PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

६ स्थानीय तहमा जितेको कांग्रेस र ३ तह जितेको एमालेबीच बाजुरामा प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

६ स्थानीय तहमा जितेको कांग्रेस र ३ तह जितेको एमालेबीच बाजुरामा प्रतिस्पर्धा हुने

बाजुरा : दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौँ तहमा छ स्थानीय तह जितेको नेपाली कांग्रेस र तीन तह जितेको नेकपा एमालेबीच आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ। 

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो। 

प्रतिनिधिसभामा नेपाली कांग्रेसले पार्टी सभापति कविराज पण्डितलाई अगाडि सारेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धनले एमालेका केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। 

नेपाली कांग्रेसका नेता पण्डितको नेतृत्वमा चार नगरपालिका र दुई गाउँपालिकाको प्रमुख उपप्रमुखसहित कार्यपालिकाको नेतृत्वसमेत कांग्रेसले गर्दै आएको छ भने तीन गाउँपालिकामा एमालेले नेतृत्व गर्दै आएको छ । 

स्थानीय तहमा नेपाली कांग्रेसले जनताको काम गर्न नसक्ने भन्दै वाम गठबन्धनको जित अपरिहार्य रहेको एमाले तथा माओवादी केन्द्रका नेताले बताएका छन्। 

जिल्लाको विकास निर्माण कार्य र समृद्ध बाजुरा बनाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसले जित्न अपरिहार्य रहेको कांग्रेस नेताको भनाइ छ। 

नेपाली कांग्रेसले प्रदेशसभाका लागि निर्वाचन क्षेत्र १ (क) मा पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीलाई उम्मेदवार बनाएको छ भने एमाले र माओवादी केन्द्रले एमाले पार्टी सचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ। 

यस्तै, निर्वाचन क्षेत्र २ (ख) मा नेपाली कांग्रेसले महासमिति सदस्य पदमबहादुर शाहीलाई प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ भने वाम गठबन्धनले एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाहलाई उम्मेदवार बनाएको छ। 

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस र वाम गठबन्धनका दुवै उम्मेदवार बलिया देखिएका छन्। सँगै वकालत गरेका पण्डित र थापा जिल्लामा लोकप्रिय बन्दै गएका छन्। थापा एमालेको जिल्ला अध्यक्ष भएका बेला २०७० सालको संविधानसभाको चुनाव एमालेले जितेको थियो भने पण्डित कांग्रेस पार्टी सभापति भएपछि नौ स्थानीय तहका ६ स्थानीय तहसहित जिल्ला समन्वय समिति जिताएका छन्। 

प्रदेशसभाका उम्मेदवार निर्वाचन क्षेत्र नं १ मा राम्रै परिचित रहेका जनकराज गिरी र वाम गठबन्धनका रेग्मी प्रतिस्पर्धामाछन्। प्रदेशसभाको निर्वाचन क्षेत्र २ मा पनि शाही र शाह उत्तिकै परिचित छन्। 

लामो समयदेखि राजनीतिमा लागेका कांग्रेसका उम्मेदवार शाही जनतामाझ लोकप्रिय छन् भने शाह भने मिलनसार र इमान्दार मानिन्छन्। 

प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेस र संयुक्त वाम गठबन्धन आफ्नो चुनावी रणनीति बनाई कडारुपमा मैदानमा उत्रने देखिएका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell