PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्मात्री बनेका नेपाली फिल्मका अभिनेत्रीहरु



पहिलोपोस्ट

निर्मात्री बनेका नेपाली फिल्मका अभिनेत्रीहरु

काठमाडौं : नेपाली अभिनेत्रीहरुले फिल्म निर्माण गर्ने क्रम बढ्दो छ। नेपाली फिल्म उद्योग व्यवसायिक बन्दै गर्दा अभिनेत्रीहरु अभिनयलाई मात्र कायम राख्नुको सट्टा स्वयं फिल्म निर्माण गर्नतिर लागेका छन्। सोमबार मात्र अभिनेत्री केकी अधिकारीले 'कोहलपुर एक्सप्रेस' बनाउने घोषणा गरेकी छिन्। केकीको निर्माण रहने यो पहिलो फिल्म हुनेछ। हाल केही अभिनेत्री छन् जसले आफ्नो नाममा कलाकार मात्र नभएर निर्मात्रीको ट्याग पनि भिरिसके। को को अभिनेत्रीहरु फिल्म निर्माण गरेर निर्मात्री बने त?

१. रेखा थापा: अभिनेत्री रेखा थापा फिल्म निर्माणमा निकै अगाडि छिन्। अहिले उनी निर्मित सिनेमा 'रुद्रप्रिया' प्रदर्शनरत छ। उनले अन्य सिनेमाहरु रामप्यारी (२०१५), काली, हिम्मतवाली, रामपियारी पनि निर्माण गरेकी छिन्। पतिसँगको सम्बन्धमा रहुन्जेल रेखा फिल्मसको ब्यानरमा दर्जनौं फिल्म निर्माण भए पनि लगानी छविराज ओझाकै रहन्थ्यो। डिभोर्स भएसँगै छविराजले छविराज प्रोडक्शन नामक फिल्म निर्माण कम्पनी खोले र रेखाले एक्लै फिल्म निर्माण गर्न थालिन्।

२. शिल्पा पोखरेल: हाल निर्माता छविराज ओझासँग सम्बन्धमा रहेकी शिल्पा पोखरेल ‌ओझाकै फिल्म ब्यानरको निर्मात्री बनिन्। फिल्म 'मंगलम' मार्फत उनी निर्माता बनेकी हुन्। उनले हिफाजत २ मा पनि आफू निर्माताको रुपमा अगाडि आउने बताएकी छिन्।

३. ऋचा घिमिरे: अभिनेत्री ऋचा घिमिरेले सिनेमा 'तुलशी' निर्माण गरेकी थिइन्। सन् २०१३ मा सार्वजनिक सिनेमालाई उनको श्रीमान् शंकर घिमिरेले निर्देशन गरेका थिए। घिमिरे हाल अमेरिकामा बसोबास गर्दै आइरहेकी छिन्। तुलशी प्रदर्शनपछि उनी सिनेमा क्षेत्रमा सक्रिय छैनन्।

४. ऋचा शर्मा: 'आधा लभ' निर्माण गरेर निर्मात्री बनिन् ऋचा शर्मा। अभिनेता अर्पण थापाले निर्देशन गरेको सिनेमा व्यवसायिक रुपमा सफल नभए पनि समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए। आधा लभमा ऋचाको पनि अभिनय रहेको छ। शर्माले निर्माण गरेको फिल्म 'सुन केशरी'को पनि अस्ट्रेलियामा छायांकन भैरहेको छ।

५. करिश्मा मानन्धर: परिचयमा राजनीतिलाई समेत जोडेकी अभिनेत्री हुन् करिश्मा मानन्धर। सुन्दर अभिनेत्रीको रुपमा उदाएकी उनी हालसम्म कलाकारितामा सक्रिय छिन्। उनले अभिनय मात्र गरिनन् फिल्म निर्मात्रीको ट्यागसमेत लगाइन्। निर्माता एवं निर्देशक रहेका विनोद मानन्धरसँगै करिश्मा पनि 'बाबुसाहेब', 'फागु' जस्ता फिल्मको निर्मात्री बनिन्।

६. झरना थापा: अभिनेत्री झरना थापाले निर्माता पति सुनिल थापासँगको सहकार्यमा थुप्रै फिल्म निर्माण गरिन्। उनको निर्माणमा बनेका तक्दिर, गोर्खाली, धर्मसंकट, फेसबुक जस्ता फिल्म सार्वजनिक छ। केही समयअघि मात्र सार्वजनिक फिल्म 'ए मेरो हजुर २' झरनाको पारिवारिक निर्माण रहेको फिल्म हो। फिल्ममार्फत झरना निर्देशकसमेत बनेकी छिन्।

७. रेजिना उप्रेती: अभिनेत्री रहेकी रेजिना उप्रेतीले पनि निर्माताको भूमिका निभाइन्। उनले सन् २०१३ मा 'बरदान' निर्माण गरेकी थिइन्। फिल्ममा राजेश हमाल, करिश्मा मानन्धर र रेजिना उप्रेतीको अभिनय रहेको थियो।

८: पूजा शर्मा: सिनेमा प्रेमगीतबाट चर्चामा आएकी अभिनेत्री हुन् पूजा शर्मा। उनले सन् २०१७ मा निर्देशक सुदर्शन घिमिरेसँग मिलेर 'म यस्तो गीत गाउँछु' निर्माण गरिन्। व्यवसायिक रुपमा सफल भएपछि उनले अर्को सिनेमा बनाउने घोषणासमेत गरेकी छिन्।

९. सुस्मिता केसी: अभिनेत्री सुस्मिता केसीले फिल्म 'म त तिम्रै हुँ' निर्माण गरिन्। छोरा अनमोलको नाममा फिल्म निर्माण गरेकी केसी व्यवसायिक एवं समीक्षात्मक रुपमा असफल ठहरिइन्। हाल उनी आफू अभिनित 'पिंजडा ब्याक अगेन'को प्रचारमा लागेकी छिन्।

१०. नीशा अधिकारी: अभिनेत्री नीशा अधिकारीले निर्माण गरेको फिल्म 'झ्यानाकुटी' आउँदो मङ्सिर १ गते रिलिज तयारीमा छ। यो नीशाको पहिलो प्रोडक्शन हो। फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell