PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'सर्वहारा' जसलाई विप्लव प्रतीकले उपन्यासबाट 'सुपर हिरो' बनाइदिए



स्वेच्छा राउत

'सर्वहारा' जसलाई विप्लव प्रतीकले उपन्यासबाट 'सुपर हिरो' बनाइदिए

जगदिश घिमिरेको 'अन्तरमनको यात्रा' पढिसके पछि कवि विप्लव प्रतीकलाई आफूले पनि किताब लेख्न पर्ने सोच आयो। उनले गुगल गरे 'हाउ टु राइट अ नोबेल'। 

उपन्यास लेख्न सिकाउने सयौं लिंक फेला पारे। केही त खोलेर पनि हेरे। तर उनी हिस्स पर्थे जब खोलेका लिंकहरुले 'उपन्यास लेख्न सिकाउने पेज खोल्न 'यति' डलर तिर्नुस्' भन्थ्यो।
 
विप्लव प्रतीकले पैसा नतिरी उपन्यास लेखिसक्काए। तर आफूले खोलेका लिंकहरु धेरैमा देखेको एउटै निर्देशनलाई दिमागमा नोट गरे। त्यो थियो- 'वान लाइनर तयार गर्नु' र 'हरेक दिन लेख्नु।' यही निर्देशनले उनलाई निर्देशित गर्‍यो। उपन्यास लेख्ने हुटहुटीलाई पूरा गर्न सुरु गरे लेखन यात्रा। १० अध्याय र त्यसमा समावेश हुने चरणहरुको एक एक वाक्य। त्यो एक लाइनबाट सुरु भएको उपन्यास ९ वर्षपछि पाठकको बन्दै छ। आज दरबारमार्गको क्लब डेजाभुमा यसको लोकार्पण हुँदैछ।

तिहारअघि उपन्यासको फर्स्ट लुक सार्वजनिक गर्ने कार्यक्रममा बुद्धिसागरसितको अन्तर्क्रियामा उनले खोलेका थिए, 'किशोर नेपाल नागरिकका सम्पादक हुँदा मलाई एउटा निबन्ध लेख्न भन्नुभएको थियो। त्यो नै मेरो पहिलो गद्यतिरको पाइला थियो।'

'अविजित' जसको अर्थ हुन्छ- कहिल्यै नहार्ने। हरेक छोरोछोरीलाई आफ्नो बुवा अविजित लाग्छ। त्यो सुपर हिरो जो कहिल्यै हार्दैन। कवि तथा गीतकार विप्लव प्रतीकका हकमा आफ्नो बुवा बारे धारणा किन फरक हुन्थ्यो? उनले त आफ्नो बुवालाई हिरो बनाएर केही लेख्ने धेरै अघि सोचेका थिए। 

बुवाको कारण स्कूल मात्र चार पटक फेरे। एक वर्ष त पैसा अभावकै कारण स्कूल नगई समय बिताए। घरको अवस्था कस्तो छ वा घरमा के आवश्यक छ? प्रतीकको बुवाको चासोको विषय थिएन। किनकी उनी समाज परिवर्तनको संघर्षमा थिए। जुन संघर्षको होडले उनलाई सरकारी जागिर समेत नपाउने अवस्थामा पुर्‍यायो। 

हुर्केपछि प्रतीकले बुझे बुवा सुपर हिरो होइनन्। तर ती पात्र हुन् जसको जीवनकथा  कुनै उपन्यासको कथाभन्दा कम छैन। 'सोचेको चाहिं थिएँ आफ्नो बुवाको बारेमा केही न केही त लेख्छु भन्ने', उनले सुनाए,'उपन्यास लेख्ने निश्चित भएपछि बुवा पात्र तय हुनुभयो।' समाजले खोज्ने सफलभन्दा भिन्न एक असल मान्छे लाग्छन् उनलाई आफ्नो बुवा। 'सबै सफल मान्छे असल हुँदैैनन्। मेरो बुवा असल भएर सफल हुनुभएको मान्छे हो। त्यो मान्छे जो अविजित हो', उनले उपन्यासको मुख्य पात्रको नाम अविजित भएको प्रष्ट्याए। 

उपनाम 'सर्वहारा' राख्नाले सरकारी जागिर खानबाट वञ्चित गरिएको थियो विप्लव प्रतीकको बुवा कृष्णप्रसाद सर्वहारालाई। त्यसैक्रममा काभ्रेको कुनै गाउँमा पुगे। क्रान्तिमा होमिएको प्रतीकका बुवाले जमिनदारसँग जग्गाको तमसुक लिए र जलाइदिए। 'देखिस् म के गर्न सक्छु? भन्ने संदेश दिन खोज्नु भएको थियो होला। तर त्यो तरिका ठिक थिएन। गर्न खोजेको कुरा सही भएर पनि त्यसले महत्व राखेन र उहाँ भागेर पुन: काठमाडौं आउनु भयो।' बुवा कृष्णप्रसादको त्यस समयको चेत, अठोट र परिवर्तनको इच्छाशक्ति नजिकबाट हेरेका उनले बुवामा त्यो अविजित पात्र देखे। 

बुवाको प्रवृत्ति र उनले गरेको क्रान्तिको कुरा सुनाई राख्दा शान्त अनि सालिन स्वभावका विप्लव प्रतीकको आँखामा अथाह सम्मान स्पष्ट खेल्छन्। साथै एउटा प्रश्न जरुर उब्जन्छ,'उनीभन्दा बिल्कुल फरक स्वभावका बुवाको व्यवहार, सोचले प्रतीकलाई कसरी प्रभावित गर्‍यो? कसरी आकर्षित भए उनी?'

जवाफ सरल ढङ्गमा दिन्छन,'बुवा समाजलाई आवश्यक परिवर्तनको माध्यम बन्न चाहनुहुन्थ्यो।' यो उनको सोच हो। भन्छन्,'मान्छे माध्यम हो। मैले गीत लेखें, कविता लेखें भन्दिन। म ती शब्द उतार्ने माध्यम बनें। उपन्यासको हकमा पनि भैरहेको कथालाई लेख्ने माध्यम न हुँ।' 

प्रतीक अमेरिकामा नै थिए। अमेरिका बसाई नै उनको उपन्यास लेख्ने सोचको सुरुवात बन्यो। किनकी उनी फुर्सदको थिए। 'नेपालमा भए भेटघाट, कार्यव्यस्तता, कार्यक्रम समारोह भनेरै बित्थ्यो। यता भएको भए किताब लेख्दिनथें।' 

सन् २००८ बाट लेख्न सुरु गरेका थिए। पहिलो शब्द थियो 'भीम बहादुर'। मुख्य पात्रको बुवाको नाम। त्यही पात्रले कथा डोर्‍याउन सुरु गर्छ र पुर्‍याउँछ ९५ हजार शब्द परसम्म। विप्लवले हरेक दिन लेखे। एक हरफ सके एक हरफ वा एक वाक्य वा दुई सय तीन सय शब्द वा त्योभन्दा बढी पनि। सन् २०१२ सम्ममा निरन्तर लेखे र सक्काए।

'लेख्छु। छाप्न योग्य भयो भने प्रकाशित गर्छु नत्र लेख्ने अभ्यास त हुन्छ भन्ने थियो', उनले उपन्यास प्रकाशित गर्ने विषय बारे जानकारी दिए,'२०१२ बाट २०१६ सम्म ९ पटक उपन्यास 'रिभिजिट' गरें। र साथीलाई पढ्न दिएँ। उसले छपाउनु पर्छ भन्ने सल्लाह दियो।' 

विप्लव प्रतीकमा अब उपन्यासकार बन्छु भन्ने प्रफुल्लता चाहिं थिएन। यो उनको दाबी हो। विप्लव आफ्नो लेखनलाई जैन उखान भनेर प्रष्ट पार्छन्, भन्छन्- म निर्वाण प्राप्त गर्नु अघि पनि घाँस दाउरा गर्थें। निर्वाण प्राप्त गरेपछि पनि घाँस दाउरा गर्छु। 'मैले लेख्नुले मलाई लेखक बनाउँला। मेरो किताब मन पराइएला, तारिफ होला। तर म नाक र छाती फुलाएर हिँड्नेमा पर्दिनँ। असफल भएँ भने निराश हुने पक्षमा पनि छैन। किनकी लेखनको उत्रिने नशा चढेको हो।'

किताब प्रकाशनलाई लिएर उस्तो उत्साहित नभएको बताउँछन् उनी। खुशी, उत्साह, प्रफुल्लताको ह्याङ्ग क्षणिक हुनुपर्ने धारणा राख्छन्। लेखनदेखि प्रकाशनसम्म आइपुग्दा अत्याधिक खुशी भएको क्षण सम्झन्छन् र बोल्छन्,'प्रदिप गिरि र केदारभक्त माथेमा सरहरुलाई वक्ताको रुपमा उपस्थित हुन आग्रह गर्दा सहर्ष स्वीकार्नु भयो। म उपन्यास सक्काउँदाभन्दा बढी खुशी भएँ।' त्यो खुशीको ह्याङ्ग एक रातभर मात्र रहेको सुनाउँछन्। नउत्रिने नशाको बानीले राम्रो नगर्ने उनको बुझाई छ। 

उपन्यासकार बन्नु उनले सोचभन्दा परको विषय थियो। त्यसैले उपन्यासले केही देला भन्ने अपेक्षा आफूले नराखेको सुनाउँछन्। 'मैले आफ्नो क्षमता बाहिर चाहेर पनि गर्न सक्दिनथें। अब पाठकको हातमा जान्छ। जस्तो प्रतिक्रिया दिनुहुन्छ त्यो स्वीकार्नु पर्छ। अपेक्षा मैले दिएको छु त्यो भन्दा बढी पाउँदिन।' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell