PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दोलखाको लालसत्तालाई लालकुमारको धावा



सूर्य खड्का

दोलखाको लालसत्तालाई लालकुमारको धावा
फोटो फेसबुकबाट

२०४६ सालको कांग्रेस वाममोर्चाको पन्चायत विरोधी संयुक्त जनआन्दोलनमा वाममोर्चाकी संयोजक थिइन् तत्कालीन नेकपा मार्क्सवादी नेतृ सहाना प्रधान। वाममोर्चाको तर्फबाट उपत्यका संघर्ष समितिका संयोजक थिए, दोलखाका माले नेता जीतवीर तामाङ। र, जीतवीरहरुका सारथी थिए पशुपति चौलागाई, लालकुमार केसीहरु।

२०४६ को जनआन्दोलनको सफलतासँगै माले र मार्क्सवादीको एकीकरणपछि मनमोहनअधिकारी एमालेको पहिलो अध्यक्ष भए। २०४८ को आम चुनावपछि विपक्षी दल बनेको एमाले संसदीय दलको नेतामा मदन भण्डारीले संसदीय अध्यक्ष मनमोहन अधिकारीलाई नै प्रस्तावित गरे। तर दुई सांसदले भण्डारीको प्रस्तावको विरोध गरे। विरोध गर्ने दोलखाका दुई सांसद थिए, जीतवीर लामा र ईन्द्रबहादुर खड्का। सांसदद्वय खड्का र तामाङका भित्री ताकत उनै थिए लालकुमार केसीहरु र पशुपति चौलागाईहरु।

लालकुमार केसी वा पशुपति चौलागाईहरु दोलखाका विकट भूगोलमा पंचायतविरोधी आन्दोलनको सशक्त प्रतिकारमा जुटिरहँदा पार्वत गुरुङहरु शायदै राजनीतिमा थिए होलान्। २०५० को दशकको उत्तरार्द्धमा अनेरास्ववियूको महेन्द्र रत्न क्याम्पसस्तरीय राजनीतिमा आकर्षित पार्वत गुरुङ दोस्रो संविधान सभामा सभासद नै रहे।
 
कांग्रेसका विकासवादी शालिन नेता जीपछिरिङ शेर्पालाई एनीहाउ हराउ भन्ने नीति अन्तर्गत शेर्पालाई आइरन कट् आइरन गर्न भन्दै २०७० को संविधानसभा चुनावमा पार्वतलाई एमालेले टिकट दियो। राजनीतिमा मनी, मसल र आवश्यक फसलहरुको प्रयोग गर्न काविल पार्वत पैसाको बलमा टिकट लिन सफल हुँदा लालकुमारहरु उनको चुनाव प्रचारकमा सीमित भए।
 
यस बीचमा सादाजीवन शैली र नैतिक इमानको मूल्यमान्यतामा आधारित राजनीतिका पक्षपाती जीतवीर र ईन्द्रबहादुरहरु राजनीतिबाटै ओझेल पर्दै गए। देशमा पंचायती निरंकुशताको जगजगी भए पनि दोलखामा उप्रेतीहरुको जगजगी भएका बेला वाम राजनीतिको लागि जीवन हत्केलामा राखेर संघर्ष गर्ने पुराना संघर्षशील वाम नेताहरुको लामो सूची छ दोलखामा, जो २०४६ पछि किनारामा धकेलिँदै विस्मृतितिर पुर्‍याइए। 
 
यसबीचमा गौरीशंकरको फेदी भएर बग्ने तामाकोशी नदीमा धेरै थरी पानी बग्यो। २०७४ मंसिर १० को प्रदेश र प्रतिनिधि सभाको चुनावसम्म आइपुग्दा फेरि एमालेको सांसदको टिकट पार्वतले पाएका छन्। प्रदेश सभामा निवर्तमान सांसद पशुपति चौलागाई दोहोरिएका छन्। वाम एकताको सुनामीको फलस्वरुप अर्को प्रदेश सभा सदस्यमा दोलखामा माओवादी आन्दोलनका संस्थापक तथा प्रणेता स्व. रीतबहादुर खड्काका भाइ विशाल खड्का छानिएका छन्। र, लालकुमार केसी भने त्यो एमालेको रक्तरंजित इतिहासको आलोकका बीच खिया पर्दै गएको सीपी मैनालीको नेकपा मालेबाट दोलखा २ मा प्रदेश सभा सदस्यका प्रत्याशी बनेका छन्।

दोलखा जिल्ला लालकिल्ला नै रहयो २०४६ पछि निरन्तर। कांग्रेसका त्यागी नेता स्व. भीमबहादुर तामाङले एकपट्क सांसद बनेको बाहेक अधिकांश समय दोलखाको सदाबहार सत्तारुढ दल नेकपा एमाले नै हो। तर लालकुमार केसीको पछिल्लो विद्रोह नेकपा एमाले दोलखाको भित्री कलहको ठूलो पाटो चियाउने एक प्रतिनिधि प्रसंग हो।
 
यसपट्क केसी एमालेमा टिकटका दाबेदार थिए नै। अयोग्य त कुनै मानेमा थिएनन्। तर उनी पार्वत जति धनी थिएनन्। राजनीतिमा विकासका काम गरेर लालकुमारहरुले गल्ती गरे शायद। इमानको राजनीतिका पर्याय बनेर जीतवीर, इन्द्रबहादुरहरु पलायनभए जस्तै पथमा धकेलिदै गर्दा केसीले मालेबाट टिकट लिएर एमालेको आन्तरिक निरंकुशता, नातावाद, कृपावाद र धनवाद तथा डनवादलाई चुनौति दिएका छन्। एमालेमा त्याग, संघर्ष र नैतिक इमानको होइन धन, डन र शक्तिका पुजारी मात्रै सांसद बन्नेछन् भन्ने दोलखा एमालेको शाही शैलीलाई केसीले धावा बोलेका छन्।भलै त्यो आत्माघाती दुस्साहसको खतरा नै किन नहोस्।

३० को दशकका झापा क्रान्तिका नेता सीपी मैनालीको खिया पर्दै गएको मालेको टिकट लिएर चुनावी समरमा होमिएका केसीले जित्ने सपना त अतृप्त तृष्णामा सीमित हुने पक्कापक्की नै छ। तर पशुपति चौलागाई जस्ता आत्मीय दौँतरी कमरेडसँगको केसीको भिडन्तले कांग्रेसका प्रत्याशी केशव चौलागाईलाई विजयको चिठ्ठा पर्न सक्छ। केसीले आफू जित्ने लक्ष्यका साथ विद्रोह गरे पनि उनी एमाले हराउनभने काबिल साबित हुने पक्काप्रायः छ।

दोलखाली मतदाताका लागि केसीको विद्रोह एमालेको २०४६ पछिको निरन्तरको सत्तारुढ स्थानीय शासनको समीक्षाको अवसर हो। उसै पनि एमाले किल्ला, वाम गठबन्धनको कारणले जित सुनिश्चितभएको ठान्नेहरुकालागि चुनावपूर्वकै असरदार एक धक्का हो। पक्का छ, केसीको जित कठिन छ। तर उनले एमालेको जितमा पनि क्रमभंगता थपे भने उनले शायद सान्त्वना जित मान्नेछन्।

दोलखामा कांग्रेसका सांसद प्रत्याशी रुद्रबहादुर खड्कालाई जितका लागि यो ग्रीन सिंग्नल पनि हुन सक्छ। खड्काले कांग्रेसका सुतेका मतदाता, समर्थकलाई ब्यूझाउँदै एमालेको अन्तरविरोध र असन्तुष्टिमा चलाखीपूर्वक खेले भने जितका हकदार बन्न सक्छन्।
 
प्रदेश (क) मा विशाल खड्का मतदाताका लागि नयाँ युवा टेष्टका रुपमा विजयका दाबेदार हुन सक्छन्। विशाल, पशुपतिकाझैं बागीको संकटमा नहुनु र वामएकताको फाइदाले विजयी बनाउन सक्छ। कांग्रेसका वर्मा लामा भन्दा विशाल संगठन, कार्यकर्ता परिचालन र वाम गठबन्धनका हिसाबले मतदाता सामु हेभीवेट हुन सक्छन ।

एमाले स्थायी समितिमा पुगिसकेका पशुपति चौलागाई बेदाग छविका शालिन र इमान्दार नेता हुन्। र,उनी ३ नम्वर प्रदेशका संभावित मुख्यमन्त्री नै हुन्। तथापि पंचायतविरोधी संघर्षदेखिका  दौतरी केसीको व्यवस्थापनमा चुकेर केसीलाई नै मालेका प्रतिष्पर्धीमा उतार्न एमाले निर्णय पशुपतिका लागि कठिन परीक्षा हो।
 
पूर्वमन्त्री तथा निवर्तमान सांसद आनन्दप्रसाद पोखरेलले सिद्धान्ततः यो चुनावी समरमा पशुपति, विशाल र पार्वतलाई साथ दिनुको विकल्प छैन। तर कार्यकर्ताले अस्वीकार पनि गर्न नसक्ने आत्मसात् गर्न पनि पट्क्कै नरुचाउने पोखरेलको प्रवृत्ति विशाल खड्का र पशुपति चौलागाईँको समर्थनमा कति इमान्दारीपूर्वक चुनावी मैदानमा खटिनेछ भन्ने पनि चुनाव नसकिउन्जेलसम्म परीक्षणकै रुपमा रहने छ।
 
अघिल्लो चुनावमा केसीको टिकट आफूले लिएर मन्त्री खान भ्याएका पोखरेल पशुपतिलाई पनि मनदेखि सघाउने चरित्रका नेता होइनन्। उनले सामाजिक सञ्जालदेखि उम्मेदवारी दर्तासम्म विशाल, पशुपति र पार्वतको पक्षपोषण गरे पनि भित्री रुपमा अन्तर्घातको साजिश गर्न सक्ने चार्तुयता राख्न सक्छन्। देवशम्शेरलाई दिनभरी सघाउने र राति षडयन्त्र गरेर सत्तापलट गर्ने चन्द्रशम्शेरको चरित्रका लागि माहिर पाखरेलको भूमिकाले पनि दोलखाको चुनावी नक्शा र परिणाम प्रभावित हुन सक्छ।
 
दोलखामा कांग्रेस जिते उनीहरुको पौरखभन्दा ज्यादा वामअन्तरविरोधको कागताली बढी प्रमाणित हुनेछ भने लालसत्ताको ओरालो यात्राको नयाँ प्रारम्भ हुनेछ। दोलखाको लालसत्तालाई लालकुमारको विद्रोह एक धक्का हो भन्ने त सामाजिक संजालमा केसीको पक्षमा पोखिएको समर्थनले पनि जनाउ दिएको छ। दोलखाली मतदाताले एमालेको लालसत्ताको हिसाबखोज्ने, सोच्ने र सोध्ने जाँगर गर्लान्, नगर्लान् यो चुनावमा? उत्तर शायदमंसिर १० सूर्योदयदेखि सूर्यास्तबीचको मतदाताको बन्द बाकसमा कैद हुने मतदानले तय गर्नेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell