PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौँबाट आएको त्यो फोनकल जसले गोविन्‍दराज जोशीको उम्मेदवारी रद्द गरायो



ऋषिकेश दाहाल

काठमाडौँबाट आएको त्यो फोनकल जसले गोविन्‍दराज जोशीको उम्मेदवारी रद्द गरायो

दमौली : आफ्नै बलवुतामा चुनावी मैदानमा उत्रिएका थिए गोविन्दराज जोशी। माउ पार्टी नेपाली कांग्रेसले चुनावी टिकट नदिएपछि उनी सयौँको दलबलसहित स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगको जिल्ला कार्यालय पुगे। उम्मेदवारी दर्ता पनि भयो। तर, उनको चाहनामा एकाएक अध्यारो छाउँदै थियो। लामो समय सत्ताको रिङबाट बाहिरै रहेका उनको उम्मेदवारीमाथिको ग्रहण बाक्लिँदै गर्द उनी भने निर्वाचन कार्यालय ढुक्दै थिए – कतिखेर उज्यालो आउँछ भन्ने आशामा। 

उम्मेदवारविरुद्धको उजुरीले तनावमा परेका जोशी जिल्ला निर्वाचन कार्यालयको निर्णय सुन्नका लागि प्रतीक्षारत थिए। जोशी जिल्लाका निर्वाचन प्रमुख अर्जुनप्रसाद कोइरालासँग छलफलमै थिए – संवाद आत्मीय नै चलिरहेको थियो। ठीक त्यतिखेरै फोनको घन्टी बज्यो। यो त्यही कल थियो जसले तनहुँको चुनावमा ट्विस्टमाथि ट्विस्ट ल्यायो। आखिर त्यो कल कसको थियो?

'मसँग राम्रैसँग कुरा गरिरहनुभएको मानिस फोन आएलगत्तै अत्तालिएर टेबुलमा घुँडा ठोक्काउँदै बाहिर निस्किनुभयो,' जोशीले त्यो दिनको याद गर्दै पहिलोपोस्टसित भने, 'फर्केर आउँदा उनको अनुहार नीलो कालो थियो। फोन कहाँबाट आएको थियो थाहा छैन – त्यहाँबाट कुनै निर्णय नगर्नू, केन्द्र पठाउनू भन्ने टेलिफोन रहेछ।' 

न्यायाधीशलाई चुनावी कमान सम्हाल्न दिएकाले उजुरीको फैसला जिल्लामै हुनुको साटो निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा तानिएपछि भ्रष्टाचार मुद्दा खेपिरहेका नेता गोविन्दराज जोशीको मनमा चिसो पसिसकेको थियो। उनको अनुमान त्यतिखेर थप पुष्टि भयो जतिखेर – निर्वाचन आयोगले जोशीलाई भ्रष्टाचारी रहेको भन्दै चुनावका लागि अयोग्य हुने ठहर्‍यायो। 

'मेरो केसमा त्यहाँ केही नगर्नू, माथि नै पठाउनू भनिएछ,' जोशीले भने, 'निर्देशन मात्रै मान्ने हो भने त किन चाहियो न्यायाधीश?' आफूविरुद्ध निर्णय सुनेपछि जोशीले ठहर्‍याए – यी पनि स्वतन्त्र रहेनछन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफै स्वतन्त्र उम्मेदवार जोशीविरुद्ध निवेदन दिन निर्वाचन आयोग पुगेका थिए। तनहुँ जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका पौडेलको साटो जोशीलाई उम्मेदवारी दिनुपर्ने मागसहित कार्यकर्ताले पटक-पटक जुलुस नै निकालिरहेका थिए तनहुँमा। नेपाली कांग्रेसले जुलुसकै भरमा जोशीको समर्थन गरेन र रामचन्द्रलाई नै रिझाउन खोज्यो। र, जति बल गरे पनि टिकट पौडेलले नै हात पारे। जोशी त्यतिमा मौन रहेनन्। उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। 

'१२ हजार मानिस मेरो उम्मेदवारीका दिन उपस्थित भएका थिए, मैले सहजै चुनाव जित्ने अवस्था थियो,' जोशीले आरोप लगाए, 'यहीँको निर्वाचन आयोगबाट निर्णय गर्नुपर्ने विषय काठमाडौं पुर्‍याएर पञ्चायतकालीन निर्वाचन आयोगभन्दा नियन्त्रित देखियो।'

जोशीको स्वतन्त्र उम्मेदवारी कांग्रेस नेता रामचन्द्र पौडेलको चुनावी जितका अगाडि सबैभन्दा ठूलो तगारो बन्यो। कांग्रेसको पकेट क्षेत्रमा दुई भेट्रान उम्मेदवार उभिँदा भोट बाँडिने निश्चित थियो। भलै मतपत्रको तौल कुनमा बढी हुन्थ्यो फरक विषय हो। वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठको प्रोफाइल पौडेल र जोशीको तुलनामा कम रहे पनि एकाएक उनको चुनावी वजन बढ्यो। अर्कोतिर केन्द्रीय राजनीतिमा शेरबहादुर देउवासँग भागवन्डाको विषयमा चट्टानी अडान राख्दै आएका पौडेल जोशीको उम्मेदवारीले नराम्ररी झस्किए। विशेष अदालतबाट भ्रष्टाचारी ठहरिएका जोशीको गुमनाम झै रहेको राजनीतिक गतिविधि एकाएक तगारोका रुपमा तेर्सिएपछि पौडेल आफैले उनीविरुद्ध उजुरी दिए। भलै उजुरी उनका कुनै कार्यकर्ता वा अरु नै दलका नेतामार्फत् पेश गर्न सक्थे। 

चुनावी खेलको बीचमा एकाएक मैदान छिरेका जोशीलाई दवाउन पौडेल सक्रिय रहे। 

'डेमोक्रेसीमा चुनाव लड्न उहाँलाई पनि अधिकार भयो र मलाई पनि भयो। यति घटिया स्तरमा गएर यस्तो गर्नुहुन्छ जस्तो लागेको थिएन,' जोशीले भने, 'जनतामा विश्वास गर्ने मान्छेले त चुनाव लडेर हराउनुपर्‍यो नि। कीर्ते जालसाझी गराएर हराउने त पञ्चायतको बेलामा गाउँफर्कमा मात्रै हुन्थ्यो।'

पौडेलको उजुरीको कार्यान्वयन गर्दै निर्वाचन आयोगले जोशीलाई भ्रष्टाचारी रहेको ठहर्‍यायो, यद्यपि उनको मुद्दा सर्वोच्च अदालतले टुङ्ग्याइसकेको छैन। 

तनहुँ निर्वाचन कार्यालयमा काठमाडौंबाट गएको 'त्यो' टेलिफोन कलले जोशीको चुनावी कनेक्सनलाई टुटायो। उनका शुभचिन्तकहरुले सुझाव दिए - निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्न। उनीसँग बलियो विकल्प यही बाँकी थियो। किन उनी मुद्दा हाल्न गएनन् त?

'अदालतले मेरो पक्षमा फैसला गर्छ। तर चुनाव त यही निर्वाचन आयोगले गराउने हो,' जोशीले प्रस्ट्याए,'यो निर्वाचन आयोगले यहाँको निर्वाचन अधिकृतलाई सके रामचन्द्र पौडेललाई निर्विरोध गराउनू, नसके बाकस-साकस साटेर जिताउनू भन्छ।' 

तनहुँ कांग्रेसका बलिया खेलाडी जोशीले आसन्न चुनावमा के गर्लान् त? पौडेलको राजनीतिक दाउपेचमा जोशीको भूमिका के हुन्छ?  प्रतीक्षा गर्नुस्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell