PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वडाध्यक्ष माग्दै थिइन्, प्रदेश सभा सदस्य हुने भइन् : को हुन् अनिता जसको नाम देख्दा विराटनगरको व्यवसायिक समुदाय छक्क पर्‍यो?



अनन्तराज न्यौपाने

वडाध्यक्ष माग्दै थिइन्, प्रदेश सभा सदस्य हुने भइन् : को हुन् अनिता जसको नाम देख्दा विराटनगरको व्यवसायिक समुदाय छक्क पर्‍यो?

विराटनगर : स्थानीय तहको चुनावताका विराटनगर महानगरपालिकाको निर्वाचनमा मारवाडी समुदायकी एक सक्रिय महिला अनिता सोनीलाई पनि वडाध्यक्षमा चुनाव लड्न मन थियो।

अनिताका स्वर्गीय ससुरा बैजनाथ सोनी २०४९ को स्थानीय निर्वाचनमा विराटनगर वडा नम्बर ९ बाट वडाध्यक्षमा निर्वाचित थिए। ससुरा बैजनाथकै जस्तो वडाध्यक्ष भएर आफ्नो वडामा सेवा पुर्‍याउने इरादा अनिताले पनि राखेकी थिइन्। 

वडा नम्बर ९ स्थानीय तहको पुनःसंरचनापछि वडा नं.७ मा पर्छ। 

हरेक स्थानीय निर्वाचनमा मारवाडी समुदायका कम्तिमा २ जनालाई वडाध्यक्षमा टिकट दिने नेपाली काङ्ग्रेसले गत चुनावमा भने आफ्नो निरन्तरतालाई कायम राख्न सकेन। काङ्ग्रेसले पाखा लगाएको अनुभव यहाँको मारवाडी समुदायले गर्‍यो। ससुराको उत्तराधिकारलाई कायम राख्ने आकांक्षा राखेकी अनिता निरास भइन्।

आफ्नो पार्टीका परम्परागत मतदाता रहेको यो समुदाय रुष्ट भएको काङ्ग्रेसका नेता एवम् केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले चाल पाए। अनि विराटनगरको मारवाडी समुदायका घरघर गएर रुखमा मतदानका लागि अनुरोध गर्न थाले। अनिताका घरमा त्यस वडाका प्रतिष्ठित मारवाडीको पटकपटक बैठक गरियो।

आफू वडाध्यक्षमा चुनाव लड्न चाहेको तर टिकट नपाएको गुनासो र आक्रोश अनिताले डा. कोइरालासित स्पष्ट ढङ्गमा व्यक्त गरिन्। 
कोइरालाले महानगरपालिकाको बोर्डमा अनितालाई जसरी पनि ल्याउने आश्वासन दिए। यसैबीच मेयर र उपमेयर जिते पनि काङ्ग्रेसले महानगरमा सुविधाजनक बहुमत हासिल गरेन। फलतः अनिताको नम्बर काटियो, उनी बोर्डमा आउन सकिनन्।

विराटनगरको व्यापारिक समुदायबाट प्रतिनिधिसभामा समानुपातिक कोटाबाट आउन दुई वरिष्ठ उद्यमी न्वारानको बल निकालेर प्रयासरत थिए। उनीहरू महेश जाजू र पवनकुमार शारडा थिए। जाजू र शारडाको नामले विराटनगरको चियामा तूफान ल्याइरहेको थियो। एक्कासि खर्बपति उद्योगी विनोद चौधरीको काङ्ग्रेस प्रवेशले जाजू र शारडाको तूफान आकाशमै विलीन भयो।
 
अर्कातिर सामान्य व्यावसायिक परिवारकी अनिता प्रदेश सभामा समानुपातिक तर्फबाट आउन भित्रभित्रै, शान्त र मौन ढङ्गले क्रियाशील थिइन्। श्रीमान् महेश सोनीको मोरङका सबै काङ्ग्रेसीसित घनिष्ठता छँदैथियो। उनी गोल्डेन ग्लोब लिकर्स नामको मदिरा उद्योगका सञ्चालक हुन्। स्वर्गीय बैजनाथले नै कोइराला निवास र अन्य काङ्ग्रेस नेतासित बनाएको मधुर सम्बन्ध अझै भत्किएको थिएन। डा. कोइरालाको स्पष्ट समर्थन र सहानुभूति अनिताप्रति छँदैथियो।

अन्ततः प्रचारबाजी र मिडियाबाजीभन्दा अनिताको मौन र शान्त पहल बढी प्रभावकारी र सफल सिद्ध भयो। उनी प्रदेश सभामा नेपाली काङ्ग्रेसको समानुपातिक कोटामा सदस्य पदका लागि उम्मेदवार भएको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गर्‍यो। विराटनगरको व्यावसायिक समुदाय छक्क पर्‍यो।

को हुन् अनिता ?

विराटनगरको मारवाडी समुदायका मुरलीधर साबुका ५ छोरीमध्ये साहिँली अनिता आफ्नो विवाहपूर्व नै समाजसेवामा सक्रिय थिइन्। विराटनगरमा युवाको व्यक्तित्व, नेतृत्व र नैतिक चरित्रको विकासमा कहलिएको आदर्श निर्माण मन्दिरमा उनी क्रियाशील रहिन्।

विवाहपछि उनी मारवाडी महिला मञ्च र माहेश्वरी महिला मञ्चमा आबद्ध भइन्। माहेश्वरी महिला मञ्चको सन् २००९ देखि २०१३ सम्म राष्ट्रिय अध्यक्ष नै भइन्। 

राष्ट्रिय अध्यक्ष हुँदा उनले न्यून आर्थिक अवस्था भएका ८ जोडीको सामूहिक विवाह गराइन्। बिहाको खर्च, दाइजो सबै खर्च मञ्चले नै ब्यहोर्‍यो। यस्तो पुण्य काममा म पनि सेवा गर्छु भन्दै दयानन्द क्याटरिङ कम्पनीले खाना र टेन्टको रकम लिन मानेन।

यही अवधिमा अखिल भारतीय माहेश्वरी महिला मञ्चको राष्ट्रिय बैठक र पूर्वाञ्चल सम्मेलन विराटनगर गरियो। भारतको प्रसिद्ध बाङ्गड ग्रुपका अलका बाङ्गड त्यस बेला विराटनगर आएकी थिइन्।

अनिता हाल रोटरी क्लब डाउन टाउन विराटनगरकी उपाध्यक्ष र सन् २०१०–२० का लागि अध्यक्ष पनि हुन्।

धार्मिक र आध्यात्मिक स्वभावकी उनले भगवान् साईबाबा, कृष्ण, पशुपति र छठका गरी भजनका ४ वटा क्यासेट पनि निकालेकी छन्।

‘म राजनीतिमा योग्य छु भत्रे मलाई विश्वास छ’, अनिताले भनिन्, ‘अहिले केही बोल्दिन, प्रदेश सभामा गएपछि कसैले नबिर्सने र दिगो काम गरेर देखाउँछु, हेर्दै जानुहोला।’

विराटनगरमा मारवाडी समुदायका महिला हरेक विधामा योग्य, शिक्षित र कर्मठ रहेको उल्लेख गर्दै उनले उनीहरूलाई समाज निर्माणको अग्रपङ्क्तिमा क्रियाशील बनाउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता प्रकट गरिन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell