PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थपिएका १४ लाख युवा मतदाता हुँदैछन् 'निर्णायक शक्ति', सरप्राइज हुनसक्छ मतपरिणाम



नेत्र तामाङ

थपिएका १४ लाख युवा मतदाता हुँदैछन् 'निर्णायक शक्ति', सरप्राइज हुनसक्छ मतपरिणाम

काठमाडौँ : यतिबेला वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु स्थानीय तहमा खसेको मतको आधारलाई मानेर सम्भावित चुनावी परिणाम जोडघटाउ गरिरहेका छन्। अधिकांश स्थानमा वाम गठबन्धन अगाडि देखिएको तथ्याङ्कले देखाएको छ। यही आधारमा कतिपय उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित हुने दाबी गरिरहेका छन् भने कतिपय उम्मेदवार अत्तिएका देखिन्छन्।

तर स्थानीय निर्वाचनपछि झन्डै १४ लाख नयाँ मतदाता थपिएका छन्। ती मतदाता नै निर्णायक हुने कारण आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम सरप्राइज हुनसक्ने विज्ञहरुले आंकलन गरेका छन्।

कहाँ कति थपिए मतदाता?

सि.नं जिल्ला थपिएका मतदाता
1 ताप्लेजुङ 7633
2 पाँचथर 8596
3 ईलाम 14776
4 झापा 75012
5 संखुवासभा 8404
6 तेह्रथुम 6037
7 भोजपुर 8343
8 धनकुटा 9832
9 मोरङ 80915
10 सुनसरी 53141
11 सोलुखुम्बु 7676
12 खोटाङ 9534
13 ओखलढुङ्गा 10755
14 उदयपुर 18452
15 सप्तरी 14749
16 सिराहा 12775
17 दोलखा 14396
18 रामेछाप 17941
19 सिन्धुली 13274
20 धनुषा 15283
21 महोत्तरी 9287
22 सर्लाही 18965
23 रसुवा 4566
24 धादिङ 27473
25 नुवाकोट 22392
26 काठमाडौँ 44220
27 भक्तपुर 16568
28 ललितपुर 15243
29 काभ्रेपलान्चोक 41438
30 सिन्धुपाल्चोक 27852
31 मकवानपुर 27834
32 रौतहट 6411
33 बारा 16269
34 पर्सा 8838
35 चितवन 41033
36 गोरखा 20392
37 मनाङ्ग 785
38 लम्जुङ्ग 9464
39 कास्की 30670
40 तनहुँ 16785
41 स्याङ्जा 18805
42 गुल्मी 15562
43 पाल्पा 18993
44 अर्घाखाँची 11628
45 नवलपरासी 60059
46 रुपन्देही 63980
47 कपिलवस्तु 25214
48 मुस्ताङ्ग 1164
49 म्याग्दी 4075
50 बाग्लुङ 10480
51 पर्वत 8055
52 रुकुम 10026
53 रोल्पा 13425
54 प्युठान 11192
55 सल्यान 8956
56 दाङ 47764
57 डोल्पा 2064
58 मुगु 2580
59 जुम्ला 4381
60 कालिकोट 3933
61 हुम्ला 2873
62 जाजरकोट 4989
63 दैलेख 6979
64 सुर्खेत 20176
65 बाँके 30637
66 बर्दिया 19293
67 बाजुरा 4884
68 अछाम 9161
69 बझाङ्ग 6665
70 डोटी 5656
71 कैलाली 57300
72 दार्चुला 2606
73 बैतडी 7493
74 डडेलधुरा 5952
75 कन्चनपुर 29240
कुल जम्मा 1370249
 

थपिएका मतदाता कस्ता ? 

स्थानीय निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार थियो। निर्वाचन सकिएलगत्तै आयोगले पुनः स्थानीय स्तरमै मतदाता नामावली संकलन गरेको थियो। त्यसपछि झन्डै १४ लाख नयाँ मतदाता थपिए। आयोगको आँकडाअनुसार स्थानीय निर्वाचनपछि १३ लाख ७० हजार २४९ नयाँ मतदाता थपिएका छन्। अहिले कूल १ करोड ५४ लाख २४ हजार ७,३१ मतदाता रहेका छन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार थपिएका अधिकांश मतदाता युवा हुन् भने बाँकी पहिले नामावली संकलनमा छुटेकाहरु हुन्।

‘स्थानीय निर्वाचनपछि भदौसम्म १८ वर्ष पूरा भएकाहरु मतदाता सूचीमा थपेका छन्, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा यी मतदाताहरुले सक्रिया सहभागिता जनाउने निर्वाचन आयोगको विश्वास रहेको छ,’ ढकालले पहिलोपोस्टलाई भने। 

थपिएका मतदाता अघिल्ला पटक मतदाता सूचीमा नाम भर्ना नपाएकाहरु पनि होलान् नि भन्ने प्रश्नमा उनले भने, ‘एकदमै कम छन्, किन भने निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि नै पटकपटक मतदाता नामावली संकलन गरेको थियो। त्यसैले यसपटक थपिएका अधिकांश मतदाता युवा नै हुन्।’

युवाहरु मतदान प्रक्रियामा सक्रिया सहभागी नहुने विगतका तथ्यांकले देखाए पनि यो पटकको निर्वानमा सक्रिय सहभागी हुने ढकालले बताए।

युवाको मत कसलाई?

सामाजिक विज्ञानका विश्लेषक उद्धव सिग्देलका अनुसार ‘राजनीतिको घेराभित्र प्रवेश नपाएकाले स्थानीय निर्वाचनमा धेरै युवा मतदान प्रक्रियामा सहभागी भएनन्।’ 

प्रमुख राजनीतिक शक्तिको नेतृत्वमा र उम्मेदवारमा पुरानै अनुहार हाबी भएकाले युवाहरु नयाँ शक्तितिर ढल्किन सक्ने खतरा रहेको सिग्देलले उल्लेख गरे। उनले भने, ‘पुराना राजनीतिक दलले केन्द्रीय राजनीतिमा युवालाई स्थान नै दिएका छैनन्, त्यसैले युवा पुरानो अनुहार हेरेर वाक्क भएका छन्, विश्वमा दुई कार्यकाल अर्थात आठ वर्षभन्दा बढी अवधि पदमा नबस्ने परम्परा रहेपनि हाम्रोमा उही व्यक्ति दोहोरिरहन्छ।’

४० प्रतिशत युवाको आकर्षण नयाँ दलतिर

प्रमुख दलहरूमा युवा उम्मेदवारले अझै ठाउँ नपाएकाले युवा नयाँ दलतिर आकार्षित भएको देखिन्छ। सिग्देलका अनुसार ४० प्रतिशत युवा वैकल्पिक शक्तितिर आकार्षित हुने सम्भावना छ। उनी थप्छन्, ‘कतिपय युवाहरुमा पुरानै शक्तिको प्रभाव रहेपनि नयाँ मतदातामध्ये ४० प्रतिशत नयाँ दलतिर ढल्कने देखिन्छ । नयाँ दलहरु सोसल मिडियामा अपडेट भइरहने भएकोले पनि नयाँ दलहरुले युवाको मन तान्ने देखिन्छ।’

वाम गठबन्धनका कारण कांग्रेसलाई राहत

नयाँ दलले देशभर उम्मेदवारी दिन नसकेका कारण कांग्रेसलाई राहत मिल्ने सिग्देलले बताए । यसपटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनमा विशेषगरी कांग्रेसले प्रदेश सभामा युवा उम्मेदवारहरुलाइ मौका दिएकाले पनि युवाहरुको मत उसले तान्ने सम्भावना रहेको उनको प्रक्षेपण छ।

विश्लेषक सिग्देलले भने, ‘युवा लोकतन्त्र मनपराउँछन्, स्वतन्त्रता मनपराउँछन्, अहिले सोसल मिडियामा हेर्नुहोस, उनीहरु आफुलाई मनपरेको कुरा व्यक्त गरिरहेका छन्, जुन कुरा लोकतन्त्रले मात्र उपलब्ध गराउन सक्छ, त्यसैले पनि युवाहरुको आकर्षण लोकतान्त्रिक गठबन्धनले तान्न सक्छ। अर्को कुरा यसपटक कांग्रेसले अधिकांश प्रदेशमा युवालाई टिकट दिएको छ, यसले युवाले सक्रिया सहभागिता जनाउनेछन्।’
वाम गठबन्धनमा टिकटको रस्सकस्सीले धेरै युवाहरु राजनीतिक रिङ बाहिर परेकाले वाम गठबन्धनका समर्थकहरू मतदानमासमेत भाग नलिने उनको आकलन छ।
 

कांग्रेसको दाबी, बहुमत हाम्रै पक्षमा आउनेछ

कांग्रेस केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले स्थानीय निर्वाचणमा जति ठुलो आँकडा देखाएपनि कांग्रेसलाई कुनै असर नपर्ने दाबी गरेका छन्। 

खाँणले भने, ‘एमाले र माओवादीले जतिसुकै ठुलो स्थानीय निर्वाचनको आँकडा देखाएपनि कांग्रेसलाई फरक पर्दैन, नेपाली जनताले देखेकै भोगेकै कुरा हो, नेपालमा जनमत बदलिदैं आएको छ।’ 

खाँणले थपे, ‘०३६ सालमा घोषित जनमत संग्रहमा निर्दलीय २४ लाख बहुदललाई २० लाख आयो। तर ४७ सालमा बहुदल ४० लाख भयो। पञ्चायत १२ लाखमा झर्‍यो। ०६४ को निर्वाचनमा माओवादीले बहुमत ल्याएको थियो। तर, त्यही पार्टी ७० मा तेस्रो भयो। त्यसैले पुराना पुस्ताको निर्देशनमा नयाँ पुस्ताको साथ र सहयोगमा नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याउने छ।’ 

यसपटक कांग्रेसले युवाहरुको सहभागिता बढाएको उल्लेख गर्दै खाँणले समानुपातिकमा ४५ प्रतिशत र प्रत्यक्षमा ५५ प्रतिशत मत पाएर ८० सिट भन्दा बढी कांग्रेसले जित्ने सुनिश्चित भइसकेको दाबी गरे । 

दुई तिहाई ल्याउने वाम गठबन्धनको दाबी

वाम गठबन्धनमा जम्म १ सय ५८ स्थानमा उम्मेदवारी दिएको छ। जसमा एमालेले ९६ सिटका लागि उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले ६२ सिटका लागि उम्मेदवारी दिएको छ। 

एमाले र माओवादी केन्द्रका नेताहरुले वाम गठबन्धन दुई तिहाइ बहुमतका लागि भएको दाबी गर्दै आएका छन्।

साझा घोषणापत्र सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वाम गठबन्धनले बहुमत ल्याउने र त्यही सरकारले राजनीतिक स्थायित्व कायम गर्ने दाबी गरेका छन् । उनले भने, ‘वाम गठबन्धन राजनीतिक स्थायित्व र आर्थिक संवृद्धिका लागि हो। ७० वर्षयता अल्मलिएको राजनीतिलाई भूमरीलाई अन्त्य गर्ने जमर्को हाम्रो हो।’

सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन दुई तिहाईको लागि भएको बताए । यद्यपि एमाले र माओवादीका नेताहरुले यति नै सिट जित्छ भनेर दाबी अहिलेसम्म गरेका छैनन् । दुई तिहाईका लागि १ सय ८ सिट आवश्यक रहन्छ।

तर, टिकट वितरण र अस्वभाविक गठबन्धनका कारण एमाले र माओवादी कार्यकर्तामाझ भित्रभित्रै असन्तुष्टि चुलिदैं गएकोले दुई तिहाई वाम गठबन्धनका लागि मुश्किल हुने कतिपयको विश्लेषण रहेको छ । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell