PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रोल्लास सिन्धुलीयको 'एउटा प्रश्न पत्र' लाई साताको साहित्य पुरस्कार २०१७



प्रोल्लास सिन्धुलीयको 'एउटा प्रश्न पत्र' लाई साताको साहित्य पुरस्कार २०१७

काठमाडौँ : यस वर्षको साताको साहित्य पुरस्कार कवि प्रोल्लास सिन्धुलीयको कविता एउटा प्रश्न पत्रले पाएको छ। 

साताको साहित्य डट कममा अगस्त २०१६ देखि जुलाई २०१७ सम्म प्रकाशित भएका रचनाहरुमध्येबाट तीन उत्कृष्ट रचनाहरु सार्वजनिक गरिएका थिए। त्यसमा कवि नवीन प्यासीको झुसिलकिरा र कवि सुशील सुब्बाको कविता आमा, अधुरो यात्रासँगै
पनि थिए। 

निर्णायकहरु महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जीव पाण्डे र निष्प्रभ सजीले बहुमतको आधारमा एउटा प्रश्न पत्रलाई चयन गरेका हुन्। 

लेखकले पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नेछन्। 

यस्तो छ पुरस्कृत कविता
 

एउटा प्रश्न पत्र

कस्को घरमा छिरेपछि हावा अछुत हुन्छ ? 
कस्को खेतमा पसेपछि पानी अपवित्र हुन्छ ?

भन्नूस् न बा !

सबभन्दा पहिला
आगो निकाल्नेको जात के थियो ?

बाहुन भनुँ शूद्रले सराप्छन् 
शूद्र भनुँ वैश्यले हेप्छन्
वैश्य भनुँ क्षत्रीले होच्याउँछन्
क्षत्री भनुँ बाहुनले थिच्छन्
दाउ हेरिरहेजस्ता लाग्छन् सबै
निहुँ खोजिरहेझैँ लाग्छन् सबैसबै  

यिनै चराचुरुङ्गीको स्वर मिसिएपछि 
आमाको गाली स्वादिलो लाग्छ 
यिनीहरू कुन जातका हुन् ?
झार जिलाउँदै छरेको अन्न टुसाउँदा
बुझ्छु बाको थप्पडको अर्थ
यी बिरुवाहरू कुन धर्मका हुन् ?

गाउँ छोएर बग्ने कलकल नदी  
कुन राजनीतिको हो ?

मरेपछि सबैसबै माटो हुनेभए
कुन रङको माटोमा मैले टेक्नुनहुने हो ?

भन्नूस् न आमा !
कुन जातको बनेपछि मैले 
कुनै जातको हुनुपर्दैन ?
कुन धर्मको बनेपछि मैले 
कुनै धर्मको हुनुपर्दैन ?
कुन पार्टीको बनेपछि मैले 
कुनै राजनीतिको हुनुपर्दैन ? 

हिमाल,
पहाड,
तराईबाहेक
कुन ठाउँमा जन्मिएको भए 
म यो देशको हुनेथिएँ ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell