PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिनामंगलमा बनेको उड्डयन संग्रहालय सुरु



पहिलोपोस्ट

सिनामंगलमा बनेको उड्डयन संग्रहालय सुरु

  • वसन्तराज उप्रेती - 
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद प्रसाद उप्रेती ट्रष्टको सहकार्यमा काठमाडौं सिनामंगलमा  अत्याधुनिक एयरवस ३३०-३०० मा उड्डयन संग्रहालय आजबाट सञ्चालनमा आएको छ। 

पच्चिस अर्ब चौसठ्ठी करोड नेपाली रुपैयाँ पर्ने टर्किस एयरको उक्त एयरवस त्रिभुवन विमानस्थलस्थित अवतरण गर्ने क्रममा दुर्घटनामा परेपछि ग्राउण्डेड थियो। त्यसैको प्रयोग गरी उड्डयन संग्राहलय बनाउने अवधारणा आएको ट्रष्टका प्रमुख कार्यकारी अधिकृत  वेद उप्रेतीले बताए।  

नयाँ पुस्तालाई उड्डयन क्षेत्रमा प्रेरित  गर्ने उद्देश्यले वेद उप्रेती ट्रष्टले टर्कीस एयरलाइन्ससँग ग्राउण्डेड एयरवस ३३०-३०० खरिद गरी ७ करोडको लगानीमा संग्रहालय निर्माण गरेको हो।      

उड्डयन संग्रहालयबाट विश्व हवाइ इतिहासको जानकारी तथा उड्ययन क्षेत्रको वर्तमान अवस्था र भविष्यमा आइपर्ने चुनौती लगायतका जानकारी लिन सक्ने उप्रेतीले बताए ।

विश्वव्यापी रुपमा हवाइ उड्ययन क्षेत्रमा प्राविधिकहरुको अभाव हुने अवस्था आउन लागेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनले यस्ता म्युजियमलाई प्राथमिकतामा राख्न आह्वान गर्दै आएको छ। एक दशकपछि व्यावसायिक पाइलट तथा प्राविधिको लोप हुने अवस्थालाई मध्यनजर गर्दै संसारभरका उड्डयन प्राधिकरण अधिकारीहरुलाई उक्त कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठले बताए।

धनगढीमा एयरक्राफ्ट म्युजियम संचालन गरी उक्त क्षेत्रका क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्दै आएको वेद उप्रेती ट्रष्ट गैर नाफामूलक संस्था रहेको उप्रेतीले बताए।

संग्रहालयमा अवलोकनकर्ताले तीन सय पचास भन्दा बढी माइनेटर जहाज, राइट ब्रदरले तयार पारेको मोडल जहाज, एयरवस ३३० को ग्लास ककपिट, पहिलो र दोस्रो युद्धमा प्रयोग भएका फाइटर विमानका रेप्लिका, सयौं कमर्सियल एयरलाइनका जहाज, नेपालको हवाइसेवा र नेपालका जहाजहरु, इक्वेरल हेलिकप्टरर र कयौँ ज्ञानवर्द्धक जानकारी अवलोकन गर्नका साथसाथै जानकारी लिन सक्छन्।

संग्रहालय अवलोकनका लागि विद्यार्थीले एक सय पचास रुपैयाँ, सर्वसाधारणले तीन सय रुपैयाँ र पर्यटकले छ सय रुपैयाँ  तिर्नुपर्छ। संग्रहालयमा कक्षा ९ देखि कक्षा १२मा अध्यन गर्दै आइरहेका विद्यार्थीले सिफारिसमा आधारमा आगामी दश दिनसम्म नि:शुल्क अवलोकन गर्न सक्छन्। सर्वसाधरणले भने संग्रहालयको औपचारिक उद्घाटन पछिमात्र अवलोकन गर्न पाउने उप्रेतीले बताए। 

आठ हजार वर्ग फिटमा निर्माण गरिएको उक्त संग्रहालय परिसरमा बगैंचा बनाउने योजना रहेको उप्रेतीले जानकारी दिए।

उड्ययन संग्रहालयले नागरिक उड्डयन प्राधिकरणको जग्गा प्रयोग गरेबापत मासिक छ सय रुपैयाँ प्रति वर्गमीटर र पफर्मेन्स ग्यारेन्टी स्वरुप ३ लाख रुपैयाँ तिर्ने सम्झौता रहेको उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताए। वेद उप्रेती ट्रष्ट र नागरिक उड्डयन प्राधिकरणबीच गरिएको  उक्त  सम्झौता १० वर्षको लागि रहेको श्रेष्ठले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell