PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मेसी र नेमारलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड



मेसी र नेमारलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड

रियल मड्रिडका पोर्चुजिग स्टार क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो पटक फिफा बेस्ट प्लेअर जितेका छन्। लण्डनमा भएको बेस्ट फिफा अवार्डमा रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी र पिएसजीका नेमारलाई पछि पार्दै यस संस्करणको फिफा अवार्ड जितेका हुन्।

गत सिजन स्पानिस ला लिगा र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोलाई नै यस पटक विजेताको दाबेदारको रुपमा हेरिएको थियो र उनैले अवार्ड जिते।
 

गत वर्षबाट फिफा बेस्ट अवार्डको प्रदान गर्न थालिएको हो। जसमा गत वर्ष पनि रोनाल्डोले मेसी र एन्टोनी ग्रीजमनलाई पछि पार्दै अवार्ड जितेका थिए

विश्वभरका राष्ट्रिय फुटबल टिमका कप्तान, प्रशिक्षक, छानिएका खेल पत्रकार र अनलाइन भोटिङका आधारमा विजेताको छनोट गरिएको थियो।

लगातार दोस्रो पटक अवार्ड जितेसंगै रोनाल्डोले फिफाको उत्कृष्ट अवार्ड सर्वाधिक पाँच पटक जित्ने मेसीको कीर्तिमान बराबरी गरेका छन्।

रोनाल्डोले एक पटक फिफा वर्ल्ड प्लेयर अफ दी इअर अवार्ड जितेका थिए भने दुई पटक फिफा बालोन डे’ओर अवार्ड जितेका थिए। यस्तै लियोनल मेसीले फिफा बालोन डे’ओर चार तथा फिफा वर्ल्ड प्लेअर अवार्ड एक पटक जितेका छन्।

सन् १९९१ मा फिफा वर्ल्ड प्लेअर अफ दी इअरको नामबाट शुरु भएको फिफा अवार्ड २०१० देखि २०१५ सम्म फिफा बालोन डे'अर अवार्डको नामबाट प्रदान गर्न थालिएको थियो। तर २०१५ मा फ्रान्स म्यागेजिनले छुट्टै बालोन डे'ओर अवार्ड गर्न शुरु गरेपछि फिफाले गत संस्करणबाट नयाँ भर्सनमा फिफा बेस्ट अवार्डको शुरुवात गरेको हो।

सन् २००७ यता मेसी र रोनाल्डोबाहेक फिफा अवार्ड अरु खेलाडीले जित्न सकेका छैनन्।

महिलातर्फ बार्सिलोनाबाट क्लब फुटबल खेल्ने नेदरल्याण्ड्सका लिएके मार्टेन्स फिफा बेस्ट वुमन्स प्लेअर घोषित भइन्। उनले गत संस्करणको विजेता चार्ली लोएड र डेएना कास्टालानोसलाई पछि पारे।

यस्तै प्रशिक्षकतर्फ रियल मड्रिडका जिनेदिन जिदानले बेस्ट फिफा कोच अवार्ड जितेका छन्। उनले चेल्सीका एन्टोनीओ कोन्टे र युभेन्ट्सका मासिमिलियानो अलेग्रीलाई पछि पारे।

महिला प्रशिक्षकतर्फ नेदरल्याण्डका सरिना विगमन बेस्ट वुमन्स कोच घोषित भए।

यसैगरी उत्कृष्ट गोललाई प्रदान गरिने पुस्कास अवार्ड आर्सनलका ओलिभर जिरुडले प्राप्त गरे भने यसै संस्करणबाट थप गरिएको फिफा बेस्ट गोलकिपर अवार्ड युभेन्ट्सका जियानलुजी बफोनले जिते।

सेल्टिक समर्थकलाई बेस्ट सपोर्टर अवार्ड प्रदान गरियो भने फिफा फेयर प्लेको अवार्ड फ्रान्सिस कोनेलाई प्रदान गरियो।यस्तै फिफा फिपप्रो११ को अवार्डमा रियल मड्रिडका खेलाडीको वर्चस्व रह्यो। फिफा बेस्ट टिममा रियलबाट मार्सेलो, सर्जियो रामोस, लुका मोडरिच, टोनी क्रुस र क्रिस्टियानो रोनाल्डो अटाए भने बार्सिलोनाबाट लियोनल मेसी र आन्द्रेज इनेस्टा, युभेन्ट्सबाट जियानलुजी बफोन र लियोनार्दो बोनुची तथा पेरिस सेन्ट जर्मेनबाट नेमार र डानी अल्भेज परे।
 

क-कसले के अवार्ड जिते?

मेन्स बेस्ट प्लेअर : क्रिस्टियानो रोनाल्डो

वुमन्स बेस्ट प्लेअर : लिएके मार्टेन्स

मेन्स कोच : जिनेदिन जिदान

वुमन्स कोच :  सरिना विगमन

बेस्ट गोलकिपर : जियानलुजी बफोन

पुस्कास अवार्ड :  ओलिभचर जिरुड

फ्यान अवार्ड :  सेल्टिक सपोर्टर

फेयर प्ले अवार्ड : फ्रान्सिस कोने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell