थप वादविवाद गर्नु उपयुक्त ठानिंन। ड्राइभर दाइको नेपालगञ्जसम्मको यात्राको त्यो थर्काइले मलाई लाग्यो, “कैयन बिरामीहरू हामीडाक्टरहरुसँग केहि भन्न डराउँलान् र हामीले जे भन्यौं त्यही मात्र मान्दै आएका होलान्।‘ यो घटनाले बिरामीसँग थप नम्र भएर बोल्न प्रेरित गर्यो।

बाटोमा बुटवलको रोड देखेर खुशीले फुर्केको मन नेपालगञ्जमा पनि त्यहि स्थर वा त्यो भन्दा पनि राम्रो रोड देख्दा झनै खुशी भयो। बिकास निर्माणमा मोफसलले दिएको खुशी थियो त्यो। नेपालगञ्जको बसाइपछि भोलिपल्ट ११ बजे जुम्लाको लागि प्लेनको टिकट थियो। ९:३० तिर एयरपोर्ट आयौँ, आवश्यक सामानको व्यवस्था मिलायौँ। गाडिमा राखेको सामान जानकारी बिना ३ जना भरियाले एयरपोर्टको सामान जोख्ने ठाउँसम्म ल्याइदिएछन्। धन्य महसुस भएको थियो तर पछिसामान ओसारेको १५ सय माग्दा झसङ्ग भएँ। ३ मिनेटको बाटोमा सामान लोड गरेको १५०० दिन बाध्य भयौं किनकी त्यो ठाउँमा उनीहरुले बाहेक अन्यले सामान ओसार्न नपाउने रहेछ।

जुम्ला ल्यान्ड हुँदै गर्दा सोचेको भन्दा घना बस्ती देखियो।राजनीतिक एवं आन्तरिक खिचातानिका कारण आयोजक संस्था तालावन्दीमा परेछ। जसका कारण एयरपोर्टमा प्रतिनिधि लिन आएनन्। आस्क फाउन्डेशनबाट कालिकोट सिपखानामा सञ्चालित टेलिमेडिसन सेन्टरबाट दुई सहयोगि पनि हामी बसेको होटल आइपुगेपछी हाम्रो टोलि १२ जनाबाट १४ जनाको भयो। त्यस दिन शिविरको लागि तयारी गरेर जुम्ला बजार घुमेर बिताइयो। बजारका जनता हाम्रो शिविरबारे अनभिज्ञ थिए। हाम्रो टिममा कता कता डर पलायो, यति धेरै पैसा खर्च गरेर आइएको छअपेक्षाकृत बिरामीको सेवा गर्न पाइएन भने क्याम्प असफल हुन्छ भन्ने। हामीले त्यही डर नरहोस् भनेर रेडियोमार्फत आँखा शिविरको प्रचार समेत गरेका थियौं।

हामी सफल भएको महसुस भयो जब ३ दिनको शिविरमा १०६८ बिरामी आए , र हामीले ५७ जनाको सफल शल्यक्रिया (५६ जना मोतिबिन्दु र एकजना एमर्जेन्सी) गरी ती आँखालाई ज्योति प्रदान गर्यौँ। साथै, करिब ९२ टुथ एक्ट्र्याक्सनपनि गर्यौं । त्यस ठाउँमा उपलब्ध नभएको नाक, कान, घाँटी र दन्तसेवा लगायत अन्य सामान्य चिकित्सा र स्त्री तथा प्रसुति सेवा पनि प्रदान गर्यौंस।

सामान्य चिकित्सा र स्त्री तथा प्रसुति रोगको पनि स्वास्थ्य शिविर सञ्चालन गर्नु हाम्रो उद्देश्य थियो।लुकेका रोगीहरूलाई बाहिर निकाल्ने किनभने नेपालमा जति बिरामी भए पनि अस्पताल नजाने तर यस्ता नि:शुल्क स्वास्थ्य शिविरमा पहिलो पटक डाक्टर भेट्नेको जनसङ्ख्या धेरै छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भए पनि समस्या पर्दास्वास्थ्य केन्द्रनधाएका धेरैलाई भेट्यौँ र उनीहरूको सम्भवत रोग लाग्दा अस्पताल जाने बानी बसाउन केहि चेतना बढायौँ। नाक, कान र घाँटीको शल्यक्रिया नगरी केवल परामर्श सेवा दिँदा पनि हामीले जाँचेका ५०० भन्दा बढी नाक, कान र घाँटीको बिरामीमा करिब २०० जनाको शल्यक्रिया गरी बहिरोपना नियन्त्रण गर्न सकिने देख्यौँ। मूलत: मोतिबिन्दुको मात्र शल्यक्रिया गर्ने उद्देश्य बोकेर गए पनि, एउटा २ वर्षको बच्चा एमरजेन्सीमा हामी आएको थाहा पाएर नजिकैबाट रिफर भएछ। तत्काल शल्यक्रिया नगरे एउटा आँखो भाटोले घोचिएर आएको बच्चाको दुवै आँखा जाने खतरा थियो। हाम्रो टोलिले अपरेसन नगर्दा पूरा १ दिन लगाएर नेपालगञ्ज पुग्नु पर्ने बाध्यता थियो। जसले अवस्था गम्भिर बनाउन सक्थ्यो। हाम्रो मेडिकल टिमका आँखा सर्जन वरिष्ठ डाक्टर अर्चना शर्माको नेतृत्वमाबच्चाको सफल अपरेसन भयो।

क्याम्पको पहिलो दिन गाउँ गाउँबाट बढी बिरामी आए भने, क्याम्पको दोश्रो र तेश्रो दिन बजारबाट पनि बिरामीहरू जँचाउन आए। यसरी हामीले सफल बनायौं जुम्लामा स्वास्थ्य शिविर। जसले दुर्गम गाउको सयौं बिरामीलाई स्वास्थ्य सेवा त प्रदान गर्यो् नै साथै हामीले पनि एक किसिमको खुशी र संतुष्टी पायौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell