PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेताहरुले चुनौति देलान्, तर अब जनता लाटा छैनन् : डा. गोविन्द केसी



नेताहरुले चुनौति देलान्, तर अब जनता लाटा छैनन् : डा. गोविन्द केसी

प्राध्यापक डा. गोविन्द केसीको १३ औँ आमरण अनसनपछि उनकै माग र माथेमा प्रतिवेदन अनुरुप चिकित्सा शिक्षा अध्यादेश मन्त्रिपरिषदको बैठकले पास गरेको छ। राष्ट्रपतिले जारी गरेपछि उक्त अध्यादेश कार्यन्वयनमा आउने छ। पटक-पटक अनसन बसेर आफ्नो माग सम्बोधन गराउन सफल भएका डा. केसीसँग अध्यादेशपछि देखिएको अवस्थाको बारेमा सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश।

विधेयक पास नगर्दै संसदको आयु सकियो, मन्त्रिपरिषदको बैठकले अध्यादेशमार्फत् पास गर्यो, के अब तपाईँका मागहरु पूरा भएकै हुन् त ?

मोटामोटी मागहरु सम्बोधन भएका छन्। अरु धेरै कुराहरु सम्बोधन हुन बाँकी भए पनि लामो संघर्षले सोचेअनुरुप प्रतिफल दिएको छ।

अध्यादेश आएपछि केही राजनीतिक दलहरुले विरोध जनाइसकेका छन्। पछि यो कार्यन्वयन हुनेमा कतिको ढुक्क हुनुहुन्छ ?

चुनाव आउँदैछ। सधैं जनतालाई गद्दारी गर्ने सांसदहरु नआउलान्। जनताले राम्रै मान्छे चुन्लान्। यो अध्यादेश तीन करोड जनताको हितमा भएकाले कार्यान्वयन हुन्छ र हुनैपर्छ। यदि कसैले यसमा गद्दारी गर्न खोज्यो भने मलाई जनताको साथ छ। म फेरि सत्याग्रह गर्छु। तर, त्यस्तो स्थिति नआउला।

अध्यादेश कार्यन्वयनमा के कस्तो चुनौति देख्नुभएको छ?

मेरो अन्तिम लडाईँ सकिएको अनुभव गरेको छु। यदि कसैले गद्दारी गरेनन् र राम्रो सांसदहरु आए भने केही चुनौति छैन। तर, नेताहरुको स्वभाव हामीले देखेकै हो, चुनौति भनेकै यही हो। तर, अब जनता लाटा छैनन्।

१३ औँ अनशनको बेला तपाइँलाई चिकित्सा शिक्षाभन्दा बाहिरको क्षेत्रको माग अघि राखेर सहानुभूति बटुल्न खोज्नुभएको आरोप थियो नि ?

ती माग चिकित्सा शिक्षा क्षेत्र बाहिरका हुँदै होइनन्। लुटतन्त्र र सुशासनका हुन्। यदि भ्रष्टाचार नहुने हो भने देश बलियो हुन्छ। भ्रष्टाचार भएको पैसाले सडक, अस्पताल बन्छ। देश विकास हुन्छ। नागरिकको हिसाबले  सोच्दा पनि मेरो माग नाजायज हैन।

अझै यस क्षेत्रमा के-के विकृतिहरु छन् र त्यसलाई अन्त्य गर्न आवश्यक छ?

स्वास्थ्य र शिक्षा क्षेत्रको विकृति धेरै देखिरहेको छु। सिस्टम नै अमर्यादित छ। शिक्षा, स्वास्थ्य गुणस्तरीय हुन सकेको छैन। राज्यले यस क्षेत्रमा बजेट छुट्याउँदा पनि लगानीभन्दा बढी खर्च मात्र देख्छ। विश्वविद्यालय कार्यकर्ता उत्पादन गर्ने थलो मात्र भएको छ। सुधार गर्नुपर्ने कुरा धेरै छन्, जुन एक्लै लडेर सम्भव छैन।

तपाईँले भन्दै आउनुभएको अन्तिम लडाइँ जितिसक्नुभएको छ, अब अनसन बस्ने दिन आउला कि नआउला?

म अनसन बस्छु कि बस्दिनँ भन्ने कुरा देशको अवस्थाले सिर्जना गर्ने कुरा हो। म चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा विकृति देखिए जीवनभर लड्छु भनेर भन्दै आएको छु। अब विकृति देखिएन र राम्रो नेताहरु आएर सबै क्षेत्र राम्रो विकास भए मैले अनशन बस्नु पर्दैन। तर, मलाई के लाग्छ भने मैले एकपटक अनसन बस्नुपर्ने अवस्था अझै आउँछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell