PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मानिसको स्वभावले पनि आत्महत्याको बाटो देखाउँछ



मानिसको स्वभावले पनि आत्महत्याको बाटो देखाउँछ

  • डा. निराकारमान श्रेष्ठ
कोहीकोही मानिसको स्वाभाव आफ्नो दुर्गतिमा भन्दा अरुको प्रगतिमा दुःखी हुने हुन्छ जसका कारण उनीहरु जीवनभर खुशी हुन सक्दैनन्। मानसिक रोग भएका मानिसहरुमा यस्तो स्वभाव देखिन्छ। मानसिक रोग हुनेहरु तथा यस्तो स्वभाव हुनेहरुमा आत्महत्या गर्ने सम्भावना बढी हुन्छ। 

मानिसको स्वभाव र बानीव्यहोराले नै आत्महत्याको बाटो देखाउँछ। विशेष गरी यस्तो निर्णय किशोरकिशोरी तथा ३० वर्षभन्दा मुनिका मानिसले गर्छन्। किनकि उनीहरुमा तातो रिस र आवेगात्मक भावना बढी हुन्छ। अरुलाई देखाउने तथा घुर्काउने बानीले गर्दा नचाहँदा नचाहँदै जिन्दगीलाई नै जोखिममा पार्ने निर्णय गर्छन्।

घातक निर्णय गर्नेहरु विशेष गरी प्रेममा असफल भएकाहरु, डिप्रेसनका पीडित, मानसिक रोगीहरु र जीवनदेखि हार खाएका हुन्छन्। 
आत्महत्या गर्नेहरु सबै मानसिक रोगी हुँदैनन्। यस्तो निर्णय मान्छेको स्वभाव तथा अवस्थामा भर पर्छ। मानसिक दबाब तथा तनावमा भएको बेला मानसिक अवस्था असन्तुलित हुने भएकाले यस्तो अवस्थामा खतरनाक निर्णयबाट मानिसहरु जोगिन सक्दैनन्।

मन सधैं एउटै कुरामा घुमाइरहँदा मनमा नराम्रो असर पर्छ। हाम्रो मस्तिष्कमा समेत असर पुर्‍याउँछ। शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटी हुन्छ। त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाइ गर्नुहुँदैन। धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन्छन। जसले गर्दा मनमा अशान्ति फैलने र मनोरोग लाग्ने गर्छ।  

दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल। असफल भएका कारण हतास हुन हुँदैन। असफलताको कारण पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नु पर्छ।  कहिलेकाहीं हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन्। यस्तो अवस्थामा आत्तिनु हुँदैन। बरु देखिएका समस्याका विषयमा एउटा योजना बनाई अघि बढ्नुपर्छ।  छ त्यसमा सन्तुष्ट बन्नुपर्छ। तर, मिहिनेत गर्न भने छोड्नुहुँदैन। धेरै मानिस आफ्नो विगतलाई बिर्सन्छन्। त्यस्ता मानिस वर्तमानमा सन्तोष लिन सक्दैनन्। फलस्वरुप मानसिक रोगी बन्न पुग्छन्।

लागूपदार्थ तथा दुर्व्यसनीमा फसेकाहरुमा मानसिक रोग लाग्ने बढी सम्भावना हुन्छु।  रक्सीको मातमा झगडा गर्ने, श्रीमतीमाथि शंका गर्ने गर्दा परिवारमा मानिसहरु लागूऔषध दुर्व्यवहारमा फँस्छन। दैनिक २–४ हजार रकम खर्च हुन्छ। त्यसैले पैसाका लागि अनैतिक काम हुने गर्छ। यस्तै कारण उनीहरुलाई मानसिक दबाब पर्न थाल्छ।

परिवार तथा समाजको अस्वस्थ वातावरणले मानिसको मानसिकतामा नकरात्मक प्रभाव पर्छ। अति नैतिकवान बन्ने र अरुबाट त्यस्तै आशा राख्नु हुन्न। नैतिकवान मानिस अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षणमा ध्यान पुर्याउँछन्। तर, समाजबाट यस्ता मानिसले धोका पाउँछन्। अनि उनीहरु मन दुखाउन पुग्छन र मनोरोग लाग्न पुग्छ।

मानसिक रोगबाट बच्न अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने गर्नुपर्छ। आफनो प्रगति चाहनु राम्रो पक्ष हो। तर, हामीमा केही गलत धारणा पनि हुन सक्छन्। अर्काले प्रगति गर्दा आफूलाई ‘नकारात्मक मूल्याङकन गर्ने’ बानी असाध्यै नराम्रो र संकिर्ण सोचाई हो।

मनका कुरा अरुलाई भन्ने बानी गर्नुपर्छ। ठूलो समस्या आउँदा पनि अरुलाई नभन्ने बानी गर्दा मनमा अशान्ति फैलिन्छ। आफ्नो समस्याहरु नभन्दा हावा भरिएको प्रेसर कुकर झैं विस्फोट हुने वा अचानक सिठ्ठी लाग्ने जस्तो गरी मनमा पनि ठूलो असर पर्छ। 

(मानसिक रोग विशेषज्ञ डा. श्रेष्ठसित सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell