PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एक जना प्रथम राष्ट्रपतिलाई पाल्न सक्ने हैसियत छैन हाम्रो गणतन्त्रको? 



सूर्य खड्का

एक जना प्रथम राष्ट्रपतिलाई पाल्न सक्ने हैसियत छैन हाम्रो गणतन्त्रको? 

  • टिप्पणी -
कात्तिक २१ गतेको बजारको बिकाउ खबर थियो, पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवको घर भाडा प्रकरण। घर भाडाका विषयमा पटकपटक समस्यामा पर्दै आएका गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादव पुनः समस्यामा परेको खबरले देश विदेशमा नयाँ बहस नै शुरु गर्‍यो। 

सरकारसँग सम्झौता गरी यादवलाई घर भाडामा उपलब्ध गराउँदै आएका ललितपुर महानगरपालिका ४, बागडोलका रविभक्त विष्टले सम्झौता नवीकरण नभएको भन्दै १५ दिनभित्र घर खाली गर्न सार्वजनिक सूचना जारी गरेर डा. यादवको तेजोवध गर्न कुनै कसर बाँकी राखेनन्। 

घरधनी विष्टले पूर्वराष्ट्रपति यादवका नाममा घर खाली गराउने सूचना बिहीबार सञ्चार माध्यममा प्रकाशित गरेर डा. यादव, उनले प्रतिनिधित्व गर्ने संस्था र व्यवस्थाकै खिल्ली उडाए। घर बहाल सम्झौता नवीकरण नगरी जवर्जस्ती विजुलीको विलसमेत भुक्तानी नगरेको लगायतका घरधनी विष्टका दाबीहरु कानुनी रुपमा कति जायज वा नाजायज होलान्? त्यो सम्बन्धित निकायले नै खुट्याउने सवाल हुन्। 

तर, एक जना घरधनी भएकै कारण देशको निवर्तमान प्रथम राष्ट्रपति जस्तो संस्था, पात्र र प्रतीकमाथि कति सहजै र हचुवाका भरमा खनिन सक्छ भन्ने तथ्य पनि यही घटना प्रसंगले उदाङ्गो पारिदिएको छ। 

र, त विकल्पमा एक जना मनकारीले हजार रुपैयाँको सहायता घोषणा गरे उनको घर भाडा तिर्नका लागि। सरकारले पूर्वराष्ट्रपति डा. यादव बस्दै आएको घरको भाडा नतिरेर विवादित गर्न खोजेकाले नै भारतमा बस्ने एक नेपालीले हजार रुपैयाँको चेक पठाएर कस्नुसम्मको व्यङग्य कसे। एक जना आलोचक प्रतिनिधि उमेश कुमार साहले पूर्वराष्ट्रपति यादवको नाममा एक हजार भारतीय रुपैयाँको चेक भारतीय स्टेट बैंकमार्फत यादवको खातामा जम्मा हुने गरी काटे। साहले मधेशी, थारु, जनजातिलाई पनि घर भाडा उठाएर सहयोग गर्न आह्वान गरे।
उसै पनि पूर्वराष्ट्रपति भनेका नेपालको गणतन्त्रका प्रतीक हुन। उनी नेपालमा राजतन्त्रलाई विस्थापन गरेर उदाएको गणतन्त्रका उनै मानक हुन्, पहिलो पूर्वराष्ट्रपति हुनुका नाताले। तर, जो अगुवा उनैको यो हबिगत हुँदा साह वा अरु जो कसैले खिल्लीटियुरी गर्नु आफैमा अस्वभाविक होइन।

यस प्रकरणले सिद्ध गर्छ हाम्रो गणतन्त्रले एक जना प्रथम राष्ट्रपतिलाई पाल्न सक्ने हैसियतमा समेत छैन। उसो भए प्रश्न उठछ, के गणतन्त्रले सात प्रदेशका मुख्य मन्त्री र अरु सयौँ सयौँ जनप्रतिनिधिको लालन पालन र रेखदेख कसरी गर्न सक्छ त?

पूर्वराष्ट्रपति डा. यादवलाई सरकारले दिँदै आएको आवास सुविधाबारे अझै नीतिगत स्पष्टता नभएको भन्दै यादव दु:खी भएको उनका सहयोगीले बताएर डा. यादवको सुविधाभोगी प्रवृत्ति थप उजागर मात्रै पारे।
 
यादवलाई आफ्नो निवास भाडामा उपलब्ध गराउँदै आएका घरधनीले सोमबार एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेपछि पूर्वराष्ट्रपति दु:खी भएको उनका सहयोगीले बताए पनि डा. यादव स्वयं बोलेका छैनन्। अरु बेला आफ्ना पालाका काम कारवाहीहरुको फेहरस्ती सुनाउन पदीय मर्यादा र गरिमा पनि बिर्सीदिने डा. यादव यस प्रकरणमा भने दु:खी मात्रै भएको भनिनु पनि अर्को मजाक खबर हो।

संयोग नै मान्नुपर्छ वहालवाला र पूर्व दुवै राष्ट्रपति यो देशका सम्धी सम्धिनी पनि हुन। गत वर्ष मात्रै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी पूर्वराष्ट्रपति डा. यादवका नातीले बुहारीका रुपमा भित्र्याएका हुन, राजकीय भोजभतेरसहितको विवाह गरेर। सम्धिनी बहालवाला राष्ट्रपति मौजुदा रहँदा पूर्वराष्ट्रपतिलाई एक जना नागरिक विष्टले यो हदसम्मको वेइज्जती गर्दा राष्ट्रपति कार्यालयले झारा टार्ने शैलीमा मात्रै घटनाको सम्वोधन गरेको छ।

पूर्वराष्ट्रपतिको सेवा सुविधा रेखदेखको जिम्मा पाएका राष्ट्रपति कार्यालय, अनि त्यसको कार्यान्वयन गर्ने अन्तिम उत्ताराधिकारी वहालवाला राष्ट्रपति अर्थात डा. यादवकी सम्धिनी विद्यादेवी भण्डारी। तर, यत्रो ठूलो बेइज्जती र अपमानको मामलामा पूर्वराष्ट्रपति दु:ख व्यक्र गर्ने, वर्तमान राष्ट्रपति मात्रै मौनता साध्ने। क्या गजब छ। देशको २४० वर्ष बढी पुरानो राजसंस्थालाई विस्थापित गरेर उदाएका नेपाली गण्तन्त्रको स्वघोषित धरोहर राष्ट्रपति संस्थाको चालामालार।

पूर्वराष्ट्रपतिलाई सरकारले दिने सुविधाबारे स्पष्ट कानुनी व्यवस्था गर्नमा नै एक दशक बितेको छ। पूर्वराष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णयका निगाहामा सरकारी सेवा पाउने चलनमा व्रेक लगाउन अझै किन सकेन? पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालयले आवास, सचिवालय र सुरक्षा जस्ता उपलब्ध गराउँदै आएका सुविधामा किन घर भाडा मात्रै प्रश्न बनेर आउछ घरी घरी?

गत माघमा मन्त्रिपरिषद्ले राजधानीमा घर नभएका पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ दिने र उपत्यकामा घर भएकालाई मासिक एक लाख रुपैयाँ दिने निर्णय गरे अनुसार त्यो रकम भुत्तानी गरेर पूर्वराष्ट्रपति डा. यादवलाई घरधनी विष्टले यो हदसम्मको अपमान गर्ने वातावरण किन सरकारी अंगले, तिनका कर्मचारीले गरे?

दुई हाई प्रोफेसनल छोराका पिता पनि हुन पूर्वराष्ट्रपति डा. यादव, उपत्यकामा घर भएका एक भद्र नागरिक पनि हुन। नागरिकका रुपमा डा. यादव र विष्टको हैसियत समान नै हो। तर पूर्वराष्ट्रपति भएकै कारण उनलाई सरकारले उपलब्ध गराएको घरमा नै बस्नुपर्ने राजहठले बेस्सरी गाँजेको छ। कतिसम्म भने पूर्वराष्ट्रपतिलाई सरकारी आवास नै नभई नहुने अनि सूचना प्रविधिले सिङ्गै विश्व एक औलाबाट सयर गर्न सकिने वर्तमान जुगमा पूर्वराष्ट्रपतिको राजधानीमा घर भए नभएको बारे वर्तमान राष्ट्रपति कार्यालयलाई जानकारीसम्म छैन रहेछ। पूर्वराष्ट्रपति यादवको सचिवालयलाई गत असोजमा पठाएको पत्रको जवाफ कात्तिक २१ सम्म पनि राष्ट्रपति  कार्यालयमा पुगेको रहेनछ। पूर्वराष्ट्रपति यादवले राजधानीमा आफ्नो घर भए नभएको जानकारी समयमै शीतल निवासमा नपठाउदा नै पछिल्लो अन्योल उत्पन्न भएको राष्ट्रपति कार्यालयको दाबीले सिद्ध गर्दछ कि दुवैतर्फका सचिवालयहरु नै यो प्रकरणका भित्री मतियार हुन?

राजधानी उपत्यकामा पूर्वराष्ट्रपति यादवको आफ्नो स्वामित्वको घर नभएको दाबी छ। तर उनका छोराहरुको घर छोडेर सरकारी आवस सुविधा नै चाहिने। त्यो पनि सबै सरकारले नै व्यवस्था गरिदिनुपर्ने हठले सिद्ध गर्छ कि सरकारी सुविधा भनेपछि डा. यादव पनि अनावश्यक मरिहत्ते नै गरिरहेका छन। अहिले राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपति यादवको सचिवालय आपसी पत्राचारमा अलमल्लिई रहँदा यादव बसेको ललितपुर बागडोलस्थित घरको बहाल सम्झौत गत साउन यता नवीकरण हुन नसक्नु भनेको वर्तमान राज्य, सरकार पूर्वराष्ट्रपतिलाई पाल्न सक्दैन भन्ने उदाहरण पनि हो।
 
निश्चय नै गणतन्त्र नेपालका प्रथम राष्ट्रपति चुनिएका डाक्टर रामवरण यादवको सात वर्षे कार्यकाल पूरा भए लगत्तै सरकारले उनलाई ललितपुरको बागडोलमा आवासको व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई सम्मानित गरेकै हो। पूर्वराष्ट्रपति, उपराष्ट्रपति र अन्य पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विवादमा पारेर सरकार कानुनी निकास दिन नसक्ने, दलहरु समस्याका समाधान होइन, सूत्रधार बन्ने अनि पूर्वराष्ट्रपति चाहिँ पटकपटक विवादमा परिरहने यो त गणतन्त्रकै गिल्ला हो। यो गणतान्त्रिक गिल्लागिरी कहिलेसम्म?

पूर्वराष्ट्रपति डा. यादव आफै त्याग र सेवाका पर्याय पनि बन्न सक्थे। तर उनले त्यो बाटो नै रोजेन्न। सकेन्न उनले तिर्न मासिक घर भाडा। र, त मासिक घर भाडा नतिर्ने उनै डाक्टरका नाममा घरभेटीले दैनिक पत्रिकामा निकाले सार्वजनिक सूचना। उनी एक जना पढेलेखेका डाक्टर नै हुन। चिकित्सकीय सेवा दिने खालका डाक्टर। यदि उनी साच्चै समाजसेवी भावका हुन्थे भने उनले सहरमा राजनीतिक बर्बराहट गरेर समय खेर फाल्न भन्दा डा. गोविन्द केसीले जसरी दुरदराजका जिल्लामा गएर बिपन्नका लागि स्वास्थ्य सेवा सहुलियतमा पनि संचालन गर्न सक्ने थिए। तर उनलाई त्यो जाँगर किन चल्थ्यो र? सायद बिपन्नका लागि विकट भूगोलमा गएर रिटायर्ड लाइफ समाजसेवी भएर स्वास्थ्य सेवामार्फत बिताउने त उनको सोच नै बन्न सकेन। मुख्य खातिरदारीको सवाल नमूनालायक बन्नुपर्ने हो पूर्वराष्ट्रपतिलाई यसरी बेतुकका बदनामीका भागिदार बनाइरहनु भनेको पूर्व शाहवंशीय राजसंस्थाको परोक्ष महत्व बढ्नु पनि हो।

सम्बन्धित समाचार
पूर्वराष्ट्रपतिको घरभाडा प्रकरण इतिवृत्तान्त



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell