PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अदालतले ठहर नगर्दै नाबालिकामाथि गम्भीर आरोप, प्रियङ्काको मृत्यु हत्या कि आत्महत्या?



सविन ढकाल

अदालतले ठहर नगर्दै नाबालिकामाथि गम्भीर आरोप, प्रियङ्काको मृत्यु हत्या कि आत्महत्या?

काठमाडौँ : 'भैँसी चराउन जाँदा भएको यौन सम्बन्ध देखेपछि दिदीले प्रेमीसँग मिलेर भाइको हत्या गरिन्।'

भाइको हत्याको आरोप लागेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरिन्। 

आइतबार केही घण्टाको अन्तरालमा मिडियामा सार्वजनिक भएका दुई समाचार हुन् यी। दुवै समाचारमा प्रहरीको एकतर्फी दावी समेटिएको छ। न पीडित परिवारको केही भनाई छ, न घटनास्थलमा कोही गएका छन्। 

प्रहरीको दावीकारिताका बीच अनुगमनमा गएकाहरुको भने बेग्लै बोली बाहिर आएको छ। बालिकाको शव देखेका प्रत्यक्षदर्शी पत्रकार रामभरोसी महतो भन्छन् - हेर्दा यातना दिएको जस्तो देखिन्छ।   

के हो घटना?

शनिबार दिउँसो करिब २ बजे सिरहा प्रहरीले १६ वर्षकी बालिका प्रियंका यादव र १४ वर्षका संजयकुमार साहलाई पक्राउ गर्‍यो।

पक्राउ परेका दुवै नाबालक थिए। तर उनीहरु माथि प्रहरीले लगाएको आरोप भने सामान्य थिएन। १३ वर्षका भवेशकुमार यादवलाई हत्या गरेको आरोप थियो उनीहरुमाथि। 

प्रहरीले हिरासतमा राखेर घटनाको अनुसन्धान अगाडि बढायो। नियन्त्रणमा लिएको २४ घन्टा बित्न नपाउँदै प्रहरीले यी दुवैलाई भवेशको हत्यारा ठहर गर्दै सञ्चार माध्यमलाई बोलाएर सार्वजनिक गर्‍यो।

आइतबार बिहानै इलाका प्रहरी कार्यालयमा कालो मुकुन्डो लगाएर दुईलाई सार्वजनिक रुपमा उभ्याइयो। प्रहरी प्रधान कार्यालयले केही समय अगाडि अभियुक्त सार्वजनिक गर्दा मुख नदेखाउनू भनेकाले उनीहरुको अनुहार कालो कपडाले ढाकिएको थियो। 

पत्रकारसँगै प्रहरी कार्यालय प्राङ्गणमा प्रियङ्का र सञ्जयका आफन्त, छिमेकी र साथीभाइको बाक्लै उपस्थिति भएको डिएसपी गजुसिद्धी बज्राचार्यले पहिलोपोस्टलाई बताए।

पत्रकार सम्मेलन सकिएपछि मध्याह्न १२ बजेतिर दुवैलाई म्याद थपको लागि जिल्ला अदालत उपस्थित गराइयो। अदालतले उनीहरुलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दियो। म्याद थपपछि इलाका प्रहरी कार्यालय मिर्चैयामा महिला बन्दी राख्ने ठाउँ नभएकाले प्रियङ्कालाई विष्णुपुर पुर्‍याइयो।

विष्णुपुर पुगेपछि साँझ ५ बजेतिर प्रियङ्का नुहाउन भन्दै बाथरुममा छिरिन्। नयाँ भवन भएकाले कोठाभित्रै एटेच बाथरुम थियो। नुहाउन गएको केही समयसम्म पनि उनी निस्किनन्।  

डिएसपी बज्राचार्यका अनुसार बाथरुममा चुकुल थिएन। केही समयसम्म उनी बाहिर नआएपछि सेन्ट्रीमा बसेका प्रहरी जवानले बाथरुमको ढोका खेलेर हेरे। बाथरुममा उनी मृत अवस्थामा फेला परिन्। उनी आफ्नै सलमा झुन्डिएर आत्महत्या गरेको बज्राचार्य बताउँछन्।

प्रहरी दाबी


१६ वर्षकी प्रियङ्का कुनै प्रोफेसनल अपराधी थिइनन्। सञ्जयसित भएको यौन सम्बन्ध लुकाउन उनले आफ्नै भाइको हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ।

बिहान पत्रकार सम्मेलनपछि प्रियङ्का केही अपसेट देखिएकी बज्राचार्य बताउँछन्। 'जुन कुरा लुगाउन उनले भाइको हत्या गरिन् त्यो झनै विकराल रुपमा सार्वजनिक हुँदै थियो', डिएसपी बज्राचार्य भन्छन् 'सबै आफन्त र साथीभाइ देखेपछि उनी केही अपसेट जस्तो देखिन्थिन्।'

'नाबालकलाई फरक विधि अपनाउनु पर्थ्यो'

मुलुकको कानुनले १० वर्षमुनिकाले कुनै अपराध गरे माफी दिने व्यवस्था गरेको छ। १० देखि १६ वर्षसम्मकालाई आधा सजाय मिनाहा गरिन्छ। नाबालकलाई नियन्त्रणमा लिइँदा, सजायँ भुक्तान गर्दा छुटै व्यवस्था गरिएको छ। तर आइतबार प्रहरीले अदालती प्रक्रिया जारी रहँदै दुवै जनालाई अन्य अपराधी झैँ अपराध ठहर भइसकेको जसरी सार्वजनिक गर्‍यो। 

पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी नाबालक अपराधीको सन्दर्भमा प्रहरीले अन्यभन्दा फरक विधि अपनाउनु पर्ने बताउँछन्। उनी भन्छन् 'नाबालकको संवेदनशिलतालाई ध्यान दिनुपर्छ। उनीहरु अन्य झै परिपक्व हुँदैनन्। त्यसैले जस्तो निर्णय पनि गर्न सक्छन्।'

प्रहरीले आत्महत्या गर्न बाध्य पारेको हो : आयोग प्रवक्ता

मानवअधिकार आयोग भने बालिकाको आत्महत्या नभएर प्रहरीले मनोवैज्ञानिक प्रेसर दिएर हत्या गरेको तर्क गर्छ। आयोगकी प्रवक्ता मोहना अन्सारीले पहिलोपोस्टसँग भनिन्, 'प्रहरीले सार्वजनिक गरेर आत्महत्या गर्न बाध्य पारेको हो। प्रहरीले अपराध पुष्टि नभई सार्वजनिक गरेकै कारण उनले आत्महत्या गरिन्।' 

अन्सारीले हत्याको पूर्ण अनुसन्धान नै नगरी प्रहरीले विवरण सार्वजनिक गर्न हतारिएकोमा प्रश्न उठाइन्। यो विषयमा आयोगले पनि अनुसन्धान गरिरहेको जानकारी उनले दिइन्। 

के देखियो अनुगमनमा?


स्थानीय पत्रकार रामभरोसी महतोसहितको टोलीले घटनास्थलको अनुगमन गरेका थिए। महतोले पहिलोपोस्टलाई भने, 'हामीले बालिकाको शव देख्यौँ। प्रियङ्काको शवको पैतालामा रातो डामहरु पायौँ। शरीरमा पनि डामेका दागहरु छन्।' 

यातना दिएको हुनसक्ने संकेत गर्दै उनले भने, 'पोस्टमार्टम रिपोर्ट आएपछि थप केही खुल्ला।' 
उनले नाबालकलाई प्रहरीले अनुसन्धान नै नसकाई अपराधी ठहर भएको झैँ गरी सार्वजनिक गर्नु गलत भएको बताए। 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपाने भने प्रियङ्का नाबालिका भएको नभएको पुष्टि भएपछि थप अनुसन्धान हुने बताउँछन्।



  






 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell