PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

९० हजार अमेरिकीको जागिर खोस्ने रोबोट, जो मानिसमाथि हाबी



पहिलोपोस्ट

९० हजार अमेरिकीको जागिर खोस्ने रोबोट, जो मानिसमाथि हाबी

  • ज्याक्सन/बिबिसी

सन् २०१७ को अप्रिलदेखि अक्टोबरको अवधिमा ड्रोन र रोबोटका कारण ९० हजार अमेरिकीहरु रोजगार बिहीन भएका छन्। आगामी दश वर्षमा १७ प्रतिशत अमेरिकीहरुको जागिर ड्रोन र रोबोटले खाइदिने अनुमान हालै सार्वजनिक भएको छ।

अमेरिका मात्र होइन पूरै विश्वमा ड्रोन र रोबोटले यस्ता कामहरु सजिलैसँग गरिरहेका छन् जुन कामका लागि मानिसको आवश्यकता हुने गरेको छ। एक सय मानिसले जति काम फत्ते गर्छन् त्यति काम २ वटा ड्रोनले गर्ने अध्ययनले देखाएको छ।

ड्रोन निर्माता कम्पनीहरुका अनुसार ड्रोनले कुनै त्रुटी बिना नै काम गर्ने र शतप्रतिशत काम लिन सकिने बताएका छन्।

र्इ-कमर्स, अनलार्इन शपिङ तथा रिटेल सेक्टरमा धेरैजसो कम्पनीहरु लजिस्टिक सपोर्टकालागि ड्रोन र रोबोटको प्रयोग गरिरहेका छन्। रोबोट तथा ड्रोनहरुले सामानहरु उपयुक्त स्थानमा राख्ने, प्याकिङ गर्ने तथा हरेक सामाग्रीको हिसाबकिताब राख्नेसम्मका काम गर्छन्।

अमेरिकाको ठूलो रिटेल कम्पनी वालमार्टको देशभरमा अढाइ लाखभन्दा धेरै गोदामहरु छन्। यसको सबैभन्दा सानो गोदाम पनि १७ वटा फुटबल ग्राउण्ड जत्रो हुने गरेको छ। यस्ता विशाल वेयरहाउसहरुको जिम्मा अचेल रोबोट र ड्रोनहरुलार्इ नै दिने गरिएको छ।

यिनीहरुले ‘फोर्क-लिफ्ट’को सहयोगले सामान उठाएर उपयुक्त स्थानमा राख्ने गर्छन्। यसैगरी सामानको सर्टिङ गर्ने गर्छन्। पहिले यस्ता वेयरहाउसमा मानिसले गर्ने गरेका सबै नै काम बिना त्रुटी गर्ने गरेकाले काम छिटो र सजिलै सम्पन्न हुने गरेको छ। कम्पनीहरुका लागि मानिसभन्दा यस्ता रोबोट तथा ड्रोनहरुबाट काम लिनु सस्तो समेत भएको छ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका असिस्टेन्ट प्रोफेसर फिडेल अदिबका अनुसार हरेक वर्ष मानविय त्रुटीका कारण सामान हराउने वा गोलमाल हुने र यसबाट अर्बौ डलरको नोक्सानी हुने गरेको छ। हिसाब किताबमा गडबडीका कारण पनि कम्पनीहरुले धेरै नै नोक्सानी ब्यहोर्नुपरिरहेको छ।

तर ड्रोन र रोबोटहरुले मानिसले भन्दा पनि उत्कृष्ट रुपमा गोदाममा राखिएका हरेक बस्तुको हिसाबकिताब राख्ने सामानको लगत राख्नुका साथै मूल्यसूचीको बारकोड टाँस्ने काम समेत गर्दछन्।

ड्रोन र रोबोटहरुले रातभर पनि काम गर्छन्। यिनीहरु हिसाबकिताब पनि तुरुन्त गरिदिन्छन्। कुन वस्तुको माग छ त्यसको जानकारी दिने र कुन सामान कता परेको छ त्यसलार्इ यथास्थानमा राख्ने काममा पनि यस्ता रोबोटहरु तेज हुन्छन्। यसैकारण उड्ने ड्रोन र रोबोटहरुलार्इ रिटेल कम्पनीहरुले धेरै नै प्रयोगमा ल्याउन थालेका छन्।

उड्ने रोबोट बनाउने कम्पनी पिंकका सिइओ म्याट इएर्लिङका अनुसार नयाँ मेशिनहरुका कारण गोदाममा सामाग्रीहरुको स्टक ब्यबस्थापन निकै सजिलो भएको छ। यदि मानिसहरुले ५ प्रतिशतमात्र गल्ती गर्छन् भने पनि वेयरहाउसहरुलार्इ यस्तो गल्तीका कारण करोडौं नोक्सान हुन जान्छ । तर यहि नोक्सानलार्इ ड्रोन र रोबोटले शून्यमा झारिदिन्छन्। पिंकले हाल ‘हाइड्रोजन फ्यूल सेल’बाट चल्ने ड्रोन समेत बनाउन सुरु गरेको छ। ब्याट्रीबाट चल्ने ड्रोनभन्दा यसमा अझै बढी समयसम्म काम गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

फ्रान्सको हार्दिस ग्रुपले सामान गन्नकै लागि ड्रोनको निर्माण गरेको छ। आर्इसी नामको यस ड्रोनले उत्कृष्ट काम गर्ने कम्पनीको भनार्इ छ।

रिटेल कम्पनीहरुले पछिल्ला ५\६ वर्षयता मेशिनको प्रयोग गर्न थालेका हुन्। सन् २०१२ मा फेसन ब्राण्ड नेट-ए-पोर्टरले आफ्ना रोबोटहरुले मानिसभन्दा पाँचसय गुना उत्कृष्ट काम गरिरहेको दावी सार्वजनिक रुपमै गरेको थियो। यस्तै अमेजनको ‘किवा’ रोबोट पनि आफ्नो कार्यकुशलताका लागि चर्चित छ।

मेशिनहरुको यस्तै प्रभावकारी काम र कार्यकुशलताले गर्दा मानिसहरुको रोजगारीमाथि प्रश्नचिन्ह खडा भएको छ। पछिल्लो ६ महिनामा ८९ हजार अमेरिकीले रोजगारी गुमाएको तथ्यले रोबोटले मानिसको रोजगारी सजिलै खोस्न सक्ने वातावरण तयार भैरहेको स्पष्ट छ। अमेरिकामा सन् २०२७ सम्ममा मानिसले गरिरहेका १७ प्रतिशत काम रोबोटले गर्ने अध्ययनले देखाएको छ। ती काममा संलग्न मानिसहरुको रोजगारी खोसिने बताइएको छ।

गोदाममा मेशिनहरुको बढी प्रयोग सुरु हुनुका केही फाइदा पनि छन्। यसबाट दुर्घटनाहरु कम हुने र मानिसको ज्यानमाथिको जोखिम भने घट्नेछ। हाल वेयरहाउसमा कार्यरत मानिसहरु अर्को क्षेत्रमा सिफ्ट हुन सक्ने वातावरण समेत रोबोटहरुले बनाइदिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell