PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बैतडीमा दुई गठबन्धनबाट वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा, कडा प्रतिस्पर्धा हुने आकलन



पहिलोपोस्ट

बैतडीमा दुई गठबन्धनबाट वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा, कडा प्रतिस्पर्धा हुने आकलन

  • विनोदसिंह बिष्ट 
बैतडी : पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। 

अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चुनावी मैदानमा छन्। 

यस्तै, वाम गठबन्धनबाट साझा उम्मेदवार नेकपा एमालेका नेता पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारी पनि प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका छन्। पूर्वअर्थराज्यमन्त्री भण्डारी केपी ओली प्रधानमन्त्री रहँदा अर्थराज्यमन्त्री थिए। 

यसअघि वि.सं. २०७० मा सम्पन्न भएको संविधानसभा निर्वाचनमा दुवै जना बैतडीबाट निर्वाचित भएका थिए। 

बैतडीमा २०७० सालको संविधानसभा निर्वाचनको बेला २ निर्वाचन क्षेत्र रहेका थिए। भण्डारी क्षेत्र नं १ बाट विजयी भएका थिए भने चन्द क्षेत्र नं २ बाट विजयी भएका थिए।

दुवै गठबन्धनका उम्मेदवार भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। दुवै उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। 

सारा कम्युनिष्ट एक भएर आएकाले सारा लोकतान्त्रिक शक्ति एक भएर प्रतिनिधि र प्रदेशसभामा लड्नुपरेको वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नरबहादुर चन्दको भनाइ छ। 

बैतडीमा नेपाली कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनसहित उम्मेदवारी दर्ता गरेका छन्। 

यसैगरी, प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा (राष्ट्रवादीं बाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका साथै अन्य दलले पनि उम्मेदवारी दर्ता गराएका छन्।

बैतडी क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी, वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराएका छन्। 

यसैगरी, बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेश चन्द, वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका लीलाधर भट्टले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। क्षेत्र नम्बर २ मा भने वाम र लोकतान्त्रिक गठबन्धनबाहेक अरुले मनोनयन दर्ता गराएका छैनन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell